काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाली अर्थतन्त्रलाई पर्यटकीय अर्थतन्त्रका रुपमा विकास गर्न सकिने बताएका छन् । खनालको निजी निवास डल्लुमा टुरखबरसँग कुरा गर्दै खनालले एमालेले नेपालको समृद्धिको एक आधार पर्यटन नै रहेको भन्दै निर्वाचन घोषणा पत्रमा उल्लेख गरेको र पाँच वर्षको सरकारले त्यसलाई अक्षरस कार्यान्वयन गर्ने बताए ।
पर्यटन व्यवसायीले पार्टीका घोषणापत्र महत्वकाक्षी भए भनेर टिप्पणी गर्ने गरेका छन् नि भन्ने प्रश्नमा खनालले भने, ‘हामीले बनाएको योजनाको धेरै टिक्का टिप्पणी पनि भएको छ । संख्यात्मक कुराको पछि नलागौं । तर, बुझ्नुपर्ने कुरा के छ भने, कति समयको अवधिमा कुन कार्यशैलीमा, कसरी कार्यान्वयन गरेर लक्ष्य प्राप्ती गर्ने भन्ने योजना हामीले बनाएका छौं । हामी यसमा विश्वास गर्नसक्छौं की नेपाल विश्वमा भएका देशहरुमध्ये अत्यन्तै सुन्दर र आकर्षक पर्यटकीय गन्तव्य हो । हामीले राम्रो व्यवस्थापन गर्नसक्यौ भने संख्यामा तोकेको ५० लाख पर्यटक भित्र्याउने कुरामात्र हैन । करोडौं विदेशी पर्यटकलाई नेपाल घुमाउन सकिन्छ ।’
नेपालले दुई छिमेकी देश चीन र भारतबाट आउने पर्यटकलाई मात्र राम्रो व्यवस्थापन गर्न सके कल्पनै गर्न नसकिने गरी पर्यटक बढ्ने बताए । तर व्यवसायीले इमान्दारिताका साथ काम गर्नुपर्ने खनालको सुझाव छ ।
इलामलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रसंग उठाउँदै खनालले पहिलो काम पूर्वाधारको विकास रहेकाले त्यसमा लागेको र अब पर्यटन प्रबद्र्धनमा पनि जुट्ने बताए । इलाममा विद्युतीकरण बढिरहेकाले घुम्न जाने पाहुनालाई जलविद्युत परियोजना पनि एक गन्तव्य बन्न सक्ने उल्लखे गरे । अबको पाँच वर्षमा प्रत्येक गाउँको घरघरमा बिजुली पुग्ने खनालले बताए ।
इलामका सन्दकपुर, श्रीअन्तु, माइपोखरी, सिद्धिथुम्का, देउराली, माङमालुङको उदाहरण दिँदै खनालले उचित व्यवस्थापन गर्न सके यी डाँडाहरुबाट सुन फल्ने बताए । पर्यटकीय क्षेत्र कन्यामको उदाहरण दिँदै खनालले भने, ‘कन्यामलाई उदाहरण मानेर हेर्नुहोस् । कन्याममा प्रति शनिबार दशौं हजार मानिस घुम्न पुग्छन् । इलामका प्रत्येक डाँडामा यसैगरी मानिसलाई पुर्याउन सकिन्छ । इलामको क्षेत्र नम्बर १ त पर्यटनको हिसावले निक्के अघि बढिसकेको छ । अरु क्षेत्रको पूर्वाधार अब बनाउनुपर्छ ।’
प्रतिक्रिया