काठमाडौं । उद्धारमा संलग्न संजोक केसीका अनुसार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको भित्री भाग भूमिगत पानी र लेदोले भरिएको छ । अत्यधिक लेदोका कारण सुरुङभित्र फसेकाहरूको अवस्थाबारे यकिन गर्नसमेत कठिन भइरहेको उनले बताए ।
‘अन्डरग्राउन्ड पानी र लेदोले भरिएको छ । टनेलको छततर्फको भागमा साथीहरू हुनुभएको भए बाँच्ने अवसर हुने थियो । नत्र भने अब धेरै आश छैन,’ केसीले भने ।
सुरुङभित्र फसेकाहरू जीवित रहेको सम्भावनाप्रति उद्धार टोली आशावादी हुन नसकेको उनले बताए । तर उनीहरूको मृत्यु भइसकेको भए पनि कहाँ र कुन अवस्थामा दबिएका छन् भन्ने यकिन गर्न नसकिएको केसीको भनाइ छ ।
‘जिउँदै होलान् भन्नेमा हामी आशावादी छैनौँ । मृत्यु नै भएको भए कहाँ दबिएको छ भन्ने यकिन छैन । सोचेको भन्दा धेरै लेदो छ,’ उनले भने ।
सुरुङभित्रको अवस्था उद्धार टोलीले अनुमान गरेभन्दा बढी जटिल देखिएको छ । भूमिगत पानी, अत्यधिक लेदो र भित्र थुप्रिएको संरचनाका कारण खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा जीवित उद्धारको आशा क्षीण देखिए पनि फसेकाहरूको अवस्था यकिन गर्न उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।




प्रतिक्रिया