काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाललाई फरक क्षमता भएका व्यक्तिसहित सबैका लागि सुरक्षित, पहुँचयोग्य र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ र फरक ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए।
नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विविध कोणबाट प्रस्तुत गर्न सकिने उल्लेख गर्दै थपलियाले विदेशी पर्यटकले हासिल गरेका असाधारण उपलब्धिलाई समाचारको विषयमा मात्र सीमित नगरी ठूलो समुदायलाई प्रेरित गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

उनले इजरायलका ७१ वर्षीय पूर्ण दृष्टिविहीन पर्यटकले गत वर्ष अन्नपूर्ण सर्किट र हालै अन्नपूर्ण आधार शिविर (एबीसी) सफलतापूर्वक पदयात्रा गरेको उदाहरण प्रस्तुत गरे। यस्ता साहसिक यात्राले नेपालमा मात्र नभई स्वदेश तथा विदेशमा रहेका दृष्टिविहीन र फरक क्षमता भएका व्यक्तिलाई पनि घरबाट बाहिर निस्किएर यात्रा गर्न प्रेरित गर्ने उनको भनाइ थियो।
‘१०० प्रतिशत दृष्टिविहीन पर्यटकले अन्नपूर्ण सर्किट र बेस क्याम्प पूरा गर्नु समुदायका लागि ठूलो उपलब्धि र प्रेरणादायी कथा हो,’ उनले भने, ‘यसबाट नेपालको पर्यटन सबैका लागि र सधैँका लागि हो भन्ने सन्देश विश्वभर प्रवाह गर्न खोजिएको हो।’

पहुँचयोग्य पदमार्ग तथा पर्यटन पूर्वाधार निर्माणका लागि प्राविधिक जटिलता र ठूलो खर्च आवश्यक पर्ने भए पनि सहयोगीको साथमा विभिन्न पदयात्रा सम्भव भइरहेको उनले बताए।
‘सम्पूर्ण गन्तव्यमा पहुँचयोग्य पूर्वाधार निर्माण गर्न ठूलो खर्च लाग्छ। तर सहयोगी लिएर हिँड्न सकिने ट्रेलहरू पनि छन्,’ उनले भने, ‘पहुँचयोग्य पर्यटनलाई सामाजिक दृष्टिकोणबाट मात्र नहेरी ठूलो आर्थिक तथा व्यावसायिक अवसरका रूपमा पनि विकास गर्न सकिन्छ।’
नेपाललाई सबै वर्ग, उमेर समूह र शारीरिक अवस्थाका मानिसका लागि उपयुक्त गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न डिजिटल माध्यम र सामाजिक सञ्जालको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।





प्रतिक्रिया