काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा प्रतिनिधिसभाको बैठकमा बोल्दाबोल्दै भावविह्वल बनेकी छन्। जेनजी आन्दोलनमा छोरा गुमाएकी खतिवडा आफूलाई ‘छोराको लाससँग सांसद पद साट्न आएको’ भन्दै गरिएको टिप्पणी सम्झिएपछि संसद्को रोस्ट्रममै रोएकी हुन्।
विशेष समयमा बोल्दै उनले आफू राजनीतिक रहर वा पदको लालचले संसद्मा नआएको बताइन्। छोरासहित जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने विषयमा सरकारलाई खबरदारी गर्न आफू संसद्मा आएको उनको भनाइ थियो।
‘कुनै राजनीतिक रहर या पदको लालच थिएन। यो मेरो न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन्।
आफ्नो छोरालाई गुमाएको पीडालाई शब्दमा व्यक्त गर्न कठिन भएको बताउँदै उनले आन्दोलनमा ज्यान गुमाएका युवाको बलिदान खेर जान नदिन आफूले संसद्को यात्रा रोजेको बताइन्।
खतिवडाका अनुसार रास्वपा उनको घरसम्म पुगेको थियो भने प्रधानमन्त्रीको पटकपटकको आग्रहपछि उनले सांसद बन्ने निर्णय गरेकी थिइन्। तर त्यो निर्णय व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा जेनजी आन्दोलनका मृतक परिवारको न्यायको प्रश्नसँग जोडिएको उनले स्पष्ट पारिन्।
उनले आफूलाई सांसद पदसँग कुनै मोह नभएको दाबी गर्दै जेनजी आन्दोलनका सहिदले पूर्ण न्याय पाएको दिन पद त्याग्न एक सेकेन्ड पनि नहिच्किचाउने घोषणा गरिन्।
‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन,’ उनले भनिन्।
तर आफूले भोगेको सबैभन्दा ठूलो पीडामाथि नै राजनीतिक टिप्पणी भएपछि भने आफू स्तब्ध भएको उनले बताइन्।
‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने आरोपले आफ्नो मुटुको घाउमा थप प्रहार गरेको उनको भनाइ थियो। त्यसपछि उनले संसद्को रोस्ट्रमबाटै आफू र आफ्ना सन्तान गुमाएका अन्य आमाबाबुको अवस्थातर्फ ध्यानाकर्षण गराइन्।
‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्, उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ,’ उनले भनिन्।
आफ्नो छोरालाई जीवित अवस्थामा फर्काएर काखमा राखिदिन सके आफू तत्काल सांसद पद छाड्न तयार रहेको उनले बताइन्। त्यसैले आफूलाई आरोप लगाउनुअघि एउटी आमाको पीडा र ममताबारे सोच्न उनले आग्रह गरिन्।
‘आमाको माया र ममतामाथि राजनीतिक प्रहार नगर्न’ उनले चेतावनी दिइन्।
खतिवडाले आफू सामान्य नागरिकलाई उचालेर आपसमा लडाउने, त्यसबाट राजनीतिक लाभ लिने वा ‘मेडिकल माफिया’ बन्न राजनीतिमा नआएको पनि बताइन्।
उनले आफू संसद्मा सरकारलाई निरन्तर खबरदारी गर्न आएको बताउँदै आन्दोलनपछि शासकले बाटो बिराए सच्याउन दबाब दिने आफ्नो उद्देश्य रहेको स्पष्ट पारिन्।
‘म खबरदारी गर्न आएकी हुँ। मेरो छोरो सहिद भयो, मैले अब मेरो छोरो जस्तो अरू छोरा मर्न नपरोस् भन्ने चाहना लिएर यहाँ आएकी हुँ,’ उनले भनिन्।
सरकारसँग आफ्ना प्रश्न र असन्तुष्टि रहेको स्वीकार गर्दै खतिवडाले आफू जिम्मेवार ढंगले बोल्ने बताइन्। जेनजी सहिदकी आमामाथि अपमानजनक टिप्पणी हुँदा सरकार किन मौन रहेको भन्दै उनले प्रश्नसमेत गरिन्।
उनले सरकारलाई आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारको पीडालाई गम्भीरतापूर्वक लिन आग्रह गरिन्।
‘हाम्रा छोराहरूको रगत अझै सुकेको छैन। न्यायको आभास हुने गरी काम गर्नुहोस्,’ उनले भनिन्।
खतिवडाको सम्बोधनको अन्त्यतिर संसद्को रोस्ट्रममा देखिएको उनको भावुक अवस्थाले प्रतिनिधिसभाको बैठकमा केहीबेर गम्भीर वातावरण बनेको थियो। उनका लागि सांसद पद राजनीतिक उपलब्धिभन्दा छोराको मृत्युबाट उठेको न्यायको प्रश्नसँग जोडिएको जिम्मेवारी भएको उनको सम्बोधनबाट देखिन्थ्यो।




प्रतिक्रिया