कोशीको सम्भावना : पर्यटन प्रवर्द्धनदेखि प्रकृति संरक्षणसम्म (भिडियो)


काठमाडौं । ‘हिमाल, पहाड र तराईको अनुपम संगम- कोशी प्रदेश। प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक पहिचान र पर्यटन सम्भावनाले भरिएको यो प्रदेशलाई समृद्धिको आधार बनाउने लक्ष्यसहित पर्यटन, वन तथा वातावरण मन्त्रालय निरन्तर सक्रिय छ।

पर्यटन विकास, वन संरक्षण र वातावरणीय सन्तुलनलाई एकीकृत रूपमा अघि बढाउँदै कोशी प्रदेश सरकारले स्थानीय रोजगारी, दिगो विकास र आर्थिक समृद्धिको नयाँ आधार निर्माण गरिरहेको छ। नीतिगत सुधारदेखि समुदाय केन्द्रित कार्यक्रमसम्म मन्त्रालयको प्रयास बहुआयामिक छ।

स्थानीय पर्यटनलाई व्यवस्थित र दिगो बनाउन मन्त्रालयले विभिन्न जिल्लामा होमस्टे तथा होटल सञ्चालकका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्‍यो।

तेह्रथुमको वसन्तपुर र इलामको देउमाइमा सञ्चालित कार्यक्रममार्फत सेवा गुणस्तर, आतिथ्यता, व्यवस्थापन र पर्यटन व्यवसायलाई अझ प्रभावकारी बनाउने प्रयास गरिएको छ।

‘विश्वको सर्वोच्च शिखर सगरमाथा केवल हिमाल होइन, यो नेपालको गौरव, साहस र विश्व पर्यटनको पहिचान हो। अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा प्रदेश नेतृत्वले विश्व पर्यटनमा नेपालको योगदानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्‍यो।

पर्यटन र प्रकृति एकअर्काका परिपूरक हुन्। त्यसैले कोशी प्रदेशले वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधता संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। प्रदेशस्तरीय समन्वय संयन्त्रमार्फत संरक्षण र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइँदैछ।

पर्यटन प्रवर्द्धन केवल संरचना निर्माण होइन, यो नीति, निजी क्षेत्र र समुदायबीचको सहकार्य हो। मन्त्रालयले पर्यटन व्यवसायी, विज्ञ र सरोकारवालासँग निरन्तर संवाद गर्दै नीति सुधार, व्यवसाय दर्ता, सेवा विस्तार र नयाँ सम्भावना पहिचानमा काम गरिरहेको छ।

कोशी प्रदेशको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न विभिन्न साझेदारी अघि बढाइएका छन्। नेपाल पर्यटन बोर्डसँगको सहकार्य, आर्थिक कूटनीति कार्यक्रम तथा प्रदेशबीचको पर्यटन संवादले गन्तव्य विकास र ब्रान्डिङलाई नयाँ उचाइ दिएको छ।

पदमार्गमा आधारित पर्यटन विकास, नयाँ गन्तव्य पहिचान र ‘कोशी पर्यटन वर्ष’ अभियानमार्फत प्रदेशले दिगो पर्यटनको आधार तयार गरिरहेको छ। यसले स्थानीय अर्थतन्त्र, रोजगारी र सांस्कृतिक संरक्षणलाई एकसाथ जोडेको छ।

भविष्यका पर्यटन र वन क्षेत्रका नेतृत्व तयार गर्न मन्त्रालयले शैक्षिक संस्था र अनुसन्धान निकायसँग सहकार्य गर्दै इन्टर्नसिप, क्षमता विकास र अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरिरहेको छ।

सम्भावनालाई अवसरमा, प्रकृतिलाई सम्पदामा र पर्यटनलाई समृद्धिको आधारमा रूपान्तरण गर्ने अभियानमा कोशी प्रदेश अगाडि बढिरहेको छ।
पर्यटन, वन तथा वातावरण मन्त्रालय दिगो विकास, संरक्षण र समृद्धिको साझा यात्रामा प्रतिबद्ध देखिन्छ।

यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्