काठमाडौं । विश्व पर्यटन बजार तीव्र रूपमा डिजिटल बन्दै गएको छ। पर्यटकले गन्तव्य छान्न, यात्रा योजना बनाउन, होटल खोज्नदेखि बुकिङ र स्थानीय अनुभव पत्ता लगाउनसमेत कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल प्लेटफर्मको प्रयोग बढाइरहेका छन्। यही बदलिँदो पर्यटन संसारबीच नेपालले भने यस वर्षको विश्व पर्यटन दिवस प्राकृतिक विपद्पछिको पुनरुत्थान, सुरक्षित गन्तव्यको सन्देश र डिजिटल रूपान्तरणलाई सँगसँगै अघि बढाउनुपर्ने चुनौती सामना गरिरहेको छ।
आज सेप्टेम्बर २७ अर्थात् ४७औँ विश्व पर्यटन दिवस। संयुक्त राष्ट्रसङ्घीय पर्यटन संस्था (यूएन टुरिजम) ले यस वर्षको दिवसका लागि ‘डिजिटल एजेन्डा र आर्टिफिसियल इन्टेलिजेन्सबाट पर्यटनलाई नयाँ स्वरूप दिने’ विषय तय गरेको छ। एल साल्भाडोरमा यसको अन्तर्राष्ट्रिय मुख्य समारोह हुँदैछ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यस वर्षको सन्देशमा एआईले पर्यटकले गन्तव्य रोज्ने तरिका, पर्यटन उद्योग सञ्चालन गर्ने शैली र यात्रा अनुभवलाई नै परिवर्तन गरिरहेको उल्लेख गरेका छन्। तर प्रविधिको प्रयोगले केही सीमित गन्तव्य र प्लेटफर्ममै पर्यटक केन्द्रित हुने जोखिमसमेत रहेको भन्दै उनले डिजिटल भविष्यलाई समावेशी र मानवकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन्।
विश्व पर्यटन बजारमा अहिले यही बहस तीव्र छ, एआईले पर्यटनलाई कति सजिलो बनाउनेभन्दा पनि त्यसबाट कसले लाभ पाउने र कुन गन्तव्य विश्वको डिजिटल नक्सामा देखिने भन्ने।
विश्वका पर्यटन बजारमा एआईको प्रयोग यात्रा योजनादेखि गन्तव्य व्यवस्थापनसम्म फैलिँदै गएको छ। युरोपेली पर्यटन बजारमा एआईमार्फत व्यक्तिगत रुचिअनुसार यात्रा योजना बनाउने, कम चर्चित गन्तव्य खोज्ने, मूल्य तुलना गर्ने र भाषिक अवरोध घटाउने अभ्यास बढिरहेको छ। ग्रीसको एन्ड्रोसमा पर्यटकले स्थानीय आवास, समुद्र तट, यातायात र घुम्ने स्थानबारे तत्काल जानकारी पाउने गरी एआईमा आधारित डिजिटल गाइडसमेत सञ्चालनमा ल्याइएको छ।
यसले नेपालका लागि पनि प्रश्न खडा गरेको छ, सगरमाथा, पोखरा, लुम्बिनी र चितवनबाहेकका सयौँ गन्तव्यलाई विश्वका पर्यटकले एआईसँग सोध्दा कति सजिलै भेट्टाउन सक्छन्?
नेपालमा भने यस वर्षको विश्व पर्यटन दिवसको सन्दर्भ केही फरक छ। केही साताअघि भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले पर्यटन पूर्वाधार, होटल, रेष्टुरेन्ट, सडक तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। बागमती प्रदेशमा मात्रै पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य सहदेव धमलाले बताएका छन्। उनका अनुसार बाढीमा १८५ होटल र ६५ रेष्टुरेन्ट प्रभावित भएका छन् र यस क्षेत्रमा कार्यरत सयौँ मजदुरले रोजगारी गुमाएका छन्।
यसकारण नेपालमा यस वर्ष विश्व पर्यटन दिवस केवल उत्सवको अवसर मात्र बनेको छैन। विपद्पछि पर्यटन कसरी पुनर्जीवित गर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपालको सुरक्षित गन्तव्यको सन्देश कसरी पुर्याउने र डिजिटल प्रविधिको प्रयोगबाट नयाँ पर्यटक कसरी आकर्षित गर्ने भन्ने बहसको अवसर पनि बनेको छ।
होटल सङ्घ नेपाल (हान) बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले भोटेकोशी बाढीपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश गएको भन्दै त्यसलाई चिर्न सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्। होटल क्षेत्रलाई पुनर्जीवित गर्न सरकारले विशेष प्याकेज ल्याउनुपर्ने उनको भनाइ छ।
पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलका अनुसार विपद्ले पर्यटन व्यवसायी र यस क्षेत्रमा कार्यरत श्रमिकलाई ठूलो असर पारेको छ। पर्यटन दिवसले भने विपद्पछि पनि नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्ने अवसर दिएको उनको भनाइ छ।
काठमाडौंमा साइकल र्यालीदेखि सम्पदा दौडसम्म
विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा यूएन टुरिजम र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम यस वर्षको विश्व पर्यटन दिवसको डिजिटल एजेन्डा र एआईसम्बन्धी विषयमा केन्द्रित छ।
बागमती प्रदेश उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले पनि साइकल र्याली आयोजना गरेको छ। पाटन दरबार क्षेत्रबाट सुरु भएको र्याली पुल्चोक, कुपण्डोल, माइतीघर, रामशाहपथ, जयनेपाल, नक्साल, टङ्गाल, बालुवाटार, नारायणगोपाल चोक हुँदै धुम्बाराही पुगेको थियो। कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति सहभागी भएका थिए।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौं दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो–नाट्टा सम्पदा दौड–२०२६’ आयोजना गरेको छ। करिब ६ किलोमिटरको दौडले काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोडेको छ।
वसन्तपुरबाट सुरु भएको दौड विशालबजार, न्युरोड गेट, रत्नपार्क, सहिदगेट, थापाथली, साझा पेट्रोल पम्प र लबिम मल हुँदै पाटन दरबार क्षेत्र पुगेको थियो। पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र युवाको सहभागिता रहेको नाट्टाले जनाएको छ।
पर्यटन अब घुमफिर मात्र होइन, अर्थतन्त्र र रोजगारीको आधार
विश्व पर्यटन क्षेत्रमा अहिले पर्यटनलाई केवल पर्यटक आगमनको संख्याबाट मापन गर्ने परम्परागत दृष्टिकोणभन्दा बाहिर गएर रोजगारी, स्थानीय अर्थतन्त्र, डिजिटल पहुँच, दिगोपन, जलवायु जोखिम र समुदायको लाभसँग जोडेर हेर्न थालिएको छ। यूएन टुरिजमले पनि पर्यटनलाई आर्थिक वृद्धि, समावेशी विकास र वातावरणीय दिगोपनसँग जोडिएको क्षेत्रका रूपमा अघि सारेको छ।
बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशभित्रका पर्यटन, उद्योग र यातायात क्षेत्रका समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्।
उनले संस्कृति र प्रकृति नेपालको पर्यटनका प्रमुख आधार भएकाले तिनको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै पर्यटन व्यवसायी र संस्कृतिकर्मीबीच सहकार्य आवश्यक रहेको बताए।
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटनलाई घुमफिरमा मात्र सीमित गर्न नहुने बताए। पर्यटन रोजगारी र अर्थतन्त्रलाई बलियो बनाउने क्षेत्र भएकाले विगतमा विभिन्न समयमा आएका बाधा–व्यवधानबाट पाठ सिकेर क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।
मन्त्रालयका सचिव अनिता निरौलाले वेलनेस पर्यटन र एआईलाई एकसाथ अघि बढाउनुपर्ने बताइन्। नेपालको पर्यटनलाई नयाँ पुस्ताका पर्यटकसँग जोड्न डिजिटल प्रविधि र नयाँ पर्यटन उत्पादन विकासमा जोड दिनुपर्ने उनको धारणा छ।
नेपालको चुनौती : डिजिटल दृश्यता र विपद् प्रतिरोधी पर्यटन
विश्व पर्यटन दिवसको यस वर्षको विषय नेपालका लागि केवल प्रविधि प्रयोगको प्रश्न होइन। यो नेपालका गन्तव्यलाई डिजिटल संसारमा कसरी देखाउने र प्राकृतिक विपद्को जोखिमबाट पर्यटनलाई कसरी जोगाउने भन्ने दुईवटा चुनौतीसँग जोडिएको छ।
विश्व पर्यटन बजारमा एआईले पर्यटकको खोजी व्यवहार नै बदलिरहेको छ। ट्राभल उद्योगमा एआई च्याटबोटमार्फत गन्तव्य खोज्ने प्रवृत्ति बढ्दै गएको र कम चर्चित गन्तव्यलाई पनि डिजिटल माध्यमबाट पर्यटकसम्म पुर्याउन सकिने बहस भइरहेको छ।
नेपालका लागि यसको अर्थ हो—एआईमा ‘नेपालमा कहाँ जाने?’ भनेर सोध्दा सगरमाथा र पोखरा मात्र होइन, रारा, मुस्ताङ, इलाम, तिलौराकोट, बर्दिया, खप्तड, मनाङ, दोलखादेखि स्थानीय होमस्टे र सांस्कृतिक पदमार्गसम्म विश्वसनीय सूचना उपलब्ध हुनुपर्छ।
त्यसका लागि गन्तव्यको डिजिटल अभिलेख, प्रमाणित सूचना, बहुभाषिक सामग्री, वास्तविक समयको मौसम तथा सडक सूचना, होटल र यातायातको डिजिटल पहुँच, आपत्कालीन सम्पर्क प्रणाली र विपद् जोखिमसम्बन्धी सूचना प्रणाली विकास गर्नुपर्ने देखिन्छ।
नेपालको पर्यटनलाई अब ‘सुन्दर हिमाल र प्राकृतिक दृश्य’को प्रचारले मात्र पुग्दैन। सुरक्षित गन्तव्य, भरपर्दो सूचना, सहज यात्रा, स्थानीय समुदायको लाभ, डिजिटल पहुँच र विपद् प्रतिरोधी पूर्वाधार पनि गन्तव्यको प्रतिस्पर्धात्मक पहिचान बन्नुपर्ने देखिन्छ।
विश्व पर्यटन दिवसले नेपाललाई दिएको प्रश्न
विश्व पर्यटन बजार एआईतर्फ अघि बढिरहेका बेला नेपालसँग प्राकृतिक तथा सांस्कृतिक सम्पदाको ठूलो आधार छ। तर भोटेकोशीजस्ता विपद्ले पर्यटन पूर्वाधार र गन्तव्यको जोखिम पनि उजागर गरिदिएको छ।
त्यसैले यस वर्षको विश्व पर्यटन दिवस नेपालका लागि एउटा महत्वपूर्ण प्रश्न बोकेर आएको छ—
प्रविधिको प्रयोग गरेर नेपाललाई विश्वको डिजिटल पर्यटन नक्सामा कसरी अझ देखिने बनाउने र जलवायु तथा विपद् जोखिमका बीच पर्यटनलाई कसरी सुरक्षित, दिगो र स्थानीय समुदायका लागि लाभदायी बनाउने?
विश्व पर्यटनको नयाँ चरणमा यही प्रश्नको उत्तरले नेपालको पर्यटनको आगामी दिशा निर्धारण गर्नेछ।




प्रतिक्रिया