पूर्वमन्त्रीसँग छलफल गरेरमात्र नयाँ मन्त्रीले योजना बनाउने


नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा बिहीबार साँझ आयोजित कार्यक्रममा उनले पदभार सम्हालेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयका विगतका काम, नीति तथा कार्यक्रमको समीक्षा गरेर मात्रै नयाँ कार्यक्रम अघि बढाउने बताए। नयाँ योजना सुरु गर्नुअघि विगतमा भएका काम र त्यसबाट प्राप्त अनुभवबारे जानकारी लिनु आवश्यक रहेको उनको भनाइ थियो।
मन्त्री साहले निवर्तमान मन्त्रीसँग छलफल गरेर मन्त्रालयका आगामी नीति तथा कार्यक्रम अघि बढाउनेलाई आफ्नो पहिलो प्राथमिकता बनाएका छन्। उनले विगतका कामबारे पर्याप्त जानकारी लिएर मात्रै नयाँ योजना अघि बढाउँदा प्रभावकारी रूपमा काम गर्न सहज हुने बताए।
‘कुनै पनि काम गर्नुअघि विगतमा के–के भइसकेका छन्, त्यसको जानकारी लिएर अघि बढ्दा काम गर्न सहज हुन्छ,’ मन्त्री साहले भने, ‘त्यसैले मन्त्रालयका सचिवज्यूलाई पूर्वमन्त्रीज्यूसँग भेटघाटको वातावरण मिलाउन आग्रह गरेको छु। उहाँसँग दुई–चार घण्टा बसेर घनीभूत छलफल गरेपछि मात्र हामी नयाँ कार्यक्रमहरू अगाडि बढाउनेछौँ।’
मन्त्री साहले जनताको आवश्यकता र चाहना पूरा गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध भएर काम गर्ने बताए। ‘राष्ट्र पहिलो’ भन्ने मूल मर्मलाई केन्द्रमा राखेर मन्त्रालयका काम–कारबाहीलाई प्रभावकारी बनाउने उनको भनाइ थियो।
उनले मन्त्रालयका सचिवसहित सम्पूर्ण कर्मचारीप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको बताए।
पदभार ग्रहणका क्रममा मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्र सुनसरी–४ का मतदाता, देशभरिका नागरिक, पार्टी नेतृत्व तथा प्रधानमन्त्रीप्रति धन्यवाद र आभार व्यक्त गरे।