इलाम


हरितनगरी इलाम जुनसुकै बेलाका लागि पनि घुम्ने उपयुक्त स्थान हो । हरियाली, स्वच्छ वातावरण, मनमोहक चिया बगान, मेहनत गर्ने किसान र प्राकृतिक सुन्दरताले इलाम जानेको मनलाई भुलाउने गर्दछ ।

इलाममा पनि कन्याम, श्रीअन्तु, इलाम बजार, माइपोखरी, सन्दकपुर, छिन्टापु, जौबारी, गजुरमुखी, सानो पाथिभरा, माङ्गमालुङ आकर्षक गन्तव्य हुन् ।

इलाममा बसोबासका लागि अहिले राम्रा होटेल खुल्ने क्रम बढेको छ । गाउँ घुम्न जाँदा होमस्टेको व्यवस्था गरिएको छ भने बजारमा होटेल समिट, चियाबारी कटेज, न्यू पोखरेली होटेल, ग्रीन भ्यू होटेल सुविधासम्पन्न होटेल हुन् ।

कसरी जान सकिन्छ

इलामका लागि काठमाडौंबाट बेग्लै गाडी लाग्ने गर्दछन् । टाटा सुमो तथा हाइसले दिवा सेवामार्फत सिन्धुलीको बाटो हुँदै बिहान काठमाडौंबाट हिँडाएर बेलुका इलाम पुर्‍याउँछ । रात्रिबस मार्फत इलाम जाँदा पनि काठमाडौंबाट अघिल्लोदिन दिउँसो हिँडेको बसले भोलिपल्ट १० बजेभित्रमा इलाम पुर्‍याउँछ । काठमाडौंबाट इलाम जाने गाडीहरु कोटेश्वरमा लाग्ने गर्दछन् ।

त्यस्तै अन्य क्षेत्रबाट जान चाहनेले झापाको विर्तामोडसम्म पुग्नुपर्छ । विर्तामोर्डस्थित बसपार्कबाट बिहान पाँच बजेदेखि अपरान्ह चार बजेसम्म इलाम जाने गाडी पाइन्छ । बिर्तामोर्डबाट इलाम जानका लागि साना मिनी बस, टाटा सुमो, तथा सफारीहरुको प्रयोग हुन्छ ।

प्याकेजमा इलाम
प्याकेजमै इलाम भ्रमणमा जान चाहनुहुन्छ भने पर्यटन व्यवसायी वासुदेव बरालसँग सम्पर्क गर्न सक्नुहुनेछ । बरालको सेछ ट्राभलिङले इलाम भ्रमणको प्याकेज तपाईंलाई उपलब्ध गराउन सक्छ ।

त्यस्तै होटल एसोशिएसन इलामका अध्यक्ष देवी पौडेलसँग पनि सम्पर्क गरी इलाम भ्रमणको प्याकेज प्राप्त गर्न सक्नुहुनेछ ।