काँकरभिट्टाबाट नेपाल भित्रने चिनियाँ पर्यटक ३७०


झापा । नेपालको पूर्वीनाका काँकडभिट्टाबाट पछिल्लो ९ महिनामा ३७० चिनियाँ पर्यटक भित्रिएका छन् । यो नाकाबाट अमेरिकी र युरोपियन पर्यटकहरु पनि उल्लेख्यरुपमा नेपाल आउने गरेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी कृष्ण सिग्देलका अनुसार ०७४ बैशाख १ देखि पुस मसान्तसम्म उल्लेख्य संख्यामा चिनियाँ पर्यटकहरु पूर्वी नेपाली नाका भएर नेपाल भित्रिएका हुन् ।

पूर्वीनाकाबाट पछिल्लो ९ महिनामा भित्रिएका ४ हजार १ सय ६४ पर्यटकमध्ये १ हजार ६ सय ९७ जना दक्षिण एसियाली देशबाट नेपाल प्रवेश गरेका थिए । २ हजार ४ सय ६७ जना सार्क राष्ट्र बाहिरका पर्यटकहरु पूर्वीनाकाबाट नेपाल भित्रिएका थिए ।

सिग्देलका अनुसार भारतीय राज्यहरु सिक्किम र पश्चिमबंगाल घुमेर नेपाल प्रवेश गर्ने तेस्रो देशका पर्यटकहरु पूर्वीनाकाबाट लुम्बिनी र काठमाडौं आउने गर्छन् ।

‘अन अराइभल’ भिसासमेत दिने काँकडभिट्टा अध्यागमन कार्यालयका अनुसार सार्क देशहरुबाट भित्रिने अधिकांश पर्यटकहरु भुटानी, बंगालादेशी र माल्दिभ्सका छन् । नेपालको पूर्वी नाकाबाट युरोपेली, अमेरिकन र चिनियाँहरु समेत आउने गरेको कार्यालयको तथ्यांक छ ।

अरु देशबाट अनअराइभल भिसा शुल्क तिरेर आउने गरे पनि पहिलोपटक सार्क राष्ट्रबाट नेपाल आउनेहरु निःशुल्क भित्रिने गरेको कार्यालयले जनाएको छ । दोस्रोपटक नेपाल आउने सार्क देशका नागरिकलाई भने समय अनुसारको शुल्क लाग्ने सूचना अधिकारी सिग्देल बताँउछन् ।

सिग्देलका अनुसार १५ दिनका लागि नेपाल आउँदा २५ अमेरिकी डलर लाग्छ भने ३० दिनका लागि ४५ डलर लाग्छ । यस्तै, ९० दिनका लागि नेपाल आएका पर्यटकलाई १०० अमेरिकी डलर लाग्छ ।