काठमाडौं । आमाको न्यानो काखमा लुटपुटिँदै दूध चुस्ने उमेर। संसार कस्तो हुन्छ भन्ने थाहा पाउन नपाउँदै पाँचवटा नवजात कुकुरका छाउरा मंगलबार बिहान खोला किनारमा अलपत्र भेटिए।
न त उनीहरू हिँड्न सक्छन्, न आफैं खाना खान। भोक लाग्दा आमालाई खोज्दै कराउनुबाहेक उनीहरूसँग अर्को विकल्प छैन। तर, आमासँगै हुनुपर्ने ती अबोध छाउरालाई कसैले निर्दयी रूपमा खोला किनारमा लगेर छाडिदियो।
बिहानैदेखि भोकले व्याकुल हुँदै ती छाउरा एकपछि अर्को गर्दै कराइरहेका थिए। उनीहरूको कमजोर आवाजले वरपरको वातावरण नै भावुक बनाइरहेको थियो। जीवनको सुरुवाती चरणमै उनीहरूले आमाको माया र सुरक्षाबाट वञ्चित हुनुपरेको छ।
यति साना र असहाय जीवलाई कसरी त्यत्तिकै छाडेर जान सकिन्छ?
यही प्रश्नले सडकमा रहेका कुकुरलाई नियमित रूपमा खाना खुवाउँदै हिँड्ने एक पशुप्रेमी दिदीको मन छोयो। अरूका लागि सामान्य दृश्य हुन सक्थ्यो, तर उहाँका लागि ती पाँचवटा छाउरा आफ्नै सन्तानजस्तै भए।
उहाँले उनीहरूलाई त्यत्तिकै छाडेर जान सक्नुभएन।
आफ्नै घरमा पनि धेरै कुकुर छन्। तिनको हेरचाह र संरक्षणमा उहाँको समय र स्रोत खर्च भइरहेको छ। त्यसका बाबजुद खोला किनारमा भोक र चिसोमा छटपटाइरहेका ती नवजात छाउरालाई देखेपछि उहाँले आफ्नो जिम्मेवारी थपिएको महसुस गर्नुभयो।
अहिले उहाँले ती पाँचै छाउराको अभिभावकीय जिम्मेवारी लिनुभएको छ। उनीहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक हेरचाह सुरु गरिएको छ।
कुकुरको संरक्षण र व्यवस्थापनमा स्वयंसेवी भूमिका निर्वाह गर्दै आउनुभएकी उहाँले अब पशु संरक्षण अभियन्तासँग कुराकानी गरेर ती छाउराको उचित व्यवस्थापन तथा भविष्यको संरक्षणका लागि पहल गर्ने तयारी गर्नुभएको छ।
मानिसको शहरमा अबोध जीवको आवाज कसले सुनिदिने?
यी पाँच छाउराको कथा केवल पाँचवटा कुकुरको कथा होइन। यो हाम्रो समाजको संवेदनशीलताको ऐना पनि हो।
मानिसले आफूलाई संसारकै सबैभन्दा विवेकशील प्राणी भन्छ। तर, आफूभन्दा कमजोर र बोल्न नसक्ने जीवप्रति हाम्रो व्यवहार कस्तो छ?
जन्मिएको केही दिनमै आमाबाट छुट्याएर खोलाको किनारमा फालिनु कुनै सामान्य घटना होइन। ती छाउराले न आफ्नो गल्ती थाहा पाएका छन्, न आफूलाई बचाउने क्षमता नै उनीहरूसँग छ। उनीहरूसँग छ त केवल बाँच्ने एउटा सानो चाहना।

त्यही चाहनालाई एउटी दिदीले आफ्नो माया र जिम्मेवारीले थामेकी छन्।
कसैले जन्मिँदैमा उनीहरूलाई सडकको भाग्यमा छाडिदियो। तर, कसैले भने उनीहरूको आँखामा जीवन देखिन्, पीडा महसुस गरिन् र आफ्नो घरमा पहिल्यै रहेका धेरै कुकुरका बाबजुद उनीहरूलाई संरक्षण दिने निर्णय गरिन्।
सायद मानवता अझै पूर्ण रूपमा हराइसकेको छैन।
किनकि, जहाँ कसैले असहाय जीवलाई फालेर हिँड्छ, त्यहीँ अर्को मानिस उसको जीवन बचाउन आफ्नो हात अघि बढाउँछ।
किन जन्मिँदै गरेका यी अबोध जीवप्रति यति कठोर बन्यौं?
किन हराउँदै गयो मानवियता?
यी पाँचवटा छाउराको कमजोर आवाजले आज हामी सबैलाई यही प्रश्न गरिरहेको छ।




प्रतिक्रिया