इलाम । चियाबारी, कन्याम, श्रीअन्तु र लेप्चा संस्कृति तथा प्राकृतिक सौन्दर्यका कारण देश–विदेशका पर्यटकको रोजाइमा पर्दै आएको इलामको सूर्योदय नगरपालिकाले पर्यटनलाई आर्थिक गतिविधि र स्थानीय समृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने नीति लिएको छ। चालु आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति, कार्यक्रम तथा बजेटमा पर्यटनसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिने पूर्वाधार, संस्कृति, समुदाय तथा स्थानीय अर्थतन्त्रलाई प्राथमिकता दिइएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब १८ करोड ४३ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको केन्द्र फिक्कलमा बिहीबार आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य निस्कल राईले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरे।
प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले चालुतर्फ ७५ करोड २ लाख ४९ हजार र पुँजीगततर्फ ४३ करोड ४० लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। नगरपालिकाले दिगो विकास लक्ष्यका १६ सूचकलाई आधार बनाएर बजेट विनियोजन गरेको जनाएको छ।
यद्यपि क्षेत्रगत रूपमा हेर्दा शिक्षामा सबैभन्दा बढी ३०.७६ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यसपछि दिगो सहर तथा समुदायका लागि १८.९३ प्रतिशत, शान्ति, न्यायपूर्ण तथा सशक्त समाजका लागि १४.४० प्रतिशत, उद्योग, नवीन खोज तथा पूर्वाधारका लागि ११.०३ प्रतिशत र समावेशी आर्थिक वृद्धि तथा मर्यादित कामका लागि १०.९९ प्रतिशत बजेट छुट्याइएको छ। स्वस्थ जीवनका लागि ६.८४ प्रतिशत बजेट विनियोजन गरिएको छ।
पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने चुनौती
सूर्योदय नगरपालिकाको पर्यटन सम्भावना प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन। चियाबारी, सूर्योदय र सूर्यास्तको दृश्य, ग्रामीण जीवनशैली, लेप्चा समुदायको भाषा तथा संस्कृति, स्थानीय खानपान र जैविक विविधतालाई पर्यटनसँग जोड्न सके नगरको स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सकिने सम्भावना छ।
नगरपालिकाले पर्यटनलाई छुट्टै शीर्षकमा ठूलो बजेट विनियोजन गरेको नदेखिए पनि दिगो सहर तथा समुदाय, उद्योग तथा पूर्वाधार, समावेशी आर्थिक वृद्धि, संस्कृति र सम्पदा संरक्षणसँग सम्बन्धित कार्यक्रमले पर्यटन विकासको आधार तयार गर्न सक्छन्।
विशेषगरी पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, पैदलमार्ग, सरसफाइ, सार्वजनिक शौचालय, खानेपानी, सूचना केन्द्र, पार्किङ तथा पर्यटकमैत्री सार्वजनिक पूर्वाधारमा लगानी बढाउन सके पर्यटकको बसाइ लम्ब्याउन सकिने स्थानीयको अपेक्षा छ।
पर्यटनको लाभ होटल तथा होमस्टे व्यवसायीमा मात्र सीमित नराखी किसान, हस्तकला व्यवसायी, स्थानीय खाद्य उत्पादक, यातायात व्यवसायी तथा सांस्कृतिक समूहसम्म पुर्याउनु नगरको अर्को महत्वपूर्ण चुनौती हुनेछ।
शिक्षा र पर्यटनबीच सम्बन्ध
नगरपालिकाले बजेटको सबैभन्दा ठूलो हिस्सा शिक्षामा विनियोजन गरेको छ। प्रतिनिधिसभा सदस्य निस्कल राईले पनि शिक्षामा भइरहेको लगानीलाई व्यावहारिक र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए।
“बालबालिकालाई दिइएको शिक्षा प्रमाणपत्र हातमा बोकेर विदेश जानुपर्ने खालको हुनु हुँदैन,” उनले भने, “सूर्योदय नगरले उपलब्धिमूलक र व्यावहारिक शिक्षाका लागि लगानी गरिरहेको छ भन्ने मलाई लाग्छ।”
पर्यटकीय नगरका लागि यस्तो शिक्षालाई पर्यटनसँग जोड्न सकिने सम्भावना पनि उत्तिकै छ। होटल व्यवस्थापन, आतिथ्य सेवा, स्थानीय परिकार, भाषा, पर्यटन गाइड, हस्तकला, डिजिटल पर्यटन प्रवद्र्धन तथा उद्यमशीलताजस्ता क्षेत्रमा युवालाई सीपमूलक शिक्षा दिन सके पर्यटनबाट स्थानीय रोजगारी सिर्जना गर्न सकिन्छ।
यसले पर्यटनलाई केवल घुम्न आउने पर्यटकको संख्या बढाउने कार्यक्रमबाट माथि उठाएर स्थानीय युवाको रोजगारी र आम्दानीसँग जोडिएको आर्थिक क्षेत्रका रूपमा विकास गर्न सहयोग पुर्याउन सक्छ।
लेप्चा संस्कृति पर्यटनको अर्को आधार
सूर्योदय नगरपालिका देशकै लोपोन्मुख लेप्चा जातिको मुख्य बसोबास क्षेत्रसमेत हो। त्यसैले यहाँको पर्यटन प्राकृतिक दृश्यावलोकनमा मात्र केन्द्रित नभई मौलिक संस्कृति र सम्पदासँग जोडिने सम्भावना बोकेको छ।
नगरपालिकाले लेप्चा भाषा, संस्कृति तथा परम्पराको संरक्षणमा योगदान पुर्याउँदै आएका ज्येष्ठ नागरिक प्रेम लाप्चासहित १९ क्षेत्रका २७ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ।
प्रतिनिधिसभा सदस्य राईले पनि नगरपालिकाले अमूर्त सम्पदाको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
लेप्चा समुदायको भाषा, संगीत, नृत्य, परम्परागत जीवनशैली, खानपान र सांस्कृतिक अभ्यासलाई संरक्षण गर्दै जिम्मेवार पर्यटनसँग जोड्न सके सूर्योदयको पर्यटन पहिचान थप फराकिलो बनाउन सकिन्छ।
‘पर्यटकीय नगरी’को पहिचानलाई परिणाममा बदल्ने समय
कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले सीमित स्रोत र साधनका बाबजुद नागरिकका आवश्यकतालाई प्राथमिकीकरण गरेर बजेट निर्माण गरिएको बताए।
“आवश्यक सबै कामका लागि स्रोत अभाव हुन्छ। नागरिकका आवश्यकतालाई प्राथमिकीकरण गरी बजेट तय गरिएको छ,” उनले भने, “बजेटलाई सकेसम्म समावेशी बनाउने प्रयास गरिएको छ।”
सूर्योदय नगरका लागि अब चुनौती बजेटको आकारभन्दा त्यसको प्रभावकारी कार्यान्वयन हो। पर्यटकीय नगरको पहिचान स्थापित भइसकेको अवस्थामा अब त्यसलाई स्थानीय आम्दानी, रोजगारी र उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता छ।
पर्यटकीय गन्तव्यको प्रचार मात्र गरेर पर्यटक आकर्षित हुँदैनन्। गन्तव्यसम्म सहज पहुँच, सुरक्षित यात्रा, स्वच्छ वातावरण, गुणस्तरीय आवास तथा खानपान, स्थानीय संस्कृति अनुभव गर्ने अवसर र पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रम आवश्यक हुन्छन्।
त्यसैले नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने १ हजार ३०७ कार्यक्रममध्ये पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने कार्यक्रमलाई समन्वयात्मक ढंगले कार्यान्वयन गर्न सके त्यसको प्रतिफल दीर्घकालीन हुन सक्छ।
प्रतिनिधिसभा सदस्य राईले सूर्योदय नगरमा स्रोतको खास अभाव नरहेको उल्लेख गर्दै उपलब्ध स्रोतको सदुपयोगमा सफलता निर्भर हुने बताए।
“अमूर्त सम्पदाका क्षेत्रमा नगरले धेरै काम गरेको छ, अझै गर्छ भन्ने विश्वास छ,” उनले भने, “पर्यटकीय नगरी, बालमैत्री घोषित सूर्योदयले तय गरेका कार्यक्रम सफल बनाएर देखाउनेछ। विगतको पहिचान पनि राम्रो छ।”
सूर्योदयको आगामी विकासका लागि यही पहिचानलाई नयाँ पुस्ताको रोजगारी, स्थानीय उत्पादनको बजार र दिगो पर्यटनसँग जोड्नु महत्वपूर्ण हुनेछ। चियाबारी र सूर्योदय हेर्न आउने पर्यटकलाई केही घण्टा होइन, केही दिन रोक्ने र उनीहरूले गर्ने खर्चको ठूलो हिस्सा स्थानीय अर्थतन्त्रमा पुर्याउने क्षमता विकास गर्न सके मात्रै ‘पर्यटकीय नगरी’को पहिचान वास्तविक समृद्धिमा रूपान्तरण हुनेछ।




प्रतिक्रिया