काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारले फेला परेका शव तथा शरीरका अंग आफ्नै आफन्तको हो वा होइन भन्ने पहिचानका लागि डीएनए परीक्षण गराउन सक्ने भएका छन्।
नेपाल प्रहरीले डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिसँग रगतको नाता पर्ने आफन्तको नमुना संकलन गर्न सकिने जनाएको छ। नमुना दिन चाहने परिवारले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
कसको नमुना दिन सकिन्छ ?
प्रहरीका अनुसार डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिसँग रगतको नाता पर्ने आफन्तको नमुना आवश्यक हुन्छ। नमुना दिने व्यक्तिको दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्नेछ।
यसरी संकलन गरिएको आफन्तको डीएनए प्रोफाइललाई फेला परेका शव वा शरीरका अंगबाट निकालिएको डीएनएसँग मिलाएर मृतकको पहिचान गर्न सकिन्छ।
आफन्त विदेशमा भए के गर्ने ?
बेपत्ता व्यक्तिको नजिकको आफन्त विदेशमा रहेको अवस्थामा पनि डीएनए प्रोफाइलिङ गर्न सकिने प्रहरीले जनाएको छ। विदेशमा रहेका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले त्यहीँ डीएनए प्रोफाइलिङ गराउन सक्नेछन्।
विदेशमा गरिएको डीएनए प्रोफाइलिङको सफ्टकपी नेपाल प्रहरीको [email protected] इमेलमा पठाउन प्रहरीले अनुरोध गरेको छ।
बाढीपहिरोमा परी ९०० भन्दा बढीको शव फेला परिसकेको र ४ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको अवस्थामा डीएनए परीक्षणबाट पहिचान हुन नसकेका शव तथा शरीरका अंगको पहिचान गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ।




प्रतिक्रिया