काठमाडौं । विवाहित महिलामुखी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल २०२६’को आवेदन प्रक्रिया औपचारिक रूपमा खुला गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्टले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आवेदन खुला भएको घोषणा गरेको हो।
आयोजकका अनुसार इच्छुक सहभागीले खल्ती वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्ष प्रतियोगितामा नयाँ शीर्षक ‘मिसेस् नेपाल कस्मो’ थपिएको जानकारी दिए। उनका अनुसार अब एउटै मञ्चमा मिसेस् नेपाल वर्ल्ड, मिसेस् नेपाल इन्टरनेसनल र मिसेस् नेपाल कस्मो गरी तीन प्रमुख उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। साथै, अविवाहित वा एकल महिलाका लागि ‘एमएस् नेपाल इन्टरनेसनल’ विधा पनि समावेश गरिएको छ।
उनका अनुसार प्रतियोगिताको अडिसन साउन २३ गते हुनेछ भने ग्रान्ड फिनाले कात्तिक १४ गते आयोजना गरिनेछ।
प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका महिलाले सहभागिता जनाउन सक्नेछन्। सहभागीका लागि उचाइ वा तौलको कुनै मापदण्ड नराखिएको आयोजकले जनाएको छ।
झाका अनुसार विवाहित, सम्बन्धविच्छेद भएका तथा एकल महिलाले पनि प्रतियोगितामा भाग लिन सक्नेछन्। यद्यपि, सहभागीले कम्तीमा एकपटक विवाह गरेको हुनुपर्ने प्रावधान रहेको छ। विदेशमा रहेका नेपाली महिलाले पनि अनलाइन अडिसनमार्फत सहभागिता जनाउन सक्नेछन्।
काठमाडौंसँगै पोखरा, इटहरी, विराटनगर लगायतका शहरमा पनि अडिसन सञ्चालन गरिनेछ। छनोट भएका प्रतिस्पर्धीलाई ४५ दिने व्यक्तित्व विकास प्रशिक्षणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिम प्रदान गरिने आयोजकले जनाएको छ।
यस अवसरमा मिसेस् नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तले प्रतियोगिताले विवाहित महिलामा आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताइन्।
उनले आफू पनि केही वर्षअघि सार्वजनिक रूपमा बोल्न हिच्किचाउने गरेको स्मरण गर्दै मिसेस् नेपाल वर्ल्डले जीवनमा ठूलो परिवर्तन ल्याएको अनुभव सुनाइन्। उनका अनुसार यो प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनको मञ्च नभई विवाहित महिलाको क्षमता, आत्मविश्वास र व्यक्तित्व उजागर गर्ने अवसर हो।
पन्तले नेपाली समाजमा विवाहपछि महिलाले आफ्ना सपना त्याग्नुपर्छ भन्ने सोच अझै विद्यमान रहेको उल्लेख गर्दै त्यस्ता सोचलाई चुनौती दिन आग्रह गरिन्।
‘ब्युटी प्याजेन्टमा सहभागी हुँदा समाजले अनेक धारणा बनाउँछ। तर विवाहित महिला कुनै पनि क्षेत्रमा अघि बढ्न सक्षम हुन्छन्। क्षमता र इच्छाशक्ति छ भने आफ्ना सपना नमार्नुहोस्,’ उनले भनिन्, ‘मिसेस् नेपालजस्ता प्लेटफर्मले जीवनमा नयाँ आत्मविश्वास र सकारात्मक परिवर्तन ल्याउन सक्छन्, त्यसैले इच्छुक सबै महिलालाई सहभागी हुन आग्रह गर्छु।’




प्रतिक्रिया