दिगो र समुदायमुखी पर्यटनको खोजीमा इलाम : नेपाल–भारतका विज्ञबीच विमर्श हुने


काठमाडौं । पूर्वी पहाडकी रानी मानिने इलामले आगामी जेठ तेस्रो साता नेपाल र भारतका पर्यटन सारथीहरूलाई एउटै मञ्चमा विमर्श गराउने भएको छ ।

पूर्वी नेपालको दीगो पर्यटन, संवेगात्मक वातावरण संरक्षण र रैथाने स्थानीय पहिचानलाई विश्व बजारमा ब्राण्डिङ गर्ने उद्देश्यका साथ इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुने भएको हो ।

आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा सञ्चालन हुने यस वृहत् सम्मेलनबारे आयोजकले जनाएको छ । पर्या–पर्यटन र जिम्मेवार पर्यटनको बहस सुस्ताइरहेका बेला पूर्वी नेपालका सरोकारवालाहरूले भूगोल र पर्यावरणलाई जोड्ने नयाँ कडीको रूपमा यो बहसको सुरुवात गर्न लागेका हुन् ।

नेपालकै सबैभन्दा होचो भूभाग झापाको केचना (समुद्र सतहबाट ५८ मिटर) र विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८,५८६ मिटर) लाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने बिलकुलै नयाँ अवधारणा यस कार्यक्रमको मुख्य केन्द्रविन्दु रहेको छ ।

आयोजक समितिका सहसंयोजक देवीप्रसाद पौडेलका अनुसार, जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा तराईको समथर मैदानदेखि हिमालयको काखसम्मको दूरी र पर्यावरणलाई एउटै प्याकेजमा समेट्न सकिने प्रचुर सम्भावना छ ।

‘हामी केवल पर्यटक भित्र्याउने मात्र होइन, भित्रिएका पर्यटकले यहाँको प्रकृति र संस्कृतिलाई कति सम्मान गरे र स्थानीयले त्यसबाट कति लाभ पाए भन्ने कुरामा केन्द्रित छौँ,’ पौडेलले भने, ‘कार्यक्रममा जिम्मेवार पर्यटन, जैविक विविधताको रक्षा र वातावरण संरक्षणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबीच बहस हुनेछ र आगामी कार्यदिशा तय गरिनेछ ।’

कार्यक्रमकी अध्यक्ष सुशिला सापकोटाले केचना क्षेत्रदेखि कञ्चनजंघा क्षेत्रसम्म जिम्मेवार पर्यटन प्रवद्र्धन गर्ने रणनीतिक पहलका रूपमा यस सम्मेलनलाई अघि बढाइएको बताइन् । ‘यो सम्मेलनले स्थानीय पर्यटनको जग बलियो बनाउने मात्र नभई छिमेकी देशसँगको क्रस बोर्डर टुरिजम (सीमापार पर्यटन) लाई समेत नयाँ आयाम दिनेछ,’ उनले भनिन् ।

यो कार्यक्रम इलाम नगरपालिकाको नगर पर्यटन प्रवद्र्धन समितिको अगुवाइमा हुन लागेको हो, जसमा स्थानीय व्यावसायिक र सामाजिक संस्थाहरूले बलियो ऐक्यबद्धता जनाएका छन । होटल व्यवसायी संघ इलाम यसको मुख्य प्रवद्र्धक रहेको छ भने इलाम उद्योग वाणिज्य संघ, गाइड पोर्टर ड्राइभर क्लब तथा पर्यटन प्रवद्र्धन सरोकार समितिले सहआयोजनाको जिम्मेवारी सम्हालेको नगर पर्यटन प्रवद्र्धन समितिका सचिव अर्जुन पोख्रेलले बताए ।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा नेपालका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, रैथाने पर्यटन व्यवसायी, रैथाने संस्कृतिका अध्येताहरूका साथै भारतको दार्जिलिङ, सिक्किम र पश्चिम बङ्गालका प्रतिष्ठित पर्यटन व्यवसायी, वातावरणविद् र सरकारी प्रतिनिधिहरूको समेत सहभागिता रहने आयोजकका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । दुई दिन चल्ने कार्याक्रममा जिम्मेवार पर्यटन र हरित अर्थतन्त्रबारे प्यानल छलफल , पूर्वी नेपालको भूगोल समेटिएको लेण्डस्केप ग्यालरी तथा फोटो–भिडियो प्रदर्शनी ।

विभिन्न जातजातिका रैथाने सांस्कृतिक झाँकी र मौलिक प्रस्तुति । आगन्तुकहरूका लागि इलामका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष भ्रमण, स्थानीय कला र हस्तकलाका सामग्री तथा इलामेली खानाका मौलिक परिकारहरूको प्रदर्शनी एवं बिक्री कक्ष रहने आयाजककले जनाएको छ ।

पछिल्लो समय अनियन्त्रित भौतिक निर्माण र अव्यवस्थित पर्यटनका कारण पूर्वी पहाडको पर्यावरण संकटमा परिरहेको चर्चा चलिरहँदा यो सम्मेलनले ठोस निष्कर्ष निकाल्ने अपेक्षा समेत गरिएको छ । यो कार्यक्रमले आगामी दिनमा पूर्वी नेपालमा गरिने पर्यटकीय गतिविधिहरूलाई पर्यावरणमैत्री र स्थानीय समुदायमुखी बनाउन मार्गनिर्देशन गर्ने र यस क्षेत्रको पर्यटनलाई नयाँ उचाइमा पुयाउने दाबी आयोजकको छ । चिया, अलैँची, अदुवा र ओलन (दूध) का लागि प्रख्यात इलामले अब ‘जिम्मेवार र दिगो पर्यटन’ को नयाँ मानक कोर्ने विश्वास पर्यटनकर्मीहरूले गरेका छन् ।