पर्यटन प्रवर्द्धनका लागि इलाममा ‘रेडपाण्डा म्याराथन’ आयोजना


काठमाडौं । पर्यटन प्रवर्द्धन र लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ। अन्तरराष्ट्रिय रेडपाण्डा दिवसको अवसरमा असोज ४ गते इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्रको सन्दकपुर डाँडासम्म दौड आयोजना गरिने आयोजक दीपज्योति युवा क्लब का कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो।

प्रतियोगिता रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा आयोजना हुँदैछ। पुरुष र महिलातर्फका धावक इलाम चोक बजार (१,१२० मिटर) बाट सन्दकपुर डाँडा (३,६१० मिटर) सम्म ४४.२ किलोमिटर दूरीमा दौडने छन्।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित देशभरका १०० भन्दा बढी धावक सहभागिता जनाउनेछन्। पुरुष र महिलातर्फ पहिलो हुनेले रु १ लाख ५० हजार, दोस्रोले रु १ लाख, तेस्रोले रु ५० हजार र चौथोले रु ३० हजार पुरस्कार पाउने छन्।

स्थानीय धावकका लागि पनि छुट्टै प्रतियोगिता हुनेछ। पुरुष र महिलातर्फ पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु २० हजार, तेस्रोले रु १० हजार र चौथोले रु ५ हजार प्राप्त गर्नेछन्।

कार्यक्रम निर्देशक रिमालले भने, “जिल्लाको पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गर्न लागेका हौँ। रेडपाण्डा पाइने क्षेत्रमा आयोजना गरिएको कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पुर्‍याउने विश्वास लिएका छौँ।”

रेडपाण्डा नेटवर्कका कार्यक्रम निर्देशक वाङ्चु भुटियाले भने, “म्याराथनमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहनेछ। यसले लोपोन्मुख रेडपाण्डा संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनेछ।”

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले म्याराथनको रुटअन्तर्गत सडक मर्मतको काम सुरु भएको जानकारी दिँदै भने, “यसले सन्दकपुर गाउँपालिका मात्र नभई समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ।”

सन्दकपुर–२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो ठाउँ हो, जहाँ ३,६३६ मिटर उचाइबाट सूर्योदयको दृश्यावलोकनसहित नेपाल, भारत, भुटान र चीनका हिमाल देख्न सकिन्छ।