काठमाडौं । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । देशलाई समृद्ध बनाउन पर्यटन व्यवसायलाई मजबुद बनाउ आवश्यक रहेको छ । अहिले देशको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, अब सरकारको नेतृत्व गर्ने वाम गठबन्धनका नेताहरु सबैले एकै स्वरमा आर्थिक समृतिका लागि पर्यटन प्रबद्र्धन भन्दै आएका छन् । यही भनाईलाई समेट्दै वाणिज्य मन्त्री मीन विश्वकर्माले पनि पर्यटन नै आर्थिक समृद्धिको महत्वपूर्ण मध्येको एक आधार रहेको बताए ।
टुर खबरसँगको विशेष कुराकानीमा विश्वकर्माले भने–‘एउटा देशको समृद्धिका लागि चाहिने तीन स्रोत हुन, एक प्राकृतिक, दोस्रो जनशक्ति तथा तेस्रो राष्ट्रिय शक्ति व्यापार हामी तीनै शक्तिले सम्पन्न छौं,’ विश्वकर्माले भने, ‘प्राकृतिक रुपमा विश्वकै धनी देश हो । यसको प्रबद्र्धन गर्न सके पर्यटनकै माध्यमबाट पनि नेपाल धेरै विकसित बन्न सक्छ ।’
पर्यटन प्रबद्र्धनका लागि सबैभन्दा महत्वपूर्ण कुरा नेपालका दुई छिमेकी राष्ट्रसँग मित्रवत व्यवहार गर्नुपर्ने उनको भनाई छ । ‘हामी एक थरी भारतको विरोध गर्छौ, अर्कोले चीनको, तर विरोध नगरी मित्रवत व्यवहार गर्ने हो भने उनीहरुले हामीलाई पाल्छन् । त्यो पनि आत्मसम्मानका साथ,’ उनले भने, ‘भारतमा सवा अर्ब र चीनमा डेढ अर्ब जनसंख्या छ । त्यसको ०.०१ प्रतिशत मानिस नेपालमा ल्याउन सक्यो भने दुई करोड हुन्छ । अनि नेपाली पर्यटन व्यवसायी, पर्यटन गाईड र अनेकौ रोजगार पाएर धनी बन्न सक्छन् ।’ अब पर्यटनको विकास गरी जागिरे हैन व्यवसायी नेपाली बढाउनुपर्ने उनले सुझाए । त्यसका लागि वर्तमान सरकारले पनि विभिन्न नीति तयार पारेको विश्वकर्माले जानकारी दिए ।
नेपालका स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धिमा अघि बढ्नु आजको आवश्यकता रहेको पनि विश्वकर्माले बताए ।
प्रतिक्रिया