धरान । धरानमा तयार हुने परिकारको प्रचारका लागि धराने पर्यटन व्यवसायीले तीन दिने धरान फुट फेस्टिबल सुरु गरेका छन् । आइतबारबाट सुरु भएको यो फेस्टिबल तीन दिनसम्म सञ्चालन हुने पर्यटन व्यवसायी बासु बरालले जानकारी दिए ।
संसारभरी नै सडकमा खाने र रमाउने प्रचलन भए पनि नेपालमा यस्तो प्रचलन नहुँदा अन्तर्राष्ट्रिय बजार जस्तै पर्यटनको प्रचारका लागि यो महोत्सव आयोजना गरेको बरालले बताए ।
फुट फेस्टिबलमा स्थानीय परिकारका साथै होटल व्यवसायीले धरानमा तयार पार्ने परिकार राखेका छन् । स्थानीय समुदायका मानिसहरुले पनि गाउँमा तयार हुने परिकारलाई प्रचारका लागि राखेका छन् ।
तीन दिने महोत्सवको पहिलो दिने झण्डै ४० हजारले मेलाको अवलोकन गरेपनि यो पर्याप्त नभएको बरालको भनाई छ । बुढासुब्बा गोल्डकपका कारण पनि धेरै मानिस मेला अवलोकन गर्न नआएको भएपनि सोमबार र मंगलबार संख्या बढ्ने बताए ।
एक औपचारिक कार्यक्रमको आयोजना गरी सुरु गरिएको महोत्सवलाई धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य राख्दै मेयर सुब्बाले धरानलाई पर्यटकीय नगरी बनाउने अभियानमा उपमहानगरपालिका सँधै लागि पर्ने बताए ।
कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले आर्थिक समृद्धिका लागि पर्यटन प्रबद्र्धन गर्नुपर्ने र त्यसको एक अभ्यास फुट फेस्टिबल भएको बताइन् । पूर्व मेयर तथा पर्यटन व्यवसायी मनोज म्यानाङ्बोले धरानका सम्भावनालाई प्रचार गरी पर्यटनप्रबद्र्धनमा जोड दिनुपर्ने बताए ।
रुसलान भोड्काले प्रायोजन गरेको कार्यक्रमको टुवर्ग वियर सहप्रायोजक हो । कार्यक्रम सञ्चालनका लागि धरान महानगरपालिकाले सहयोग गरेको छ ।
प्रतिक्रिया