पर्यटन भित्र्याउन पोखराको नयाँ कदम


पोखरा, । हिमाल, ताल र साहसिक गतिविधिका लागि परिचित पोखराले अब नेपाली मौलिक संस्कृति र चाडपर्वलाई पनि पर्यटनको आकर्षण बनाउने पहल थालेको छ। प्राकृतिक सुन्दरताको अवलोकन र साहसिक गतिविधिमा रमाउन आउने पर्यटकलाई नेपाली जीवनशैली, परम्परा र चाडपर्वको अनुभवसमेत गराएर पोखराको बसाइ लम्ब्याउने र पर्यटक आगमन बढाउने उद्देश्यले दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा आइतबार पोखराको लेकसाइडस्थित वाराही खेलमैदानमा पहिलोपटक आयोजित महोत्सवमा विदेशी पर्यटकलाई टीका, जमरा र दक्षिणा दिएर दशैंको अनुभव गराइएको थियो। दशैंका परिकार, पिङ, मौलिक धुन र परम्परागत खेलमार्फत पर्यटकलाई नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरिएको थियो। महोत्सवमा सहभागी पर्यटकले नेपाली चाडपर्वलाई नजिकबाट अनुभव गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।

पर्यटनका लागि पोखराको प्रमुख आकर्षण प्राकृतिक सौन्दर्य हो। हिमाल र तालको मनमोहक दृश्यसँगै प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, जिपलाइन, स्काई डाइभिङ, क्यानोनिङ, र्‍याफ्टिङ र कायाकिङजस्ता साहसिक गतिविधिले पोखरालाई स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पार्दै आएका छन्। अब यी आकर्षणसँगै नेपाली मौलिक संस्कृति र चाडपर्वलाई पनि पर्यटनको उत्पादनका रूपमा विकास गर्ने लक्ष्य पोखराले लिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दशैंलाई पर्यटनसँग जोडेर नयाँ पर्यटकीय उत्पादनका रूपमा विकास गर्नुपर्ने बताए। हिमाल, ताल र प्राकृतिक छटा पोखराका स्थापित आकर्षण भए पनि दशैं, तिहारजस्ता मौलिक पर्वले पर्यटकलाई फरक अनुभव दिन सक्ने उनको भनाइ छ।

‘अब संस्कृति पनि पर्यटकको आकर्षण बन्नुपर्छ। दशैं, तिहारजस्ता हाम्रा मौलिक पर्व पर्यटकका लागि नयाँ आकर्षण र अनुभव हुन सक्छन्,’ उनले भने। आचार्यले दशैं महोत्सवलाई वार्षिक क्यालेन्डरमा समावेश गरेर निरन्तरता दिन सुझाव दिँदै त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए।

ट्रेकिङ सकेर महोत्सवमा सहभागी भएकी आयरल्यान्डकी पर्यटक ईथाले नेपाली आतिथ्य, टीका, जमरा र परिकारको अनुभवले आफूलाई निकै खुसी बनाएको बताइन्। ‘न्यानो आतिथ्यतासँगै टीका, जमरा लगाउँदा साह्रै खुसी भएँ। त्यसमाथि सेलरोटीसहितका दशैंका परिकार खान र पिङ खेल्न पाउँदा मनै फुरुङ्ग भयो,’ उनले भनिन्। थकानका बीच दशैं मनाउन पाउँदा आफूले थकान नै बिर्सिएको उनको अनुभव थियो।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पर्यटनलाई मौलिक कला र संस्कृतिसँग जोड्ने प्रयास सकारात्मक भएको बताए। स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटकीय उत्पादनका रूपमा उजागर गर्न सके पर्यटक आकर्षित गर्न सकिने उल्लेख गर्दै उनले यस्ता गतिविधिको प्रवर्द्धनमा पर्यटन बोर्डले सहयोग गर्ने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दशैंको सुरुआत, यसको सांस्कृतिक महत्त्व, किंवदन्ती र परिकारबारे पर्यटकलाई जानकारी गराउन सके महोत्सवलाई थप प्रभावकारी बनाउन सकिने बताए। उनका अनुसार स्टोरी टेलिङमार्फत दशैंको महत्त्व बुझाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने हो भने आगामी वर्षदेखि दशैं मनाउनकै लागि पोखरा आउने पर्यटकको सङ्ख्या बढाउन सकिन्छ।

ओटेफकी अध्यक्ष ममता न्यौपानेले सांस्कृतिक पर्यटनको खोजी र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। पहिलोपटक गरिएको यो प्रयासलाई आगामी वर्षदेखि पनि निरन्तरता दिने उनले जानकारी दिइन्।

ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले दशैंलाई पर्यटनसँग जोड्दा पर्यटकको आगमन बढाउन र पोखरा आएका पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताइन्। पहिलो कार्यक्रममै पर्यटकको उल्लेख्य सहभागिता देखिनुले आगामी दिनमा महोत्सवलाई अझ विस्तार गर्न उत्साह मिलेको उनको भनाइ छ।

महोत्सवमा मालश्री धुनले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो भने पञ्चेबाजाको तालमा पर्यटक र दर्शक नाचेका थिए। मैत्रीपूर्ण कबड्डी खेलमा अतिथि र पर्यटकसमेत सहभागी भएर रमाएका थिए। यस्ता गतिविधिले पर्यटकलाई केवल दृश्यावलोकनमा सीमित नराखी स्थानीय संस्कृति र सामाजिक जीवनसँग प्रत्यक्ष जोड्ने आयोजकको अपेक्षा छ।

पोखराले यसअघि भाइटीका महोत्सवमार्फत विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार भाइटीका लगाउने अवसर दिँदै आएको छ। रोपाइँ महोत्सवमार्फत धान रोपाइँ संस्कृतिको अनुभव गराउने अभ्यास पनि यहाँ हुँदै आएको छ। दशैं महोत्सव त्यसैको निरन्तरता हो, जसले पोखराको पर्यटनलाई प्रकृति र साहसिक गतिविधिबाट संस्कृति र अनुभवमा समेत विस्तार गर्न खोजेको छ।

पर्यटकले कुनै गन्तव्यमा बिताउने समय बढाउन र नयाँ अनुभवका लागि पुनः आकर्षित गर्न स्थानीय संस्कृति प्रभावकारी माध्यम बन्न सक्छ। दशैंजस्ता मौलिक पर्वलाई व्यवस्थित रूपमा पर्यटकीय उत्पादन बनाउँदै प्रचार गर्न सके पोखराले परम्परागत आकर्षणमा नयाँ आयाम थप्न सक्छ। प्राकृतिक सुन्दरता र साहसिक गतिविधिसँगै नेपाली आतिथ्य तथा संस्कृतिको अनुभव गराउने प्रयासले पोखरालाई अझ विविधतायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।