छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू


आज कुशे औँसी अर्थात् ‘बा’ (बुबा)को मुख हेर्ने दिन। ‘बा’ हुनेहरूले भौतिक रूपमै बुबाको पूजा गरी मिठामिठा परिकार खुवाएर मुख हेरे। टाढा हुनेहरूले पनि ‘बा’लाई सम्झिए, फोन गरे र आशीर्वाद लिए।

‘बा’ र छोराछोरीबीचको सम्बन्ध नै यस्तै हुन्छ, जहाँ छोराछोरीले आफ्नो हरेक खुसीमा ‘बा’को सम्झना गर्छन् भने ‘बा’ले पनि सन्तानको सुख, सफलता र प्रगतिको कामना गरिरहेका हुन्छन्। कतिपय ‘बा’सँगको सम्बन्ध साथीको जस्तै हुन्छ। कतिपयको सम्बन्ध बाहिरबाट त्यति देखिँदैन, तर सन्तानको जीवनको हरेक मोडमा ‘बा’को उपस्थिति र प्रभाव हुन्छ।

सन्तानले जुनसुकै काम गर्दा ‘बा’को सम्झना जोडिन्छ। ‘बा’ एउटा यस्तो शब्द हो, जससँग सन्तानको भविष्य, भरोसा र सुरक्षाको भावना जोडिएको हुन्छ।

तर यस वर्षको कुशे औँसीमा भोटेकोशी बाढीले यही आत्मीय सम्बन्धमा ठूलो चोट पुर्‍याएको छ। बाढीले कतिपय ‘बा’लाई छोराछोरीबाट टाढा बनाएको छ भने कतिपय छोराछोरी ‘बा’बाट टाढिएका छन्। कतिका ‘बा’ हराएका छन्। ती छोराछोरी आफ्ना ‘बा’को खोजीमा भौँतारिएका छन्। कतिका छोराछोरी हराएका छन्, ती ‘बा’हरू छोराछोरीको खोजीमा भौँतारिएका छन्।

भोटेकोशी बाढीको असर रसुवा, नुवाकोट हुँदै चितवनसम्मै परेको छ। चितवनमा बाढीको प्रत्यक्ष असर नपरे पनि भोटेकोशी र त्रिशूली नदीले माथिबाट बगाएर ल्याएका कयौँ शव यहाँ भेटिएका छन्। भोटेकोशी–त्रिशूली प्रभावित रसुवा, नुवाकोट र धादिङमा कयौँ मानिस बेपत्ता भएका छन्।

यतिका दिन बितिसक्दा पनि सास र लास दुवै नभेटिँदा कतिपय आफन्तले शव नपाएरै अन्तिम संस्कारको विधि पूरा गरेका छन् भने कतिपय अझै आफ्ना आफन्त भेटिने आशामा छन्।

आज ‘बा’को मुख हेर्ने दिन। भोटेकोशी–त्रिशूली किनारमा रोजगारीका क्रममा रहेका र बाढीपछि बेपत्ता भएका आफ्ना छोराहरूको खोजीमा ‘बा’हरू चितवन आएका छन्।

बाढीले बगाएर ल्याएका शवमध्ये आफ्नो छोरा भेटिन्छ कि भन्ने आशामा चितवन आएका ती ‘बा’हरूका लागि आजको दिन अरू दिनभन्दा फरक पक्कै छ। देशभर छोराछोरीले आफ्ना ‘बा’को मुख हेर्दै गर्दा ती ‘बा’हरू भने छोराको प्रतीक्षामा छन्। कतैबाट आज छोरा सम्पर्कमा आउला कि, ‘बा’ भनेर फोन गर्ला कि भन्ने आशा उनीहरूको मनमा अझै बाँकी होला।

तर यतिका दिन बितिसक्दा पनि छोराको कुनै खबर नआएपछि त्यो आशा कति कमजोर हुँदै गएको होला, सहजै अनुमान गर्न सकिन्छ। तैपनि मनले छोरा जीवितै भेटिने आशा मारेको छैन। त्यसैले आफ्नै छोराको अनुहार भेटिन्छ कि भन्ने आशामा ती ‘बा’हरू चितवनका शव पहिचान केन्द्रसम्म आइपुगेका थिए।

‘बा’को मुख हेर्ने दिनमा छोराको मुख हेर्न नपाएका यी ‘बा’हरूको पीडा शब्दमा व्यक्त गर्न सहज छैन। उनीहरूका लागि आज पर्वभन्दा ठूलो प्रश्न बनेको होला– ‘मेरो छोरा कहाँ छ ?’

भोटेकोशीको बाढीले घर, सम्पत्ति र जीवनमात्र बगाएन, धेरै परिवारको पारिवारिक खुसीसमेत बगाएको छ।

कसैको घरमा आज ‘बा’को पूजा भइरहेको छ, कसैको घरमा ‘बा’को तस्बिरअगाडि दीप प्रज्ज्वलन भइरहेको छ। तर केही ‘बा’हरू भने आफ्ना हराएका छोराको तस्बिरअगाडि दियो बालेर छोरा फर्केर आउला कि भन्ने आशामा कुरिरहेका पक्कै होलान्।

‘बा’को मुख हेर्ने दिन केवल एउटा धार्मिक तथा सांस्कृतिक पर्व होला, तर ‘बा’ र छोराछोरीको सम्बन्धमा कुनै जात, धर्म वा संस्कृतिले छेक्दैन। यो सम्बन्ध केवल माया र विश्वासमा मात्र होइन, एकअर्काप्रतिको आशा र शक्तिको भावनामा पनि अडिएको हुन्छ।

भोटेकोशी बाढीपछि छोराको खोजीका लागि चितवन आएका केही ‘बा’हरूको एउटै सपना थियो– ‘मेरो छोरा भेटियोस्।’

केही कमाएर घर फर्किएपछि ‘बा’लाई खुसी दिने सपना बोकेर गाउँ छोडेका ती छोराहरू फर्किएनन्, सम्पर्कमा आएनन्। उनीहरूका सपना कहाँ हराए, कसैलाई थाहा छैन। बाढीले उनीहरूलाई मात्र होइन, उनीहरूसँग जोडिएका परिवारका धेरै सपना पनि बगाएर लग्यो।

छोराको प्रतीक्षामा रहेका ती ‘बा’हरूका सपना भने दिन बित्दै जाँदा तुहिँदै गए। आशा कमजोर हुँदै गयो। मनभरि पीडा, थकानले गलेका खुट्टा र काँपेको शरीर बोकेर चर्को घाममा समेत भोक–प्यासको प्रवाह नगरी उनीहरू शव पहिचान केन्द्र आसपास टोलाइरहेका थिए।

ती ‘बा’हरूको एउटै पुकार थियो, “मेरो छोरो भेटिए हुन्थ्यो, कि त लासै पत्ता लागे पनि हुन्थ्यो।”

टोलाउँदै गरेका ती ‘बा’हरूको मुखबाट निरन्तर यही वाक्य दोहोरिइरहन्थ्यो। छोरा जीवितै भेटिए हुन्थ्यो भन्ने आशा त थियो नै, तर धेरै दिनसम्म कुनै खबर नआएपछि कम्तीमा आफ्नो छोराको अन्तिम अवस्था थाहा पाउन पाए हुन्थ्यो भन्ने पीडा पनि उनीहरूको मनमा गहिरिँदै गएको थियो।

बाढीपछि चितवनमा धेरै शव बगाएर ल्याइएर भेटिएपछि अस्पतालमा स्थान अभाव भयो। त्यसपछि चितवन उद्योग सङ्घ परिसरमा शव पहिचान केन्द्र बनाइएको थियो।

उद्योग सङ्घकै परिसरमा गत भदौ १३ गते भेटिएका वीरगन्ज महानगरपालिका–२२ का अली मोहम्मद मियाँ आफ्ना २२ वर्षीय छोरा साबुदिन मन्सुरीको तस्बिर लिएर भरतपुरस्थित अस्पताल र शवगृहका ढोकामा भौँतारिइरहेका थिए।

रोजगारीको सिलसिलामा रसुवाको एक ग्यारेजमा मेकानिकको काम गर्न गएका साबुदिन भोटेकोशी र आसपासका क्षेत्रमा आएको भीषण बाढीपछि ग्यारेज साहु र अन्य पाँच जना साथीसँगै बेपत्ता भएको अली मोहम्मदले बताए।

“छोराको खोजीमा छु, कसैले खबर पाए प्रहरी चौकीमा भनिदिए हुन्थ्यो,” भक्कानिँदै अली मोहम्मदले भने, “बाढीमा परेकाहरूको केही अत्तोपत्तो छैन।”

उनमा छोरा हराएको पीडा देखिन्थ्यो नै, आफ्नै भविष्यको सहारा गुमेको चिन्ताले पनि उनलाई निकै सताएको थियो। शवगृह र होल्डिङ सेन्टरका सबै ठाउँमा हेर्दा पनि उनले छोराको पत्तो लगाउन सकेका थिएनन्।

“खबर गरिदिनु ल…” भन्दाभन्दै उनको बोली रोकियो। आँसु खसाल्दै उनले भने, “मेरो छोरा यी शवहरूमा छैन, कतै भेटिए खबर गरिदिनुहोला।”

उनले त्यसै भनेका थिए। आशा छ, उनका छोरा भेटिएका होऊन्।

यो सास्ती र पीडा अली मोहम्मदको मात्र थिएन। बाढी र पहिरोका कारण देशका विभिन्न स्थानबाट काम तथा भ्रमणका क्रममा पुगेर बेपत्ता भएका नागरिकका आफन्तहरू चितवनको भरतपुरमा शव पहिचानका लागि भौँतारिइरहेका थिए।

सप्तरीको खडक नगरपालिकाका भोला पासवान र डाक्नेश्वरी नगरपालिकाका अक्षयकुमार पासवान आफ्ना छोराहरू क्रमशः अखिलेश र निसितको खोजीमा भरतपुरमा भौँतारिइरहेका थिए।

काम गर्न रसुवा पुगेका उनीहरूका छोराहरूको त्यतिबेलासम्म कुनै खबर थिएन। शोकमा परेका यी बाबुहरूलाई आफ्ना छोराहरू जीवितै भेटिएलान् भन्ने झिनो आशा त थियो, तर मनलाई सम्हाल्न नसकेर शव नै भए पनि फेला पर्छ कि भनेर यहाँसम्म आएका थिए।

भोलाले पीडा पोख्दै भने, “सप्तरीबाट चितवनसम्म आइपुगेँ, तर केही अत्तोपत्तो छैन। कहाँ जाऊँ, के गरूँ ? भित्र छिर्छु, बाहिर राखेको तस्बिर हेर्छु, तर छोराको केही पत्तो पाउन सकेको छैन।”

अक्षयको पनि उस्तै हाल थियो।

त्यसैगरी, शवहरूको पहिचान गर्न उद्योग सङ्घकै परिसरमा आफन्तको डिएनए परीक्षण सुरु गरिएको थियो। भदौ १७ गते सोही परिसरमा भेटिएका बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिएका थिए।

छोराको कुनै पत्तो नपाएपछि डिएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगेका थिए। डिएनए नमुना दिए पनि उनको मन अझै ढुक्क हुनसकेको थिएन।

यदि शव नै रहेछ भने पनि पहिचान होला भनेर उनले डिएनए नमुना दिए। तर उनको मनमा अझै पनि छोरा जीवितै भेटिने आशा बाँकी नै थियो।

त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा भदौ ११ गतेदेखि नै चितवन आएका थिए। आफ्ना छोरासहित १६ जना साथीहरू बाढीमा हराएको बताउने थारूले धेरै शव हेरे पनि छोरालाई भेट्टाउन सकेका थिएनन्।

“सासको आस मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डिएनए म्याचिङका लागि रगत दिएको हुँ,” उनले आफ्नो पीडा पोख्दै भने।

थारूलाई अझै पनि छोराहरू हराएकै स्थानमा पुगेर खोज्ने इच्छा थियो।

बर्दियाका रामबहादुरजस्तै हराएका छोराको खोजीमा रहेका हजारौँ बाबुका सन्तान हराएका छन्। न लास भेटिएको छ, न सास, न आशा मरेको छ।

आफ्नो परम्पराअनुसार अन्तिम संस्कार पनि कतिपयले गरिसकेका होलान्। तर केही अत्तोपत्तो नहुँदा यी बाबुहरूले आफूलाई ‘बा’ भन्दै छोराले बोलाउने आशा मारेका पक्कै छैनन्।

आशा गरौँ, हराएका यी छोराहरू पनि कुशे औँसी अर्थात् ‘बा’को मुख हेर्ने दिन आफ्ना बाबुका सामुन्ने आइपुगून्।