कसरी कारागारभित्र पुग्यो १० लाखसहित मोवाइल र फलामको रड ?


मोरङ । जिल्ला कारागार मोरङका कैदीबन्दीको कोठाभित्र ठूलो परिणामको नगद, मोबाइल र फलामे रड फेला परेको कारागार सुरक्षामाथि ठूलो प्रश्न उठेको छ। कारागारजस्तो संवेदनशील ठाउँमा कसरी २ वटा मोबाइल सेट, १० लाखभन्दा बढी रकम र फलामका रड पुगे ? जहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको गेटदेखि नै कडा चेकजाँच हुनुका साथै कारागार वरिपरि सुरक्षाकर्मी २४ सै घण्टा तैनाथ हुन्छन्।

कैदीबन्दी बस्ने कोठामा पुग्न सहजै छैन। त्यहाँ सुरक्षाकर्मीसँगको मिलेमतोबाहेक अन्य कुनै किसिमले सम्भव छैन। तर, बिहीबार कारागारको ‘बी’ ब्लक ‘सर्च’ गर्दा रुपैयाँ, मोबाइलका साथै रड फेला पर्नुले ठूलो सुरक्षा चुनौती देखाएको छ। कैदीबन्दीलाई मोबाइल फोन बोक्न र प्रयोग गर्न प्रतिबन्ध रहेको कारागारभित्रबाट दुई थान मोबाइल बरामद भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

कारागारको नियमित ‘सर्च’ अभियान बिहीबार (आज) बिहान ११ बजे सुरु भएर १२ः५० बजेसम्म ‘बी’ ब्लकमा गरिएको बताउँदै मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘सर्च’ गर्दा भेटिएका नगद १० लाख ३ हजार १ सय ५५ रुपैयाँ, दुई थान मोबाइल, बेल्चा, फलामका पाइप कसरी, कसले, कहिले लगेको भन्ने विषयमा अनुसन्धान थालिसकेको हुँदा थप कुरा अनुसन्धानपछि सबै आउने छ। केही समय समस्या भएकाले ‘सर्च’ अभियान भएको थिएन। ‘बी’ ब्लकभित्र रहेका केही कैदीबन्दीले भित्रबाट ताला लगाएको भएर समस्या भएको थियो। अहिले त्यहाँका ३७ जना कैदीबन्दीलाई स्थानान्तरण गरेपछि सहज भएपछि ‘सर्च’ अभियान चलाएका हौँ।’

घटना अनुसन्धानमै रहेकाले सबै कुरा अहिले भन्न नमिल्ने डिएसपी मिश्रले बताए। अहिले सबै कुरा बाहिर आए अनुसन्धानमा प्रभाव पर्ने र तथ्य पत्ता लगाउन सकस हुने भएकाले अनुसन्धान पूरा भएपछि सबै सार्वजनिक हुने उनले बताए।

केही दिनअघि मात्रै दुई पटक गरी ३७ जना कैदीबन्दीलाई स्थानान्तरण गरेपछि ‘बी’ ब्लकको अवस्था सामान्य बनेको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनका अनुसार ३७ जना कैदीबन्दी स्थानान्तरण नगर्दासम्म ‘बी’ ब्लकमा समस्या भएको थियो। ‘बी’ ब्लक कब्जा गर्ने समूहका ३७ जनालाई विभिन्न कारागारमा पठाएपछि प्रहरी र जेल प्रशासनलाई भित्र पस्न सहज भएको हो। ‘बी’ ब्लकका नाइके, चौकीदार लगायत मिलेर अन्य कैदीबन्दीलाई कुटपिट गर्ने, यातना दिने जस्ता कार्य गर्दै आएका थिए।

तर, ‘बी’ ब्लकका नाइके, चौकीदार लगायतबाट पीडित भएका समूहले चलाखीपूर्ण तवरबाट उनीहरूलाई कारागारबाट बाहिर निकालेर प्रहरीलाई जिम्मा दिएपछि प्रहरी र जेल प्रशासनलाई भित्र पस्न सहज भएको हो।

प्रहरीको संयुक्त टोलीले गरेको ‘सर्च’का क्रममा ‘बी’ ब्लकको कोठा नम्बर १ बाट दुई थान मोबाइल बरामद भएको हो। उक्त कोठामा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनले सिमकार्ड प्रयोग गरी लामो समयदेखि कारागारबाहिर सम्पर्क गर्दै आएको खुलेको छ।

विक बस्ने कोठा नम्बर १ को छेउको कोठा नम्बर २ बाट आठ वटा फलामे रड र बेल्चा बरामद भएको छ। कोठा नम्बर २ मा तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्ने गरेका थिए।

कारागारभित्र कैदीबन्दीलाई आफन्तसँग कुराकानी गर्नका लागि कारागार प्रशासनले ल्याण्डलाइन फोन उपलब्ध गराए पनि विकले व्यक्तिगत मोबाइल प्रयोग गर्दै आएको खुलेको छ।

‘बी’ ब्लकभित्र रहेको किराना पसलबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ।

मोरङ कारागारमा पुरुष कैदीबन्दीका लागि ‘ए’ र ‘बी’ ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक रहेको छ।