दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो जाँदा चमेलिया (चौलानी) नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण नदी थुनिन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोले चौलानी नदीको केही भाग पुरिए पनि अहिले पानीको बहाव भइरहेको छ। तर, माथिबाट थप पहिरो खस्ने सम्भावना रहेकाले नदी थुनिएर एक्कासि फुट्न सक्ने जोखिम कायमै छ।
‘पहिरोले चौलानी नदी थुनिएको जानकारी पाएका छौँ। अहिले पानी पास भइरहेको छ। फेरि पहिरो जान सक्ने सम्भावना रहेकाले सबैलाई सचेत गराइसकेका छौँ,’ प्रजिअ पौडेलले भने।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका नदी तटीय क्षेत्रमा रहेका बस्तीलाई सतर्क गराइएको छ। साथै, डडेलधुरा र बैतडीका चौलानी नदी तटीय क्षेत्रका बासिन्दालाई समेत जोखिमबारे जानकारी गराइएको पौडेलले बताए।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने जनाएको छ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले प्रभावित क्षेत्रबाट सुरक्षित स्थानान्तरणको काम भइरहेको बताए ।
नदी थुनिएर एक्कासि फुटेमा तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।




प्रतिक्रिया