काठमाडौं उपत्यकाका तीन नगरपालिका शंखरापुर, कागेश्वरी मनोहरा र चाँगुनारायणले फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थव्यवस्थामा संयुक्त समन्वय व्यवस्थापन सम्बन्धी प्रारुप-२०८३ मा हस्ताक्षर गरी साझा फोहोर व्यवस्थापन अभियानको आधिकारिक थालनी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यशालामा तीन नगरपालिकाका प्रमुखहरू शंखरापुरका रमेश नापित, कागेश्वरी मनोहराका उपेन्द्र कार्की र चाँगुनारायणका जीवन खत्रीले उक्त प्रारुपमा हस्ताक्षर गरे। यो प्रारुप नर्वे सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) द्वारा सञ्चालित ‘कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा’ (Renewable Energy for Resilient Agri Food Systems) परियोजनाको प्राविधिक सहयोगमा तयार पारिएको हो।
प्रारुपअनुसार तीन नगरपालिकाले आफ्ना स्रोत र योजना संयोजन गर्दै नागरिकलाई घर तथा कार्यालयमै फोहोर छुट्याउन प्रोत्साहन गर्ने, साझेदार संस्थामार्फत सङ्कलन गर्ने र अधिकतम पुन:प्रयोग तथा पुन:चक्रण गर्ने व्यवस्था मिलाउनेछन्। यसको मुख्य उद्देश्य ल्यान्डफिलमा पुग्ने फोहोरको मात्रा उल्लेखनीय रूपमा घटाउनु रहेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेलले संघ र प्रदेश सरकारको तर्फबाट यस पहललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यो अभियासले अन्य नगरपालिकाका लागि समेत अनुकरणीय नमुना बन्ने विश्वास व्यक्त गरे।
युएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर प्रज्ञाजन यलम्बर राईले यस समन्वयलाई फोहोर व्यवस्थापन र चक्रीय अर्थव्यवस्थाको क्षेत्रमा एक उल्लेखनीय माइलस्टोनको संज्ञा दिए। कार्यक्रममा डिजिटल डेटाबेसमार्फत फोहोर व्यवस्थापनको अनुगमन गरिने जानकारी समेत सार्वजनिक गरियो।
नगर प्रमुखहरूले यस पहलले नागरिकको स्वच्छ वातावरणमा बाँच्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्ने र वातावरणमैत्री प्रविधिको विस्तारमा टेवा पुग्ने अपेक्षा राखेका छन्।
शंखरापुर नगरपालिकाकी सूचना अधिकृत शुभद्रा पुडासैनीले उक्त प्रारुपका मुख्य विशेषताहरू प्रस्तुत गरेकी थिइन् भने ‘ब्लु वेष्ट टु भ्यालु’ का सह-संस्थापक नविन विकास महर्जनले धन्यवाद मन्तव्य राखेका थिए।
यस सहकार्यले काठमाडौँ उपत्यकाको बढ्दो फोहोर व्यवस्थापनको समस्या समाधानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया