काठमाडौं । पछिल्लो समय विकासका गतिमा तीव्रतर रुपले अघि बढिरहेको नेपालको निकट छिमेकी चीन विश्व चासोको राष्ट्र हो । नेपालमा पनि चीनबारे धेरै चर्चा हुने गरेको छ । नेपाली चीन जाने क्रम बढेको छ भने चिनियाँ नेपाल भित्रने क्रम पनि उत्तिकै छ । त्यसमा पनि नेपालमा व्यवसायिक प्रयोजनसहित आउने चिनियाँ पनि उत्तिकै छन् ।
केही व्यवसाय नेपालीलाई रोजगारी दिने र नेपाल आयआर्जनमा टेवा पुग्ने योजनासहितका उद्योग खुल्नेक्रम छ ।
चीनले पनि नेपालीलाई चीन चिनाउन र चिनियाँ विकासका योजना देखाउन अध्ययन छात्रवृद्धि प्रदान गर्दै आएको छ । जसले धेरै नेपाली विद्यार्थीलाई चीन यात्रा सहज बनाइदिएको छ ।
यसरी चिनियाँ नेपाल आउने क्रम र नेपाली चीन जानेक्रम बढ्दै जाँदा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठको अवसरमा चीनलाई चिनाउने नयाँ अभ्यास गर्न लागिएको छ।
दुई देशको कूटनितिक सम्बन्ध स्थापनाको ऐतिहासिक अवसरमा १० जना नेपाली विद्यार्थीले चीनको भौतिक विकास र जीवनशैलीलाई व्याख्या गर्नेछन् । हुबेई डेली मिडिया ग्रुपअन्तर्गतको ‘जिमु न्यूज’ लाई अन्तर्वार्ता दिएका उनीहरूले शिलशिलाबद्ध भिडियो श्रृंखला तयार पार्ने छन्।
चीनमा पढिरहेका १० नेपाली विद्यार्थीले अनुभव साट्दै
नोभेम्बरदेखि चीनमा अध्ययनरत १० जना नेपाली विद्यार्थीले ‘चीनको सम्झना’ शीर्षकअन्तर्गत भ्लग र छोटा भिडियोमार्फत चीनमा बिताएका आफ्ना अनुभव देखाउने छन् । २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ परेकै सन्दर्भमा यी विद्यार्थीहरूले हुबेई प्रान्तको ‘जिमु न्यूज’ लाई अन्तर्वार्ता दिँदै भिडियो श्रृंखला तयार पारेका छन् । ती कथाहरू सामाजिक सञ्जालमार्फत क्रमश: सार्वजनिक हुनेछन् ।
नेपाल र चीन हिमाल र नदीले जोडिएका घनिष्ठ छिमेकी हुन्। हाल हजारौं नेपाली विद्यार्थी चीनमा अध्ययन र बसोबास गरिरहेका छन्, जो दुई राष्ट्रबीच मैत्रीका सन्देशवाहक बनेका छन्।
यस कार्यक्रममा सहभागी विद्यार्थीहरू झेजियाङ विश्वविद्यालय, शाङ्घाइ जियाओ टोंग विश्वविद्यालय, तोङ्जी विश्वविद्यालय, वुहान विश्वविद्यालय, सियान जियाओ टोंग विश्वविद्यालय, चिनियाँ विज्ञान प्रतिष्ठान विश्वविद्यालय र सिचुवान विश्वविद्यालयजस्ता प्रतिष्ठित शैक्षिक संस्थानबाट आएका हुन्।
उनीहरू चिकित्सा, वास्तुकला, आणविक भौतिकशास्त्र, सिभिल इन्जिनियरिङदेखि नियन्त्रण इन्जिनियरिङसम्मका विभिन्न विषयमा अध्ययनरत छन्।
यी विद्यार्थीहरूले आफू अध्ययन र बसोबास गरिरहेका चिनियाँ शहरहरूको यात्रा दर्शाउने छन् । चेंग्दुमा राष्ट्रिय धरोहर मानिने विशाल पाण्डा अवलोकनदेखि त्यहाँको शान्त जीवनशैली अनुभव गर्ने, ६३२ मिटर अग्लो शाङ्घाइ टावरको संसारकै तीव्र गतिको लिफ्ट चढेर ‘पूर्वको मोती’ कहलिने महानगर अवलोकन गर्ने, सियानमा टेराकोटा सेनाको इतिहास अनुभूति गर्ने, हाङ्झाउको वेस्ट लेकमा डुंगा सयर गर्दै चिनियाँ प्रेमकथाको झल्को पाउने, बेइजिङमा पेकिङ ओपेरा सिकेर परम्परा र आधुनिकताको संगम बुझ्ने, ग्वाङ्झाउ र वुहानमा स्थानीय परिकारको स्वाद लिने तथा शियानको वुदाङ पहाडमा गई ताइची कलाको उत्पत्तिस्थल अवलोकन गर्ने कार्यक्रम समेटिएको छ।
सिचुवान विश्वविद्यालयका विद्यार्थीले विगतमा चीनलाई कारखानाहरूको देश भनेर बुझे पनि त्यहाँ पुगेर हेर्दा, अध्ययन गर्दा फरक अनुभूति भएको बताएका छन् । चीनको अर्थतन्त्र र अग्ला भवन मात्र होइन त्यहाँको दैनिकीले विकास र नागरिकको जीवनशैलीलाई राम्ररी बुझ्न पाएको उल्लेख गरेका छन् ।
आठ वर्षदेखि चीनमा बस्दै आएका श्याम थापाले भने, ‘चीनको विकासले नेपाललाई धेरै शिक्षा दिन सक्छ । कृत्रिम बुद्धिमत्ता (एआई), सेयरिङ अर्थतन्त्रदेखि यातायात पूर्वाधारसम्मका अनुभव म नेपालमा पनि भित्र्याउन चाहन्छु।’
उनले तयार पारेको भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुक, युट्युब र इन्स्टाग्रामजस्ता माध्यमबाट प्रकाशन प्रशारण गरेर त्यहाँको जनजीवन, जीवनशैली र भौतिक पूर्वाधारको विकास नेपालीलाई देखाउने बताए । यी भिडियोले नेपालीलाई चीन चिनाउन मद्दत गर्ने अपेक्षा उनको छ ।
चीन प्रविधि विश्वविद्यालयमा कम्प्युटर विज्ञान तथा प्रविधि विषय अध्ययनरत स्नातक तहका विद्यार्थी सुबोध पोखरेल चीनको ग्वाङ्झाउमा विगत दुई वर्षदेखि बस्दै आएका छन् । समयसँगै उनी त्यहाँको जीवनशैलीमा अभ्यस्त हुँदै छन् । उनी भन्छन्, ‘यहाँका क्याम्पसको वातावरण सुखद छ, शिक्षकहरू गम्भीरता साथ पढाउँछन् र विद्यार्थीहरूबीच आपसी सम्बन्ध पनि राम्रो छ। चीनको जीवन निकै सहज र सुविधाजनक छ। यहाँ ग्वाङ्झाउका विविध परिकारको स्वाद लिन धेरै अवसर पनि छन्।’
सुबोधको नेपालबाट चीनको यात्रा र संस्मरण भिडियोमा हेर्नुहोस्
पोखरेल जस्तै सविना गोपालीको अनुभव छ । उनले आफ्नो चीन यात्रा एक जीवनको साहसिक कदम भएको बताइन् । चिनियाँ संस्कृतिमा रमाउँदै अद्भुत परिकारको स्वाद लिने, प्राचीन कलाहरू सिक्ने र चीनका जीवन्त शहरले प्रदान गर्ने हरेक अनुभव नयाँ अन्वेषण प्रेरित रहेका उनको बुझाइ छ । सविना चिनियाँ विज्ञान प्रतिष्ठानमा अर्थशास्त्र विषय लिएर अध्ययनरत गरिरहेकी छन् ।
चिनियाँ संस्कृति र खाना परिकारसँग रमाउँदै गरेकी सविनाको भिडियो हेर्नुहोस्
प्रविधिमा फड्को मारेको चीनमा शैक्षिक सफलता हासिक गर्नेको संख्या बढ्दै जाँदा शिक्षा आर्जन गर्न, विकासको आधुनिक क्रम हेर्न र सिक्न चीन जानेको संख्या बढ्दै गएको छ ।




प्रतिक्रिया