जात त्यागेर जराको मर्यादा पाएका रसिक


श्रद्धेय व्यक्तित्व गणेश रसिकसँग पचासको दशकमा भोजपुरमा भेट भएको हो । त्यसबेला मैले स्कुले शिक्षा पनि छिचोलेको थिइनँ । मनभित्र थुप्रै सपना थिए । राजनीति, साहित्य, सामाजिकलगायत हरेक क्षेत्रमा जिज्ञासा थियो । भाषण गर्थेँ, कविता कोर्थें, नाटक लेख्थेँ, निर्देशन गर्थेँ । सामाजिक काममा उत्तिकै सक्रिय थिएँ । लाग्थ्यो, मैले नसक्ने केही थिएन । 

मेरा अग्रजहरू हौस्याउँथे– ‘क्याबात कान्छा अगाडि बढ ।’ यस्तो बेलामा प्रज्ञा, चैतन्य र सिर्जनाका महारथी गणेश रसिक भोजपुर आउनु भएको पत्तो पाएँ ।  एकातिर सानैदेखि काठमाडौं बसेर पढ्ने मेरो भोक अर्कातिर दिग्गज व्यक्तित्वसँगको भेटले कतै न कतै मेरो सपनाले निकास पाउला कि भन्ने लाग्थ्यो । सम्झी ल्याउँदा त्यो भेटको हुटहुटीको सारबिन्दु त्यही थियो ।