नेपाल सुन्दर ! शान्त ! विशाल ।
यही सुन्दर नेपालमा शान्तिको खोजी गर्न विश्वका मानिस आउने गर्छन् । विश्व मानक चित्रमा भौगोलिक रुपले सानो नेपाल प्राकृतिक छटाका दृष्टिले अपार छ विशाल छ । यही विशाल तपोभूमि, अध्यात्मभूमि टेक्नकै लागि पनि विश्वका मानिस लालायित हुन्छन् । नेपालमा विश्ववन्धुत्वको भावना विश्वमा जागृत गरेको छ । त्यसैले नेपालको मानचित्र कल्पनाशक्तिमा पनि देखा पर्छ ।
यही कल्पना शक्ति र सपनामा देखेको नेपाल, बुद्धभूमि नेपाल खोज्न र सपनामा देखेको आफ्नो गुरु खोज्न नेपाल आएकी एक साधक, तपश्वी, भिक्षुणीले गरेको त्याग हामी यो भिडियोमार्फत जानकारी लिने छौँ ।
ताइवानी भूमिमा जन्म लिएकी स्याङ लोङ नेपाल आएर भिक्षुणी बनिन् । यसलाई सामान्यीकरण गरे सामान्य विषय नै हो । तर दैवी शक्ति र अध्यात्म शक्तिसँग जोडिएको स्याङ लोङको जीवन र स्याङ लोङदेखि थाङ्ग स्याङ यिन (गुरुमा) बन्दासम्मको जीवनी विशाल इतिहास झै लाग्छ ।
आधुनिकतासँगै विकसित हुँदै गरेको विश्वलाई धार्मिक आस्था, अध्यात्मिक विद्या कति शक्तिशाली हुन्छ भन्ने उदाहरण पनि एकै जीवनको दुई दशकलाई नियाल्दा पुग्दो हुन्छ ।
महामानव गौतम बुद्धले २५६८ औँ वर्षअघि प्राप्त गरेको ज्ञान, त्यो ज्ञानको शक्ति, मानिसलाई बुद्धत्वसँग जोड्न बुद्धधर्म अनुयायीहरु आजपनि कसरी दिलोज्यान दिएर लाग्छन् भन्ने उदाहरण पनि थाङ्ग स्याङ यिनको जीवनले देखाएको छ । हुन पनि शान्ति र अहिंसाको दिव्य ज्ञानसँगै महामानव गौतम बुद्धले आफ्ना शिष्यलाई ‘के–ठीक’ र ‘को–ठीक’ भन्ने सैद्धान्तिक विवादमा उल्झिनुभन्दा आफ्नै मनको स्वभावलाई बुझ्नु मुख्य कुरा भएको सन्देश प्रवाह गरेका थिए । आफूलाई फाइदै हुन्छ भनेर गरिने लोभले आफ्नै विनाश गर्ने सन्देश प्रवाह गरेका थिए । आफ्नो मनको हरेक स्वभाव खोतल्दै आफ्नो गुरु आफैँ बन्नुपर्छ भन्ने सन्देश भगवान गौतम बुद्धले इंगित गर्न खोजेको ज्ञान बिन्दु थियो ।
यही ज्ञानविन्दुबाटै स्याङ लोङको नयाँ जीवन सुरु हुन्छ । स्याङ लोङले आजभन्दा २० वर्षअघि नै गुरु खेम्बोच्चे आचार्य कमल मोक्तानबाट दीक्षा ग्रहण गर्दै थाङ्ग स्याङ यिन (गुरुमा) बनेकी थिइन् ।
ताइवानकी उनी नेपाल आएर दीक्षा लिनु र भिक्षुणी बन्नुमा गज्जबको धार्मिक सम्बन्ध छ । विगतमा पनि उनले आफ्नो पूर्वजन्मलाई सपनामा देखेर गुरु खोज्दै नेपाल आएकी थिइन । २० वर्षअघि नेपाल आएकी उनले आचार्य कमल मोक्तानबाट गुरु मन्त्र लिँदै दीक्षित भएकी थिइन् ।
त्यो बेलाको अनौठो संयोग थियो । जब उनी धार्मिक आस्थासँग जोडिन थालिन् उनले सपनामा गुरुलाई देख्न थालिन् । गुरुसँग सिकेका ज्ञानका कुरा सपनामै आउन थाले । अनि आफैँभित्र ज्ञान खोज्दै ज्ञानको संग्रहसँगै उनी गुरु खोज्न थालिन् । दैविक शक्ति स्वरुप सपनामा देखेका दृश्य र उनका साथीहरूले गरेको वर्णनले उनलाई नेपाल डोहोर्यायो । नेपालमा उनले धेरै साथीको सहयोगमा गुरु खेम्बोच्चे आचार्य कमल मोक्तानलाई भेटिन् । सपनामा देखेकी उनी गुरुको शरणमा पुगेपछि भावविह्वल बनिन् । आफ्नो एक जीवन पूर्ण भएको उनलाई भान भयो । अनि गुरुबाट दीक्षा लिइन् ।
उनीसँगै दीक्षा लिएका अहिले काठमाडौंको बालाजु बिहारका प्रमुखसमेत रहेका थुप्देन लामाले विगतको संयोगलाई अध्यात्मिक शक्तिका रुपमा स्मरण गरेका छन् ।
२० वर्षअघि दीक्षा लिएर आफ्नै स्वदेश फर्किएकी उनी गुरु प्रति समर्पित रहँदै आफ्नो ज्ञान, सीप, क्षमताको विकासमा लागिन् ।
आधुनिक बुद्धिजमको अध्ययन गरिरहेकी उनले आफ्नो अध्ययन अरुको भन्दा फरक रुपमा परिभाषित गर्दै लगेकी छन् । फरक क्रियाकलापबाट बुद्धिजम र बुद्धको ज्ञानलाई नेपाली भूमिका प्रयोग गर्ने योजना अनुसार गुरु दीक्षासँगै ताइवानमा काम गरिरहेकी उनले
पृथ्वीमा ‘कुङ फु योग’को आवश्यकता महसुस गर्दै एक अन्तरधार्मिक ‘आध्यात्मिक मानक’बाट बुद्धिजमको नयाँ यात्रामा जुट्ने प्रण गर्दै अघि बढिन् । उनको विश्वास छ । अब विश्वलाई चिन्ता र अनिश्चितताबाट मुक्त गराउन ‘कुङ फू योग’को नयाँ साधनाका क्षेत्रमा काम गर्नुपर्छ । यसरी भगवान गौतम बुद्धको ज्ञानको बिन्दु झै आफैँले आफैँलाई चिन्दै आफूभित्रको क्षमतालाई तिखार्नेक्रममा गुरुको स्मरणले फेरि नेपाल ल्यायो ।

त्यो समय उनका लागि प्रतिकूल बन्यो । आफूले दीक्षा लिएका गुरु खेम्बोच्चे आचार्य कमल मोक्तानलाई पाउन सकिनन् । गुरुले परिनिर्वाण प्राप्त गरिसकेको पनि उनलाई थाहा भएन । आफ्नो छोरोसँगको नेपाल यात्रा छोटो समयै टुंग्याएर उनी ताइवान फर्किन् । फेरि केही महिना अघि उनी नेपाल आइन् । बौद्ध धर्माबलम्बी साथीहरूको सहयोगमा गुरुको स्वयम्भूस्थित थेम्सुम छ्योफेल्लीङ गुम्बानै आफ्ना गुरुको निसानी रहेको पत्ता लागेपछि उनी यही गुम्बाबाट आफ्ना योजना र गुरुका सपना पूरा गर्ने योजना बुन्न थालेकी छन् ।
पाँच वर्षअघि गुरु खेम्बोच्चे आचार्य कमल मोत्तानले परिनिर्वाण प्राप्त गरेकाले पाँचौ पुण्य तिथीको अवसरमा २०८२ को कार्तिक १४ गते शुक्रबार गुरुप्रति समर्पित हुँदै भिक्षुणी बनिन् ।
भिक्षुणी बन्दाको क्षणले उनलाई पुलकित मात्र बनाएन । विश्वमा नयाँ सन्देश प्रवाह गर्ने क्षमताको विकास भएको पनि आत्मबोध गराएको छ । उनले भनिन्, ‘म यहाँ गुरुकै खोजीमा आएकी हुँ । आजको दिनले मलाई धेरै खुसी मिलेको छ । म यहाँ बुद्धको ज्ञानलाई व्यवहारिक बनाउने सोचमा छु ।’ नेपालमा बुद्धिजमको बारेमा आवश्यक ज्ञानका लागि चाहिने सूचना उपलब्ध गराउन र थाङ्ग स्याङ यिनको सोधखोजलाई नेपाली समूदायमा सहजीकरण गराउन पर्यटन व्यवसायी तथा भाषा अनुवादक प्रदीप भूर्तेलले सहयोग गरेका थिए ।
भिक्षुणी बनेकी उनले बुद्ध धर्म र बुद्धको ज्ञानलाई नेपाली भूमिमा व्यवहारिक तथा प्रयोगात्मक बनाउने सपना बोकेकी छन् । उनी विश्वका मानव जाति सुखी होउन् भन्ने कामना गर्दै विश्वमा नेपालबाट शान्तिको सन्देश छर्न चाहन्छिन् । अब आफ्नो गुरुले निर्माण थालेको थेम्सुम छ्योफेल्लीङ गुम्बालाई व्यवस्थित बनाउँदै नेपालमा बौद्ध धर्मावलम्बीले पढ्ने विद्यालय बनाउने र भिक्षुणी गुम्बा निर्माणको योजना बुन्न थालेकी छन् ।
उनी यतिबेला आफ्ना शिष्य तथा चेलाको साथमा छन् । ताइवानबाटै गुरुमाको सपना पूरा गर्न धेरै चेला आएका छन् । ती सबैको योगदान अब नेपालबाट बुद्धिजमको नयाँ अभ्यासलाई विश्वमा पुर्याउने रहनेछ । अशान्त विश्वलाई शान्तिको बाटोमा ल्याउन ‘कुङ फु योग’लाई विश्वव्यापीकरण गर्ने योजनाले फेरि नेपाली बुद्धभूमि विश्वको प्रिय बन्ने निश्चित छ।
यतिमात्र होइन नेपाल आफैँमा ज्ञानभूमि, शान्तिभूमि, देवभूमि भएकाले विश्वका मानिसलाई अध्यात्म ज्ञान प्राप्तिको सन्देशमा अर्को इट्टा हुनेछ ।
सरकारले विश्वका नागरिकलाई नेपाल घुमाउने अनेक योजना बनाइरहेका बेला धार्मिक आस्था बोकेर नेपाली भूमिलाई गुरु भूमि मानेर आएकी थाङ्ग स्याङ यिन (गुरुमा) प्रवर्द्धनको उचित पात्र बन्ने देखिन्छ । नेपालमा तपस्था गर्न आउने बौद्ध धर्माबलम्बी गुरु तथा शिष्यको अनुभव पनि नेपाली भूमि तपस्याको उर्भर भूमि हो । यो सन्देश थाङ्ग स्याङ यिन (गुरुमा) बाटै विश्वमा पुर्याउन सकिन्छ ।
बुद्धम् शरणम् गच्छामी
धम्मम् शरणम् गच्छामी ।
सङ्घम शरणम् गच्छामि।।।




प्रतिक्रिया