काठमाडौं उपत्यकामा कागमार्फत बर्डफ्लु व्यापक रूपमा फैलिएको पुष्टि भएको छ। पन्छीमा देखिने यो सङ्क्रामक रोग उपत्यकाका विभिन्न क्षेत्रमा फैलिनुमा सङ्क्रमित काग प्रमुख माध्यम बनेको पशु सेवा विभागले जनाएको छ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कुखुरामा देखिने बर्डफ्लुलाई नियन्त्रण गर्न अपेक्षाकृत सहज भए पनि कागमा देखिएको सङ्क्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ। उनले सङ्क्रमित कागले एक स्थानबाट अर्को स्थानमा उडेर रोग सार्ने भएकाले संक्रमणको दायरा विस्तार भएको बताए।
उनका अनुसार सदर चिडियाखानासहित उपत्यकाका विभिन्न क्षेत्रमा कागमार्फत संक्रमण फैलिएको देखिएको छ। कागमा देखिएको संक्रमण करिब २१ दिनसम्म सक्रिय रहने भएकाले त्यस अवधिमा रोग थप फैलिने जोखिम उच्च हुने उनको भनाइ छ।
डा. दाहालले मरेका काग कहाँ खसेका छन् भन्ने निगरानी गर्न कठिन हुने र त्यसबाट पनि संक्रमण फैलिन सक्ने बताए। साथै कागको दिसाबाट समेत बर्डफ्लु सर्ने जोखिम रहेको उनले उल्लेख गरे।
हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार देशभर ११ जिल्लाका १०० स्थानमा संक्रमण देखिएको छ।
यद्यपि, विभागले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहरा बाहेक अधिकांश क्षेत्रमा संक्रमण नियन्त्रणको चरणमा पुगेको जनाएको छ।
बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले निगरानी, जैविक सुरक्षा र संक्रमण नियन्त्रणका उपायलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।




प्रतिक्रिया