काठमाडौं: पछिल्लो समय केहि लामो बिदामा परिवार तथा साथीभाइसँग घुम्न जानेहरु नेपालीहरु बढ्न थालेका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् ।
नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन् । यदि तपाई एक हप्ते विदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी केही गन्तव्यका बारेमा जानकारी गराउँछौं ।

पोखरा
पर्यटकीय नगरी पोखरा घुमफिरका लागि आकर्षक गन्तव्य हो । विदाको समयमा पोखरा भ्रमणमा जाने स्वदेशी पर्यटकहरु प्रशस्त हुने गर्छन् । नयाँ वर्ष, दसैं तथा विदाको समयमा यहाँका होटलहरु भरिभराउ हुने गरेको व्यवसायीहरु बताउँछन् ।
पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुङ्गामा शयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ«े हिमाल पनि यहीँबाट देखिन्छ । पोखराको जुनसुकै ठाउँबाट उत्तरतर्फ सेता हिमालहरु देख्न सकिन्छ ।
पोखरामा घुमफिरका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, बेगनाश ताललगायतका मनमोहक ठाउँहरु रहेका छन् । सराङकोट यहाँको अर्को आकर्षण हो । सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायतको दृश्यावलोकन गर्न पाइन्छ ।
पछिल्लो समय पोखरा साहसिक खेलको गन्तव्यका रुपमा विकास भएको छ । सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नुको मज्जा बेग्लै रहेको छ । त्यस्तै, अल्ट्रालाइट उडान पनि पोखरामा गर्न पाइन्छ । पछिल्लो समय पोखरामा बञ्जी समेत सञ्चालनमा आएको छ ।

सौराहा
नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो, पोखरा । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित रहेको छ । यहा वर्षेनी लाखौं स्वदेशी विदेशी पर्यटकहरु पुग्ने गर्छन् ।
यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा, घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडा लगायतका जनावर देखिन्छन् । यसको अलवा यहाँ थारु कल्चर समेत अवलोकन गर्न सकिन्छ ।
नारायणगढबाट नजिकै रहेको सौराहामा दसैं तिहारलाई लक्षित गरेर होटल व्यवसायीहरुले आकर्षक प्याकेज समेत ल्याएका छन् । करिव ५ हजार रुपैयाँमा २ रात तीन दिन सौराहा घुम्न पाइने छ ।
एक हप्ते विदामा सौराहा उत्तम गन्तव्य हुनसक्छ । यहाँ सामान्य होटलदेखि स्तरीय होटलसम्म सञ्चालनमा रहेका छन् ।

लुम्बिनी
गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । बिदा मनाउनका लागि लुम्विनी उत्तम हुनसक्छ । भैरहवाबाट नजिकै रहेको लुम्बिनी विश्वभर चर्चित रहेको छ ।
पछिल्लो समय विदेशीमात्र होइन नेपालीहरुको लुम्बिनी बाक्लो उपस्थिती देखिन थालेको छ । यहाँको प्रमुख आकर्षण भनेको मायाँदेवी मन्दिर हो । अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका छन् । सबैभन्दा राम्रो गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ ।

दामन
मकवानपुरको दामन पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । राजधानीबाट नजिक रहेको दामनमा राम्रा राम्रा होटल तथा रिसोर्ट समेत खुलेका छन् ।
कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृश्यावलोकनका लागि परिचित रहेको छ । अग्लो स्थानमा रहेको दामनबाट सुन्दर हिमाल, बनजंगल, स्थानिय संस्कृतिको अवलोकन गर्न पाइन्छ ।

नगरकोट
काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ । बस्नका लागि सस्तादेखि महंगा सबैखाले होटलहरु यहाँ रहेका छन् ।
नगरकोटबाट काठमाडौं उपत्यकाको शुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

बन्दीपुर
तनहुँको बन्दीपुर पुरानो बजार हो । पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकमा पर्न सफल भएको छ । डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा स्वदेशी विदेशीको बाक्लो भिड लाग्ने गर्छ ।
यहाँको आकर्षण भनेको नेवारी वस्ती र सुन्दर दृश्यावलोकन नै हो । यहाँबाट तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ । वातावरणका हिसावले पनि यो ठाउँ उत्तम रहेको छ । बिदामा बन्दीपुर गएर परिवार तथा साथीभाईसँग मज्जाले रात विताउन सकिन्छ ।

घलेगाउँ
लमजुङको घलेगाउँ ग्रामिण पर्यटनका लागि प्रशिद्ध ठाउँ हो । होमस्टे मार्फत सेवा दिने घलेगाउँमा आतिथ्य सत्कार लोभलाग्दो छ । घलेगाउँ एकपटक पुग्नैपर्ने ठाउँ हो । यातायातको सुविधा पुगिसकेको घलेगाउँमा खान बस्नका लागि सुविधा रहेको छ ।
घलेहरुको वस्ती रहेको घलेगाउँमा बिदामा भ्रमणका लागि उत्तम गन्तव्य हो । एकपटक घलेगाउँ पुगेको मानिस त्यहाँको प्राकृतिक सुन्दरता, त्यहाँको बस्ती, त्यहाँका मानिसको आतिथ्य सत्कारका कारण जिन्दगीभर भुल्न सक्दैन ।

जोमसोम/मुक्तिनाथ
हिमाली जिल्ला मुस्ताङको राजधानी जोमसोम र त्यहाँ रहेको मुक्तिनाथ मन्दिर विश्वभर चर्चित रहेको छ । वर्षेनी लाखौं हिन्दू र बौद्धधर्मालम्बीहरु यहाँ पुग्ने गर्छन । यहाँको प्राकृतिक दृश्यावलोकनका लागि लाखौं पर्यटकहरु जोमसोम पुग्ने गरेका छन् ।
हवाई तथा यातायात दुबै सुविधा पुगिसकेको मुक्तिनाथ बिदा मनाउन जाने उपयुक्त ठाउँ हो । यो महिना पनि त्यहाँ जानका लागि उत्तम मानिन्छ । तेस्रो विश्वका रुपमा हेरिने सुन्दर भ्याली लोमान्थाङ पनि मुस्ताङमै पर्छ ।

धनगढी
सुदूरपश्चिमको धनगढी पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । यहाँ पनि स्तरीय तारे होटलहरु खुल्न थालिसकेका छन् । यहाँ जहाज तथा सडक दुबैबाट पुग्न सकिन्छ ।
धनगढी पुगेपछि कर्णाली नदीमा रहेको एशियाकै सबैभन्दा लामो झोलंगे पुल, ५५ किलोमिटरको दुरीमा रहेको शुक्लाफाँटा बन्यजन्तु आरक्ष लगायतका ठाउँहरु घुम्न पाइन्छ ।

जनकपुर
धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ । पछिल्लो समय स्तरीय होटलहरु खुलिरहेको जनकपुरमा दसैं विदा मनाउनका लागि उत्तम गन्तव्य हुन सक्छ ।
प्रतिक्रिया