ताप्लेजुङ पाथिभरा


नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरा ताप्लेजुङमा पर्दछ । अन्न भरिएको पाथीजस्तो देखिने ताप्लेजुङको डाँडालाई पाथिभरा (३,७९४ मिटर) का नाउँले चिनिएको छ । त्यहाँबाट कुम्भकर्ण, कञ्चनजंघा हिमशृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र लिम्बुहरुको बहुल्यता भएको क्षेत्र हो । कुम्भकर्णलाई लिम्बूहरू फक्ताङलुङ भन्छन् ।

पाथिभरामा सिंहवाहिनी देवीका मूर्ति छन् । पाथिभरा दर्शन गरे जन्मै हातखुट्टा नचल्नेका पनि हातखुट्टा सल्बलाउँछने, दृष्टिविहीनका आँखामा ज्योति भरिने, निःसन्तानलाई सन्तानलाभ हुने, गरिब धनी हुने, शत्रु निर्बल हुने, मित्र पुनःमिलन हुने,पढाइमा सफलता मिल्ले जनविश्वास रहेको छ ।

मन्दिरमा पहिले पुजारी बस्दैनथे । ०५७ सालदेखि बस्न थालेका छन् । चढाइएको भेटी पुजारीले पाउँदैनन्। समितिको खातामा जान्छ । पुजारीलाई तलब दिएर राखिएको छ ।

कुन समय जान राम्रो

फागुनदेखि कात्तिकसम्म पाथिभरा दर्शन राम्रो मानिन्छ । असोज–कात्तिकमा हिमाल झलमल्ल टल्किन्छन् । डाँडामा आठ वटा धर्मशाला छन् । पानीको दुःख भएकाले तीर्थालु बस्दैनन् । दिउद महिनामा अत्यन्त जाडो हुने गर्दछ ।

कान्छीथानदेखि सेतो धागो टाँग्दै मन्दिरसम्म पुर्‍याउने चलन छ । यसो गर्दा आफ्नो आयु लामो हुने विश्वास गरिन्छ । पाथिभरामा भारतको आसाम, मणिपुर, मेघालय, गुवाहटी, सिक्किम, भुटानदेखिका दर्शनार्थिहरुआउने गर्दछन् ।

कति समय लाग्छ

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि १९ किलोमिटर दुरीमा छ मन्दिर । सुकेटार विमानस्थलसम्म सडक पक्की छ । फुङलिङबाट हिँडेर जान १०–१२ घन्टा लाग्छ । ठाउँ–ठाउँमा खानेरबस्ने सामान्य होटहरु छन् । १६ किमि पर भालुगौंडेसम्म रिर्जभ जीप जान्छ । फेदीभन्दा माथि होटल छैनन् । फेदीबाट दुई घन्टा उकालो बिस्तारै हिँड्नुपर्छ ।

के पाईन्छ

फुङलिङ र सुकेटारमा राम्रा होटल छन् । फुङलिङ, सुकेटार जताततै तोङबा पाइन्छ । चिसोमा तोङबा मिठो हुन्छ । छुर्पी, चौंरीको घ्यु, गलैंचा, राडीपाखी, मह, ढाका कपडा, सुकुटी, अकबरे खुर्सानी, सिमी, गुन्द्रुक, सिन्की त्यहाँका कोसेली हुन ।

बेलायती वनस्पतिविज्ञ जेडी हुकर पहिलो पर्यटकका रूपमा सन् १८४८ मा ताप्लेजुङ पुगेको बताईन्छ । वर्षमा दुई लाख भन्दा बढी तीर्थालु यहाँ पुग्ने गर्दछन् ।

पाथिभरामा बढि चिसोहुने भएकाले बाक्लो लुगा लागउनु पर्दछ । एक साता यात्रा गर्न १५ हजार रुपैयाँले पुग्छ । यसले काठमाडौंदेखि दोहोरो बसभाडा तिर्न र खाना र बास्न पुग्छ । दशैको समयमा विर्मामोडबाट एक ट्राभल्सएजेन्सीले हेलिकप्टर सेवा पनि संचालन गरेको छ ।

कसरी पुग्ने

काठमाडौं–बिर्तामोड बसमा १२ घन्टा लाग्छ । । बिर्तामोडबाट बिहान साढे चार बजेदेखि १० बजेसम्म बस पाइन्छ । फुङलिङ पुग्न १० घन्टा लाग्छ । फुङलिङबाट भालुगौंडेसम्म जीपमा र त्यहाँबाट तीन घन्टा पदयात्रामा पाथिभरा पुगिन्छ । काठमाण्डौ–सुकेटार हवाई यात्राबाट पनि ताप्लुजुङमने पनथीभरा पुग्न सकिन्छ ।