काठमाडौं । जलवायु अनुकूलन हुने गरि प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न समुदायले अपनाएका स्थानीय, परम्परागत र आदिवासी ज्ञान र अभ्यासको दस्तावेजीकरण गर्ने उदेश्यले नेपालका चुरे क्षेत्रमा एक दिने कार्यशाला सम्पन्न भएको छ । कोशी प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही तथा बागमती प्रदेशको सिन्धुलीसहित ११ जिल्लाभित्र पर्ने ११३ पालिकाका २६ नदी प्रणालीसँग जोडिएर सचेतनामूलक अनुभव आदानप्रदानसहितको कार्यशाला गोष्टि सञ्चालन गरिएको हो। २६ नदी प्रणालीसँग जोडिएर सञ्चालन गरिएका १०५ कार्यशालामा स्थानीय समूदायले जलवायु अनुकूलन हुने गरी सञ्चालन गरेका परम्परागत, प्रथाका रुपमा सञ्चालन गरिएका, पुस्तानान्तरण भएका ज्ञान र अभ्यास छलफलका विषय बनेका थिए ।
नेपाल सरकार र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन Food and Agriculture Organization -FAO को संयुक्त प्रयासबाट स्थापना भएको वन तथा वातावरण मन्त्रालय मातहतको चुरे उत्थानशील आयोजनाको नेतृत्वमा हरित जलवायु कोष Green Climate Fund -GCF) को आर्थिक साझेदारीमा सञ्चालित कार्यशालाको सहजीकरण तथा परामर्शदाता पाटर्नरका रुपमा ग्रामीण पूर्वाधार तथा व्यवस्थापन परामर्शदाता (RIMC) प्रालीले काम गरेको थियो । यो गोष्टिमा परम्परागत र आदिवासी जनजातिहरूको ज्ञान तथा अभ्यासको दस्तावेजीकरण सम्बन्धि छलफल गरिएको छ।
कार्यशालाबाट कोशी प्रदेशका पाँच जिल्लाका १३ नदी प्रणाली, मधेस प्रदेशका पाँच जिल्लाका आठ नदी प्रणाली र बागमती प्रदेशको एक जिल्लाबाट पाँच नदी प्रणालीसँग जोडिएका दुई लाख ६८१ मानिस प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
कोशी प्रदेशका पाँच जिल्लाका १३ नदी प्रणाली मेची, कनकाई, बिरिङ, रतुवा, लोहन्द्रा, बक्रहा, बुढी, कोकहा, पटनाली, सुनकोशी, गिदेरी, अंधेरी-बरुवा-द्वार, तवा खोला (दक्षिण भाग) को आसपासका स्थानीय बासिन्दासँग जीवनशैली र काम गर्ने प्रणालीबारे छलफल गरिएको छ।
झापाको शिवसतासी-७ का भक्तबहादुर भुजेल वृद्धअवस्थामा पनि डोको नाम्लो बुन्ने गरेका छन् । पहिले व्यवसायिक रुपमा बाँसबाट आवश्यक समग्री बनाउने उनी अहिले अडर आएपछिमात्र काम गर्छन् । उनलाई श्रीमतीले काम सघाउँछिन् । उनको चिन्ता छ आफ्ना सन्ततीलाई आफूले सिकेको सीप सिकाउन सकिएन ।
स्थानीयले माटोमै बिउ जोगाएर पर्वलको खेती गर्ने गरेका छन् । लखन मादीले गरेको पर्वल खेती आफ्नै परम्परागत सिकाइबाट हुने गरेको छ । भन्छन्,‘हामीले नयाँ कुरा गरेका छैनौँ पहिले देखि गरिआएकै काम यही हो ।माटो नसुकोस भनेर परालले छोप्छौँ । त्यही पराल कुहिएर मल बन्छ ।
विसादीको साटो यहाँ खेतीमा किराको आक्रमण नहोस् भनेर अगरबत्ती बाल्ने परम्परा छ । अनि महिनावारी भएको समयमा बारीमा पस्न नहुने मान्यतालाई पनि आत्मसाथ गरेर नियम पालना गर्ने गरिएको छ।
यहाँका स्थानीयले मौसम अनुकुल हुने गरी आफूहरू बस्ने गुन्द्री तयार गर्ने गरेका छन् । फूलमति मादीका अनुसार मिनाहाबाट बन्ने गुन्द्रीले गर्मीमा सितलता प्रदान गर्छ भने जाडोमा न्यायोको आभास गराउँछ। सँगै सुनपाटको प्रयोग गरी बस्ने खटिया तयार गर्ने गरिएको छ।
माइधार नदी किनारका बासिन्दाले पुरानो धागो काट्ने चर्खाको प्रयोग गरिरहेका छन् । विशेष गरी जनै बनाउन प्रयोग गरिए पनि अहिले पुस्तानान्तरण नहुँदा चर्खाको प्रयोग नै ओझेलमा परेको छ।
पहिले दैनिकीसँग जोडिने दुना टपराको काम अहिले पर्व तथा विभिन्न कार्जेमामात्र सीमित भएको छ ।
स्थानीयले पहिलेदेखिनै उर्धपातनविधिको प्रयोग गरी रक्सी बनाउने गरेका छन् । रक्सी बनाउन परम्परागत विधि नै प्रयोग हुन्छ । जसका लागि आवश्यक मर्चा जडिबुटीबाट तयार गरिन्छ ।
दानाबारी क्षेत्रका स्थानीयले औषधीय गुण भएका वनस्पतीको उचित प्रयोग गर्न नसक्दा त्यतिकै नास भएर जाने बताए ।
मानिस र जंगली जनावरबीचको द्वन्द्व बढेका बेला बाहुनडागीमा भने जनावरमैत्री नीतिलाई अवलम्बन गर्न थालिएको छ। जंगली हात्तीको क्षति न्यूनीकरण गर्न गरिएको अध्ययनमा मानिसले हात्तीको रिस नगरी बालीको माया गरेको थाहा पाएपछि स्थानीय सरकारले हात्तीले क्षति नगर्ने बाली लगाउने काम अघि बढाएको छ।
हात्तीले खाने बाली लगाउँदा पनि धपाउन विभिन्न रंगीविर्गीका कपडाले बारी घेरेर हात्ती तर्साउने गरिएको छ।
स्थानीयले आफूलाई चाहिले दैनिक प्रयोजनका सामग्री आफैँ नै बनाउँदै आएका छन् । (ज्यामिरगढी) उर्जा तथा दाउराका रुपमा गोबरका गुइँठा तथा पराल र गोबरबाट बनाउने गरेका छन् ।
मधेस प्रदेशका पाँच जिल्लाका आठ नदी प्रणाली बिहुल, खाडो, बताहा, बलान, चारनाथ, कमला-बेलसोत-जोगिया, रातु, लखनदेही नदी आसपासका स्थानीय बासिन्दाहरुसंग छलफल गरिएको थियो । स्थानीयसँगको भेटघाट र छलफलका क्रममा मधेसका किसानलाई जलवायु परिवर्तनको असरले अहिले नै क्षति गर्न थालेको देखिएको छ । माटोको उर्भराशक्ति कम हुँदा उत्पादन घटेको छ । सिँचाइको परम्पारगत प्रणालीले काम गर्न छोडेको छ । पहिले कुवा खनेर पानी सञ्चित गरी सिँचाइ गर्ने गरिए पनि अहिले यो प्रणाली निस्प्रभावी देखिएको छ ।
तर अझै पनि प्रकृति प्रतिको भरोसा कायमै छ । प्रकृतिको पूजाले नै आफ्नो बालीनाली सप्रिने विश्वाससहित स्थानीयले वरपिपलमा पानी चढाउने, तुलसी रोप्नेसहितका कामले केही राहत मिल्ने विश्वासका साथ काम गरिरहेका छन् ।
बागमती प्रदेशअन्तर्गतको सिन्धुलीको पाँच नदी प्रणाली ठाकुर, चडाहा, तावा खोला-उत्तर, कमला नदी-उत्तर, कमला नदी – दक्षिण खोलाको आसपासका स्थानीयसँगको छलफलले परम्परागत प्रणाली जारी रहेको आभास मिलेको छ । स्थानीयलाई कटान रोक्न जालीभन्दा राम्रो बाँस, अम्बिसो रोपेर, भकारी बाँधेर बनाएको हरिायलीले फाइदा पुर्याएको छ ।
बाँस किनेरै भएपनि प्लास्टिकलाई विस्थापन गर्ने गरी चोयाबाट मान्द्रो, पंखासहितका सामग्री तयार गर्ने गरिएको छ । (तावाखोला नर्थ) दुधौली
सिन्धुलीको नदी तटीय क्षेत्रमा वातावरण अनुकुलित हुने गरी झिगटीले घर छाइएको छ । जसले गर्मीमा सितलता तथा जाडोमा न्यायो प्रदान गर्दछ । सँगै स्थानीय महिलाले नदी किनारमा भेटिने पत्ता कासबाट बस्ने पिरा बनाउने गरेका छन् । विगतमा राम्रो अभ्यास भए पनि अहिले यो लोप हुँदै गएको छ ।
माछा मार्न पनि स्थानीय परम्परागत विधि नै अपनाउने गरेका छन् । त्यसका लागि बाँसबाटै बनेका सामग्री प्रयोगमा ल्याउने गरिएको छ ।
यो क्षेत्रका बासिन्दाले सकेसम्म बालीनालीमा रसायनिक मलको प्रयोग गरेका छैनन् । विषादीको प्रयोगले मानिस बिरामी हुन्छन् भन्ने सुनेर नै मलमा गाइबस्तुको गोबर प्रयोग गर्ने गरेको उनीहरूले सुनाए। अनि धानको बिउ राख्ने तथा गोडमेल गर्ने पनि धेरै पुरानै विधिको प्रयोग गरेको पाइएको छ।
स्थानीयबासीसँगको अन्तर्क्रियात्मक गोष्टीमा नेपालको चुरे क्षेत्रमा जलवायु परिवर्तनले निम्तयाएको असर, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकुलनका लागि अब खेल्नुपर्ने भूमिकाका साथै जल, जंगल, जमिन, र वरपरको वातावरणको संरक्षण र उपयोगका विषयमा छलफल गरिएको छ । जसबाट वातावरण संरक्षणमा टेवा पुग्नुका साथै वन तथा वातावरणीय सुधारका साथै बढ्दो जलवायु परिवर्तनको असरसँग जुद्न साथै अनुकुलन हुन् मद्दत पुग्ने अपेक्षा लिइएको छ।
हरित गृह कोषको आर्थिक सहयोग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको प्राविधिक सहयोगमा सन् २०२० देखि सन् २०२७ सम्म सात वर्ष सञ्चालन हुने चुरे उत्थानशील आयोजनाको पहिलो दुई वर्ष प्रारम्भिक चरणको कार्य सम्पादन भएको छ भने बाँकी पाँच वर्ष सञ्चालन हुने कार्यन्वयन चरणको काम अन्तर्गत सञ्चालित कार्यशाला गोष्टीले समुदायहरूले अपनाएका स्थानीय, परम्परागत र आदिवासी ज्ञान र अभ्यासहरूको दस्तावेजीकरणमा महत्वपूर्ण कार्य हुने अपेक्षा आयोजनाले लिएको छ।
प्रतिक्रिया