वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजाधानी सुर्खेतको वीरेन्द्रनगर पश्चिम नेपालकै एक नमुना विकसित सहर बनेको छ। पछिल्लो समय विकासको गतिमा लम्किरहेको वीरेन्द्रनगर नगरपालिकाले पैदल यात्रु र सवारीको चाप बढी हुने क्षेत्रका सडकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याएको छ।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरका मुख्य चोकहरूमा ट्राफिक बत्ती जडानको कार्य आरम्भ गरेको हो। जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित मुख्य बजार क्षेत्र वीरेन्द्र चोकबाट ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो। आवश्यक प्राविधिक परीक्षणपश्चात् जडान गरिएका बत्ती नगरप्रमुख मोहनमाया ढकालले जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिन्। ई–थ्री सेल्स एन्ड सर्भिसेज प्रालि काठमाडौंले २४ लाख ७५ हजार पाँच सय ८० रुपैयाँमा ठेक्का लिएर निर्माण गरेको हो। जसमा पैदल यात्रु तथा सवारी चाप बढी हुने रत्न राजमार्गअन्तर्गत यरिचोक, मंगलगढी चोक, एयरर्पोट चोकमा सडक विभाग र मूलपानी चोक, दैलेख रोड चोकलगायतका क्षेत्रमा नगरपालिकाले ट्राफिक बत्ती जडान गर्नेछ।
ट्राफिक बत्ती जडान भएसँगै अब सवारीले मात्रै होइन, यात्रुलेसमेत जथाभावी बाटो काट्न पाउने छैनन्। ट्राफिक लाइट हस्तान्तरण कार्यक्रममा नगरप्रमुख ढकालले सुर्खेतको वीरेन्द्रनगरलाई पश्चिम नेपालकै एक सु–व्यवस्थित सव्यताको सहरका रूपमा विकास गर्ने अभियान थालिएको बताइन्।
उनका अनुसार प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापलाई मध्यनजर गर्दै आवश्यक सडक सुरक्षाका उपायहरू अवलम्बन गर्न लागिएको छ। राजधानी केन्द्रित ट्राफिक लाइट, रोड मार्किङ, धर्म काँटा, चोक सुधार, फूटपाथ व्यवस्थापन, सीसी क्यामेरा, हाई मास लाइट, आईटी जोन जस्ता सहरी पूर्वाधार निर्माणका लागि १२ करोड बिनियोजन गरिएको छ। ढकालले भनिन्, ‘नगरपालिकामा नागरिकका तर्फबाट आएका मागलाई सम्बोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्थापन भएको छ।’ उनले उपत्यकाका विभिन्न स्थानमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै झण्डै तीन सय बढी सीसी क्यामेरा जडान गर्न लागिएको जानकारी पनि गरिन्।
मंगलगढी चोकमा आकाशे पुल बन्दै
वीरेन्द्रनगर नगरपालिकाले आगामी २०८३ असारसम्म यात्रु र सवारीको उच्च चाप हुने मंगलगढी चोकमा आकाशे पुल निर्माण सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाएको छ। नगरप्रमुख ढकालका अनुसार आगामी वर्ष रत्न राजमार्गमा भइरहने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न मंगलगढी चोकमा आकाशे पुल निर्माण गर्ने ठेक्का प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्। यसका लागि दुई करोड बजेट व्यवस्थापन गरिएको छ। उनका अनुसार दोस्रो चरणमा यरीचोक, पिपिरा चोकलगायतका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिइनेछ।
मंगलगढी चोकमा स्टिल संरचनाको पैदलयात्री आकाशे पुल निर्माण गर्नका लागि नगरपालिकाले बोलपत्र आह्वान गरेको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले भने, ‘सोमबार प्रकाशित सूचनामार्फत नगरपालिकाले राष्ट्रियस्तरका योग्य निर्माण व्यवसायीहरूलाई बोलपत्र दिन आग्रह गरेको हो। करिब १६ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण हुने अनुमान गरिएको छ। यसले सडकमा हिँड्ने पैदल यात्रुहरूका साथै यातायात व्यवस्थापनमा निकै सहयोग पुग्नेछ।’
एक वर्षभित्र नगर बस सञ्चालनको तयारी
वीरेन्द्रनगरले नगरको यातायातलाई भरपर्दो र सर्वसुलभ बनाउन आगामी वर्षमा नगर बस खरिद गरी सञ्चालन गर्न दुई करोड बजेट व्यवस्थापन समेत गरेको छ। आगामी वर्ष नगरपालिकाले उक्त बजेटबाट आफ्नै नगर बस खरिद गरेर सञ्चालनमा ल्याउन लागिएको योजना रहेको नगरप्रमुख ढकालले बताइन्। वीरेन्द्रनगरको नगर गौरवको आयोजना घण्टाघर पार्क निर्माण, घण्टाघर दक्षिणतर्फ पार्क तथा पार्किङ निर्माण, गोदामलाइनमा पार्किङ निर्माण तथा फुटपाथ व्यवस्थापन कार्य आगामी वर्षमा सम्पन्न गरी पर्यटन पूर्वाधार तथा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ।
वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै बढ्दो जनघनत्व र सवारी चापका कारण अधिकांश क्षेत्रका सडक पार गर्न पैदल यात्रुलाई जोखिम मोल्नुपर्ने बाध्यता छ। ट्राफिक लाइटसँगै आकाशे पुल निर्माण गरिए वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापन चुस्त हुने अपेक्षा गरिएको छ। अहिले वीरेन्द्रनगरमा सञ्चालन भइरहेका अटो रिक्साहरूलाई व्यवस्थित रूपमा सञ्चालनका साथै नगरपालिकाले सार्वजानिक यातायात सञ्चालन गरेपछि बजारमा आउजाउ गर्ने नागरिकहरूलाई स्थानीय यातायात सेवामा सहजता हुनेछ।
वीरेन्द्रनगरको जल जोगाउन बन्यो गुरुयोजना
वीरेन्द्रनगर नगरपालिकामा उपत्यकाको भूमिगत पानीको मुख्य स्रोत व्यवस्थापन गर्न गुरुयोजना निर्माण गरिएको छ। उपत्यका भएर बग्ने नेवारे, इत्राम, खोर्के, सोलीघोप्टे र आँपडाली खोला हुन्। यी खोलासँगै उत्तरी क्षेत्र गढीदेखि सिद्धपाइला र जर्वुटाको डाँडासम्मको संरक्षित सामुदायिक वनमा पर्ने पानी नै उपत्यका भएर बग्छ। अन्य समयभन्दा वर्षात्मा उत्तरी क्षेत्रको पानी सिधै बाढीका रूपमा बगेर आउँदा उपत्यकाको तलो क्षेत्र र खोला किनारामा क्षति पुर्याउछ। वीरेन्द्रनगरमा सर्वाधिक पानी सन् २०१४ मा परेपछि ठूलो मानवीयसँगै धनको क्षति पुगेको थियो।
५१ वर्षपछि सुर्खेत उपत्यकामा ४ सय २३ दशमलव १ मिलिमिटर वर्षा मापन भएको रकर्ड छ। वीरेन्द्रनगरमा त्योभन्दा अघि सन् १९८६ मा २ सय ८१ दशमलव २ र १९६३ मा ३ सय ७६ मिलिमिटर वर्षा मापन भएको रेकर्डमा देखिन्छ। खानेपानीको दीर्घकालीन समाधान नहुँदा उपत्यकाको भूमिगत पानीको स्रोत सकिदैछ। बढ्दो सहरीकरण र विकासका कामलाई रोक्न नसकिने भएकाले उपत्यकाको भूमिगत पानीको स्रोत बढाउन भू तथा जलाधार व्यवस्थापन कार्यालयले उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गरेको हो।
वीरेन्द्रनगरको निकास खोलामा पानी बगेर आउने उत्तरतर्फको क्षेत्रलाई समेटेर गुरुयोजना निर्माण गरिएको छ। वीरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनाललेले भने, ‘हाल सञ्चालन गरिरहेका गतिविधिभन्दा उपत्यकाको भूमिगत पानीको दीर्घकालीन समाधान गर्न कार्यालयले गुरुयोजना तयार गरेको हो। यसका लागि उत्तरी क्षेत्रमा रिचार्ज पोखरी र खोलाहरूमा साबा ड्याम निर्माण गर्नुपर्ने गुरुयोजनाले समेटेको छ। गुरुयोजनाले उत्तरी क्षेत्र र उपत्यकामा गर्नुपर्ने दीर्घकालीन संरचनाहरू कसरी निर्माण गर्ने भन्ने समेटेको छ।’
बाढीपहिरो, विपत् व्यवस्थापन, नदी खोलाको सीमांकन गर्न र पानीका मुहानको पहिचान गर्नका लागि जलाधार संरक्षण गुरुयोजना बनाइएको छ। वीरेन्द्रनगर नगरपालिकाको १, ४, ५ ७ र १२ वडाको माथिल्लो भागलाई समेटेर गुरुयोजना निर्माण गरिएको छ। कति जल संरक्षण गर्ने, कति पानीका मुहानको संरक्षण गर्ने, पानीका मुहान कहाँ–कहाँ छन् ? पत्ता लगाउने, ती मुहानको व्यवस्थापन र उपयोग कसरी गर्न सकिन्छ भन्ने निर्धारण गुरुयोजनामा गरिएको छ। गुरुयोजना पूर्ण कार्यान्वयनका लागि कम्तीमा ६० करोड बजेट खर्च हुनेछ।
प्रतिक्रिया