संखुवासभाः खुट्टामा हिरो चप्पल, सामान्य कपडाले शरिर ढाकेका बालिकाहरु बाटोभरी चामलका बोरा बोक्नेको ताँती भेटिन्छ । आफ्नै साथीसँग उनीहरुकै भाषामा बोल्दै जिस्कँदै ३० किलोग्रामदेखि ५० किलोग्रामसम्मको चामल संखुवासभाको सित्तलपाटीको हेलुवादेखि नाम्लोकै भरमा बोकेर घर पुर्याउछन् ।
जिल्लाको भोटखोला पछिको दुर्गम क्षेत्र मांतेवा, ताम्कु, वाला र सिसुवाखोलाका बालिकाहरुको दैनिकी यसरी नै चामल, नुन, तेलको भारी गाउँ पुर्याउने र गाउँबाट उत्पादित जडिबुटी, अन्न खाँदबारीसम्म ल्याउदैमा बित्छन् । गाउँका स्थानीयबासी तथा घुम्न आउने पर्यटकका लागि खुवाउने सम्पूर्ण सामान यसरी नै बोकेर निश्चित गन्तव्यसम्म पुर्याउने गरिन्छ ।
कोही विद्यालय भर्ना नै नभएका र केही कक्षा अध्यन गरी बीचैमा पढाइ छाडेका भेटिन्छन । गाउँमा विद्यालय छ पढेर भाइबहिनी पाल्न पर्यो माइतीहरुले मात्र काम गरेकाले पुग्दैन बाँच्नकै लागि पनि भारी बोक्नु पर्छ उनीहरुले एकै स्वरमा भने ।

३० किलोग्रामको भारीसँग बाटोमा भेटिएकी सिसुवाखोला–२ की १६ वर्षकी सुनिता राई भीमसेन निम्नमाध्यमिक विद्यालयमा कक्षा–८ की विद्यार्थी हुन । उनी कमै मात्र विद्यालय जान्छिन् ।
उनीसँगै काम गर्ने छिमेकी दिदी २२ वर्षकी बिष्णु राईले पनि सोही विद्यालयमा कक्षा ६ सम्म अध्ययन गरेर बीचमै विद्यालय छोडिन । उनलाई विद्यालय जाने रहर भएपनि पारिवारिक बाध्यताका कारण विद्यालय जान नसकेको दुखेसो सुनाउँछिन् ।
उनले भनिन्–‘काम नगरी खान पाइदैन । त्यसैले स्कुल जान पाउँदिन, भारी बोकेर पैसा कमाउने गरेकी छु ।’ जीवन जिउनकै लागि उनीहरु बिहान बेलुकी नै भारी बोक्ने गर्छन ।
सिसुवाखोला गाविसका सचिव गोपिसम्सेर राईका अनुसार सानै उमेरदेखि काम नगरे यस क्षेत्रमा हातमुख जोड्नै समस्या छ । आधारभूत र निःशुल्क शिक्षा, विद्यालय भर्ना अभियान प्रभावकारी बनाउन राज्यले थप कार्यक्रम ल्याउनु पर्ने आवस्यकता रहेको उनले बताए ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख सुनिता सुवेदीले पनि विद्यार्थीलाई विद्यालय छोड्ने अवस्था आउन नदिन थप विशेष कार्यक्रम बनाउने योजना रहेको बताइन् । यस क्षेत्रमा बालबालिकालाई विद्यालय पठाउन र पोषण खानेकुरा बारे ज्ञान दिन र अभिभावकलाई बालबालिका प्रति पढाइमा प्रोत्साहन गर्न थप पहल गर्नु पर्ने आवस्यकता रहेको सुबेदीको भनाई छ ।
यता वाला याम्दाङ माध्यमिक विद्यालयमा कक्षा–६ सम्म अध्ययन गरी बीचचैमा पढाई छाडेकी सिसुवाखोला–१ छुदाककी १८ वर्षकी प्रमिला राई, घरयासी समस्याले दिक्क भए पछि पढ्न छाडेको बताइन । उनका दिदी र दुई जना भाइ छन् । ‘दिदीले पढेन, मैले पनि पढ्न छाँडे हामीले काम गर्न थालेपछि भाइहरुले पढ्न पाएका छन्’, प्रमिलाले भनिन् ।
बाटोमा भेटिएका उनीहरुले सिसुवाखोला–२ का बिर्खराज राईको विवाहका लागि आवस्यक खाद्यन्न बोक्न हेलुवाबेसी आएको बताए । त्यस्तै गाउँमा पसल तथा घुम्न आउने मानिसलाई खुवाउने सम्पूर्ण सामानहरुका लागि पनि उनीहरुले भरियाको काम गर्दै आएको उनीहरुले सुनाए ।
कालिका माध्यमिक विद्यालय सिसुवामा कक्षा–१० मा अध्यनरत सिसुवाखोला–२ की १९ वर्षकी साजना राईले आफ्ना परिवारमा दुई दिदी र एक भाइ भए पनि सबैले खेति गर्ने र भारी बोकेर भए पनि पढाइ खर्च जुटाउने गरेको बताइन ।

सोही गाउँकी २० वर्षकी सविता राई पाँच बर्ष अघि वीरेन्द्र उच्च माध्यमिक विद्यालय कुलुङमा कक्षा–१० सम्म अध्ययन गरेको तर गरिबीकै कारण पढाइलाई निरन्तरता दिन नसकेको बताइन । उनले भनिन्–‘तीन दाजु, एक बहिनी छन् । दाजुहरुले गरेको मेहनतले घर नचल्ने भए पछि म पनि मजदुरी गर्न थालेकी हुँ ।’
प्रतिक्रिया