ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या आइतबार घटेको छ। आइतबार दुई हजार ३५५ जनाले पाथीभराको दर्शन गरेका छन्। शनिबारको तुलनामा यो सङ्ख्या एक हजार ९५४ ले कम हो।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए। दशैंको नवरात्रयता शनिबार पाथीभरामा दर्शन गर्ने भक्तजनको सङ्ख्या सबैभन्दा बढी रहेको समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा दर्शन गर्न नेपालका विभिन्न जिल्लाबाट भक्तजन आइरहेका छन्। भारतको सिक्किम र दार्जिलिङलगायत स्थानबाट समेत भक्तजन आउने गरेको उनले जानकारी दिए।
पाथीभरा दर्शनका लागि यातायातका साधनमार्फत काफ्लेपाटीसम्म सहजै पुग्न सकिन्छ। त्यहाँबाट करिब पाँच किलोमिटर उकालो पैदलमार्ग पार गरेपछि मन्दिर पुगिन्छ। पैदल हिँड्न कठिनाइ हुने तीर्थयात्रीका लागि सहयोगीको व्यवस्था पनि छ। सहयोगीले काफ्लेपाटीदेखि धामसम्म र दर्शनपछि धामबाट काफ्लेपाटीसम्म बोकेर पुर्याउने गर्छन्। यस सेवाका लागि प्रतिकिलो दुई सय रुपैयाँ शुल्क लिने गरिएको छ।
समुद्री सतहबाट तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा शक्तिपीठमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण स्वदेश तथा विदेशबाट भक्तजन पाथीभरा पुग्ने गरेका छन्। दशैं र तिहारको समय पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिन्छ।




प्रतिक्रिया