राजनीतिक हस्तक्षेपले शिक्षा प्रणाली ध्वस्त भयो : पूर्वराष्ट्रपति यादव


काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यको प्रत्यक्ष हस्तक्षेप र राजनीतिकरणका कारण नेपालको शिक्षा प्रणाली कमजोर बन्दै गएको बताएका छन्।

उनले समुदायको नेतृत्वमा सञ्चालित विद्यालयहरू कुनै समय उत्कृष्ट रहे पनि सरकारीकरणसँगै बढेको राजनीतिक हस्तक्षेपले सामुदायिक शिक्षाको गुणस्तर खस्किएको टिप्पणी गरे।

शनिबार पीपी प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले शिक्षालाई राजनीतिबाट मुक्त गर्दै गुणस्तरीय र जिम्मेवार शिक्षण प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार विगतमा समुदाय आफैँले विद्यालय स्थापना र सञ्चालन गर्ने गरेका कारण शिक्षामा अपनत्व र गुणस्तर दुवै थियो। जनकपुरमा रामस्वरूप साह तथा विराटनगरमा कृष्णप्रसाद कोइरालालगायतले आफ्नै पहलमा विद्यालय स्थापना गरेको स्मरण गर्दै उनले त्यतिबेला भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याएर अध्यापन गराउने गरेको बताए।

‘पहिले समुदायले नै शिक्षाको जिम्मा लिन्थ्यो। जनकपुरमा रामस्वरूप साह र विराटनगरमा कृष्णप्रसाद कोइरालाहरूले दान दिएर विद्यालय खोले, भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याए,’ उनले भने, ‘तर जब राज्यले जिम्मा लियो, राजनीति गडबड भयो र सारा शिक्षा प्रणाली नै बिग्रियो।’

सामुदायिक विद्यालयको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले कतिपय विद्यालयमा आवश्यक विषयका शिक्षकसमेत पर्याप्त नभएको बताए। ‘आज सामुदायिक विद्यालयमा गणितको शिक्षक भए अंग्रेजीको छैन, अंग्रेजीको भए नेपालीको छैन,’ उनले भने।

मधेशका शिक्षक पुरस्कारको छनोटमा नपरेपछि चिन्ता

पूर्वराष्ट्रपति यादवले उत्कृष्ट शिक्षक छनोटमा मधेशबाट एक जना पनि नपरेकोप्रति समेत गम्भीर चिन्ता व्यक्त गरे।

विगतमा मधेशका शिक्षक देशका विभिन्न पहाडी जिल्लासम्म पुगेर गणित र अंग्रेजी पढाउने गरेको स्मरण गर्दै उनले अहिले मधेशका शिक्षक पुरस्कारका लागि तोकिएको मापदण्डमै नपर्नु दुःखद भएको बताए।

‘पुरस्कार वितरणमा मधेशको पालो आउँदा एक जना शिक्षक पनि छनोटमा परेनन्। आयोजकलाई सोध्दा क्राइटेरिया नै पुगेन भन्नुभयो। मलाई चसक्क लाग्यो,’ उनले भने, ‘कुनै समय देशभरिका पहाडमा गणित र अंग्रेजी पढाउने शिक्षक मधेशबाटै जान्थे, आज त्यहाँको अवस्था क्राइटेरियामा समेत नआउने कस्तो बन्यो?’

‘शिक्षक देश र समाज बनाउने फ्याक्ट्री हुन्’

आफ्नो डाक्टरी अध्ययनको समय स्मरण गर्दै यादवले भारतको कलकत्तामा १९७० को दशकमा भएको नक्सलाइट आन्दोलन र हिंसाका बीच पनि कर्तव्यबाट विचलित नभएका प्राध्यापक डा. हरिदास बनर्जीको प्रसंग सुनाए।

जादवपुर विश्वविद्यालयका उपकुलपतिको हत्या भएपछि सिंगो सहर त्रसित र अशान्त बनेका बेला पनि डा. बनर्जी विद्यार्थी पढाउन एनाटोमी हल पुगेको घटना उनले स्मरण गरे।

‘त्यतिबेला हड्ताल र हिंसाका बीच पनि कलेज आएका प्राध्यापक बनर्जीले भन्नुभएको थियो— काटमार गर्नेको काम राजनीति र काटमार नै होला, तर मेरो काम भोलि मानिस बचाउने असल डाक्टर बनाउनु हो,’ यादवले भने।

शिक्षकको जिम्मेवारी केवल पाठ्यक्रम पूरा गर्नुमा सीमित नभई असल नागरिक निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले भने, ‘तपाईंहरू यस्तो फ्याक्ट्री हुनुहुन्छ, जसले देश, समाज र संसार बनाउने असल मनुष्य तयार गर्छ।’

वातावरण शिक्षामा जोड दिन आग्रह

पूर्वराष्ट्रपति यादवले जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अत्यधिक दोहन र वातावरणीय विनाशका कारण प्राकृतिक विपद्का घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

नेपालका पहाडहरू भत्किँदै गएको र विश्व नै गम्भीर वातावरणीय संकटतर्फ धकेलिँदै गएको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई वातावरण संरक्षण र प्रकृतिसँग जोड्ने शिक्षा आवश्यक रहेको बताए।

उनले गुणस्तरीय शिक्षा, नैतिक जिम्मेवारी र वातावरण संरक्षणलाई शिक्षाको अभिन्न हिस्सा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।