गोल्डकपको बहानामा ताप्लेजुङ घुम्ने निम्तो!

सलहेस बन्यो च्याम्पियन, ताप्लेजुङ बन्यो खेल–पर्यटनको गन्तव्य


ताप्लेजुङ । हिमाली पर्यटनको अनुपम गन्तव्य ताप्लेजुङमा आयोजित चौथो ताप्लेजुङ गोल्डकप खेलकुदसँगै पर्यटन प्रवर्द्धनको आकर्षक माध्यम बनेको छ।

भारी वर्षा र हिलाम्मे मैदानबीच भएको रोमाञ्चक फाइनलमा सिराहाको सलहेस युवा क्लबले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जित्यो। सलहेसका लागि फागुराम थारुले मध्यान्तरपछि गरेको निर्णायक गोलले टोलीलाई च्याम्पियन बनायो।

तर, ताप्लेजुङको यो गोल्डकप केवल फुटबल प्रतियोगिता मात्र होइन, खेलसँगै हिमाली पर्यटन, स्थानीय संस्कृति, आतिथ्य र प्राकृतिक सौन्दर्यलाई देशभर चिनाउने अवसर पनि हो।

प्रतियोगिता हेर्न ताप्लेजुङ पुगेका खेलाडी, प्रशिक्षक, समर्थक तथा दर्शकका लागि मैदानबाहिर पनि ताप्लेजुङका अनेकौँ आकर्षणले पर्खिरहेका छन्। पाथीभरा क्षेत्र, कञ्चनजङ्घा हिमालको दृश्य, हिमाली पदयात्रा, स्थानीय संस्कृति र मौलिक खानपानले ताप्लेजुङलाई खेलकुदसँगै घुमफिरका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रस्तुत गर्छन्।

यसपटक पहिलोपटक ताप्लेजुङ गोल्डकपको फाइनल पुगेको फिदिम स्पोर्टिङ क्लबले उपाधि जित्न नसके पनि प्रतियोगिताले ताप्लेजुङ, पाँचथर र समग्र पूर्वी नेपालको खेल तथा पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउने अवसर दिएको छ।

विजेता सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेता फिदिमले ३ लाख २ हजार ८३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।