पर्यटकीय नयाँ गन्तव्यमा रुकुमपूर्व


रुकुमपूर्व । कायाकल्प हुँदै गरेको प्राकृतिक सौन्दर्य, संस्कृतिमा रङ भर्दै गरेका मगर बस्तीहरू, ऐतिहासिक स्मृतिहरू बोकेका स्थलहरू र साहसिक यात्राका गन्तव्यहरू, यी सबै विशेषता समेट्दै रुकुमपूर्व अहिले पर्यटकीय गन्तव्यको नयाँ नक्सामा दरिँदै गएको छ।

हिमाली र पहाडी भूगोल, धार्मिक र सांस्कृतिक विविधता, जनयुद्धको इतिहास, साहसिक खेल तथा समुदायमा आधारित आतिथ्य संस्कृतिले रुकुमपूर्व पछिल्ला केही वर्षयता आन्तरिक र विदेशी पर्यटकहरूको आकर्षण बढाउँदै गएको छ।

सिस्ने–पुथा पदयात्राको उदाउँदो गन्तव्य

सिस्ने र पुथा हिमाल पदयात्राका पारखीका लागि एक आकर्षक नयाँ गन्तव्यका रूपमा अघि बढेका छन्। विशेषगरी प्राकृतिक दृश्यावलोकन, हिमाली जीवनशैली र मगर संस्कृतिको गहिरो अनुभव खोज्ने पर्यटकका लागि यो क्षेत्र ‘कमलको फूलझैं’ फक्रँदै गएको पदमार्ग हो।

पुथा उत्तरगंगा गाउँपालिकाका पर्यटन व्यवसायी तथा वरिष्ठ पत्रकार मैत्या घर्ती भन्छन्, ‘सिस्ने, पुथा, उत्तरगंगा र भूमे गाउँपालिकाको आसपास ट्रेक गर्दा हिमाली दृश्य, गाउँले जीवनशैली र परम्परागत संस्कृति एकैसाथ अनुभव गर्न पाइन्छ। यसले यहाँको पर्यटनमा नयाँ सम्भावना देखाएको छ।’

सांस्कृतिक पर्यटनको बहुरंगी सम्भावना
रुकुमपूर्वका तकसेरा, काँक्री, लुकुम, दादिङ, महतलगायतका मगर बस्तीहरूले सांस्कृतिक पर्यटनको बहुरंगी सम्भावना बोकेका छन्। यहाँ मगर समुदायको भूमे, ढंगे, झाँक्री नाच, मेलापर्व र जीवनशैली पर्यटकलाई मौलिक अनुभव प्रदान गर्छन्।

काठमाडौंकी पर्यटक रेनु यादवले भनिन्, ‘यहाँको भाषा, संस्कार, संस्कृति र मान्छेले गर्ने आतिथ्य सत्कारले मलाई यसरी छोयो कि मैले कल्पनै नगरेको अनुभूति पाएँ।’ उनी पहिलो पटक रुकुमपूर्व भ्रमणमा आएकी थिइन्।

ऐतिहासिक र धार्मिक गन्तव्यहरूको पुनरुत्थान
पुथा उत्तरगंगा गाउँपालिकामा रहेको जीवित संग्रहालय, कोल बस्ती, पुपाल र मौकोट बस्ती, सिस्ने गाउँपालिकाको रुकुमकोटस्थित कमलदह, शिवालय मन्दिर, भट्टे चौर, ठाँटी डाँडा, भूमे गाउँपालिकाको मारिङ, चौरी लेक, खाबाङ बगरको अर्गानिक सहकारी बजार, महतको युद्ध स्मारिका तथा जनयुद्धकालीन इतिहास बोकेका चुन्वाङको भेरी डाँडा अहिले पर्यटकको चाप बढ्दै गएका स्थल हुन्। यी स्थानहरूले धार्मिक पर्यटनसँगै ‘जनयुद्ध पर्यटन’ को नयाँ धार समेत विकास गर्न थालेका छन्, जहाँ ऐतिहासिक स्मृतिसँगै सामुदायिक पुनर्निर्माणका कथा जोडिएका छन्।

सानीभेरीमा साहसिक जलयात्रा
सानीभेरी नदीमा सम्भावित साहसिक जलयात्राले रोमाञ्चक पर्यटनका पक्षलाई समेत समेट्न थालेको छ। जलयात्रा, ट्रेकिङ र गाउँस्तरीय जीवनशैलीको संगमले रुकुमपूर्वलाई बहुआयामिक गन्तव्य बनाउँदै लगेको छ।

संरचना विस्तार र स्थानीय सरकारको अग्रसरता
स्थानीय सरकारहरू — सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले आ–आफ्नो क्षेत्र अनुसार पर्यटकीय पूर्वाधार विस्तार, गाइड तालिम, होमस्टे व्यवस्थापन, पर्यटन प्रवर्द्धनसम्बन्धी योजना अघि सारेका छन्।

तीनवटै पालिकाका अध्यक्षहरू— कृष्ण रेग्मी, होम प्रकाश श्रेष्ठ र पुनीराज घर्तीमगरका अनुसार, हाम्रा सम्भावनालाई पहिचान गरी योजनाबद्ध ढंगले संरचना विकास, प्रचारप्रसार, निजी क्षेत्रको साझेदारी र समुदायको भूमिकालाई सशक्त बनाउँदै गएका छन्।

विकासोन्मुख संरचना, मौलिक संस्कृति, जनताद्वारा सञ्चालित होमस्टे, जनयुद्धसँग जोडिएको ऐतिहासिक चेतना र प्राकृतिक आकर्षणले रुकुमपूर्वलाई पर्यटनको वैकल्पिक नक्सामा स्थापित गर्दै लगेको छ।

अब इतिहासमात्रै होइन, पर्यटनको नयाँ पाना
रुकुमपूर्व अब केवल जनयुद्धको ऐतिहासिक सन्दर्भमा मात्र सीमित रहँदैन। यदि योजनाबद्ध पूर्वाधार विस्तार, पर्यटकीय सम्पदाको संरक्षण र प्रभावकारी प्रवर्द्धनलाई सन्तुलित रूपमा अघि बढाउन सकियो भने रुकुमपूर्वले नेपालको पर्यटन क्षेत्रमा एक नयाँ आयाम थप्न सक्ने प्रस्ट संकेत देखा परेको छ।