काठमाडौं । नेपाली महिलाको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पर्वतेली दिदीबहिनी तथा दाजुभाइलाई एकै थलोमा भेला गराएर दर खाने तथा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
दिदीबहिनी मिडिया हाउसको आयोजनामा आगामी भदौ २० गते शनिबार काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट पार्टी प्यालेसमा ‘हरितालिका तीज–२०८३ विशेष दर कार्यक्रम’ आयोजना हुन लागेको हो। कार्यक्रममा पर्वत जिल्ला स्थायी घर भई काठमाडौं तथा देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका करिब दुई हजार दिदीबहिनी तथा दाजुभाइको सहभागिता रहने आयोजक दिदीबहिनी मिडिया हाउसकी कल्पना चापागाइँले जानकारी दिइन ।

कार्यक्रमले तीजको मौलिकता र नेपाली कला–संस्कृतिको संरक्षणसँगै पर्वतेली समुदायबीचको एकता, सद्भाव र आपसी सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ। तीजको दर खाने, शुभकामना साटासाट गर्ने तथा सांस्कृतिक प्रस्तुति रहने कार्यक्रममार्फत पर्वतेली समुदायबीच परिचय, अनुभव र सहकार्यको अवसरसमेत सिर्जना गर्ने उद्देश्य राखिएको छ।
कार्यक्रमले सुख–दुःखमा साथ दिने सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र तीजको सांस्कृतिक महत्वसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमकै क्रममा पर्वतलाई गृह जिल्ला बनाएर काठमाडौं तथा अन्य स्थानमा बसोबास गर्दै आएका महिलालाई संगठित गर्दै ‘पर्वतेली दिदीबहिनी समाज’ गठनको पहल अघि बढाउने तयारीसमेत गरिएको छ। यसले विभिन्न क्षेत्रमा कार्यरत पर्वतेली महिलाबीच सहकार्य, अनुभव आदानप्रदान र सामाजिक सम्बन्ध विस्तारमा योगदान पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रममा करिब दुई हजार पर्वतेली दाजुभाइ तथा दिदीबहिनीको सहभागितामार्फत समुदायबीचको सम्बन्ध थप सुदृढ हुने, सामाजिक एकता बढ्ने तथा पर्वतेली समुदायका पेशा, व्यवसाय र सिर्जनात्मक गतिविधिको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘तीजलाई केवल पर्वका रूपमा नभई आपसी सद्भाव, संस्कृति संरक्षण र सामाजिक एकताको अवसरका रूपमा मनाउने’ उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, सहकारी र शुभेच्छुकबाट आर्थिक तथा भौतिक सहयोगको अपेक्षा गरिएको आयोजक दिदीबहिनी मिडिया हाउसले जनाएको छ।




प्रतिक्रिया