ललितपुर । चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले महिलाको नेतृत्वमा ‘हरित उत्सव : परिवर्तनको नेतृत्व महिलाको हातमा’ अभियान सुरु गरिएको छ। पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममार्फत अभियान शुभारम्भ गरिएको हो।
अभियानले नेपालका चाडपर्वलाई वातावरणमैत्री बनाउन पुनःप्रयोग, पुनर्चक्रण र स्रोतको जिम्मेवार उपयोगलाई प्राथमिकता दिएको छ। बागमती प्रदेशबाट पाइलटका रूपमा सुरु गरिएको अभियानले चाडपर्वको संस्कृतिलाई दिगो जीवनशैलीसँग जोड्दै समुदायस्तरसम्म वातावरणमैत्री अभ्यास विस्तार गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा नेपाली कांग्रेसकी मुख्य सचेतक वासना थापाले वातावरण संरक्षणमा पुनःप्रयोगको अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताइन्। जलवायु परिवर्तन कुनै एक वर्ग वा समुदायको मात्र नभई सबै नागरिकको साझा सरोकार भएकाले वातावरण संरक्षणलाई सामूहिक जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले जलवायु परिवर्तनका असर समाजका सबै वर्गमा परिरहेको बताइन्। उनले यसको प्रभाव न्यूनीकरणका लागि आवश्यक नीतिगत र कानुनी व्यवस्था निर्माणमा संसद्मा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाइन्।
मधेसी आयोगकी सदस्य रेणु शाहले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि हरित अभियानसँगै पुनःप्रयोग र पुनर्चक्रणलाई प्राथमिकता दिनुपर्ने बताइन्। वातावरण संरक्षणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव मधु घिमिरेले उपलब्ध स्रोतसाधनको अधिकतम र दिगो उपयोगमा जोड दिए। प्रत्येक स्रोतबाट कम खपतमा बढी लाभ लिन सकिने गरी जिम्मेवार उपभोगको अभ्यास विकास गर्नुपर्ने उनले बताए।
साथसाथै फाउण्डेशनकी अध्यक्ष प्रजिता कार्कीले अभियान वातावरण संरक्षणसम्बन्धी जनचेतना विस्तारमा केन्द्रित रहेको बताइन्। महिलावादी संस्था तथा जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गर्दै अभियानलाई अघि बढाउने उनको भनाइ थियो।
मिडिया एड्भोकेसी फोरमका कार्यकारी निर्देशक तथा सञ्चारकर्मी वविता बस्नेतले वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने बताइन्। उनले प्लास्टिकजन्य फोहोर न्यूनीकरण, पुनःप्रयोग तथा पुनर्चक्रण, हरित अभियान र वातावरणमैत्री व्यवहार विकासमा जोड दिनुपर्ने बताइन्।
साथसाथै फाउण्डेशनले अन्तरपुस्ता नारीवादी मञ्च (आईजीएफएफ) र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा महिला, युवा, कलाकार, जलवायु तथा सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी र स्थानीय समुदायको सहभागिता थियो।
अभियानले चाडपर्वलाई सात ‘आर’-पुनःविचार, अस्वीकार, न्यूनीकरण, पुनःप्रयोग, मर्मत, पुनःउद्देश्यकरण र पुनर्चक्रण-मा आधारित परिपत्र अर्थतन्त्रको अवधारणासँग जोड्ने लक्ष्य लिएको छ। यसमार्फत चाडपर्वका परम्परागत अभ्यासलाई वातावरणमैत्री बनाउँदै दिगो जीवनशैली समुदायस्तरमा विस्तार गर्ने योजना छ।




प्रतिक्रिया