कोशीको पर्यटन उकास्न नयाँ प्रतिबद्धता, सीमापार सहकार्यदेखि गाउँ पर्यटनसम्म जोड


विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई नयाँ गति दिने उद्देश्यसहित आयोजना गरेको ‘कोशी टुरिज्म कन्क्लेभ–२०८३’ सम्पन्न भएको छ। विराटनगरस्थित होटल स्वागतम्‌मा भएको कार्यक्रममा प्रदेशभित्र पर्यटन विस्तार, लगानी आकर्षण र अन्तरदेशीय सहकार्यका विषयमा व्यापक छलफल गरिएको छ।
पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्टसहित प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी, प्राध्यापक, विद्यार्थी, पत्रकार र विकास साझेदारहरूको उपस्थिति रहेको थियो। भारतको पश्चिम बंगालबाट समेत प्रतिनिधिहरू सहभागी भएका थिए।

कार्यक्रमको सुरुवात मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले स्वागत मन्तव्यबाट गरेका थिए। उनले कोशी प्रदेशको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन कन्क्लेभ उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।
कन्क्लेभमा आरोग्य पर्यटन र पर्वतीय पर्यटनको सम्भावना तथा दिगो विकासबारे विषयगत प्रस्तुति गरिएको थियो। त्यसपछि भएका तीनवटा प्यानल छलफलमा पर्यटन विकासका अवसर, ग्रामीण पर्यटनको विस्तार र सीमापार पर्यटनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित बहस भएको थियो।
छलफलका क्रममा पर्यटन क्षेत्रमा लगानी वृद्धि, नीति सुधार, स्थानीय सहभागिता, नाकामार्फत पर्यटक आवागमन सहज बनाउने र निजी क्षेत्रसँगको सहकार्य बढाउने विषयमा जोड दिइएको थियो।
मुख्यमन्त्री कार्कीले प्रदेशको पर्यटन विकासका लागि गुरुयोजना, कानुनी सुधार, साहसिक तथा शैक्षिक पर्यटन विस्तार र सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकतामा राखिने बताए। मन्त्री पराजुलीले पर्यटनले छोटो समयमै रोजगारी सिर्जना गर्न सक्ने भएकाले पूर्वाधार निर्माण र गन्तव्य प्रवर्द्धनमा प्रदेश सरकारले लगानी बढाउने बताए।
कन्क्लेभले सीमापार पर्यटन सहकार्य विस्तार, गाउँ केन्द्रित पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति र रैथाने खानाको संरक्षण, पर्यटन सूचना केन्द्र स्थापना, नेपाल पर्यटन बोर्डको प्रदेशस्तरीय संरचना विस्तार तथा पर्यटक प्रहरी र हटलाइन सेवा सञ्चालनलाई आगामी प्राथमिकताका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।
प्रदेश सरकारले यी सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।