मनाङमा यार्सागुम्बा सङ्कलन सुरु


मनाङ। औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । यहाँ जडीबुटीको संरक्षण, प्रवर्द्धन र मौसममा निर्भर रहनुपर्ने अवस्थाले गुणस्तरमा असर परेको छ । मुख्य आयस्रोतका रूपमा रहेको यार्सागुम्बा आजदेखि सङ्कलन सुरु गरिएको छ ।

मनाङका लेकमा पाइने यार्सागुम्बा सङ्कलन नासों गाउँपालिका–८ ताचैस्थित नाम्ग्या लेकबाट सुरु गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिले जनाएको छ । जिल्लाका धेरै खर्कमा यार्सागुम्बा पाइने भए पनि यस वर्ष पहिलो चरणमा नाम्ग्या लेकबाट सङ्कलन सुरु गरिएको हो ।

नजिकका खर्कबाट सङ्कलन सुरु भए पनि विगतको तुलनामा उत्पादन घट्दै गएको सङ्कलकहरूको भनाइ छ । उत्पादनमा आएको गिरावटलाई गम्भीर समस्या मानिएको छ ।

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० तथा अन्य प्रचलित कानुनअनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयबाट अनुमति पाएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलन पुर्जी वितरण गर्ने व्यवस्था छ ।

जिल्लाभित्रका संरक्षण क्षेत्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलन अनुमति दिइन्छ । जिल्ला बाहिरका नेपाली नागरिकका हकमा सम्बन्धित संरक्षण व्यवस्थापन समितिको निर्णयअनुसार अनुमति प्रदान गरिन्छ ।

मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय पनि यार्सागुम्बा सङ्कलनका लागि मनाङका लेक पुग्ने गर्छन् । तर नार्पाभूमिका खर्कमा जिल्लाभित्रका नागरिकलाई मात्र सङ्कलन अनुमति दिइन्छ । बाहिरी जिल्लाका नागरिकलाई अनुमति दिने प्रावधान छैन ।

भौगोलिक रूपमा विकट र सुरक्षाको चुनौती भएकाले नार्पाभूमिका केही खर्कमा बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको हो । अन्य स्थानीय तहका खर्क खाङ्सार, हुलाकी ओडार, पिसाङलगायत क्षेत्रमा भने अनुमति दिइएको छ । स्थानीय मात्र सङ्कलक हुँदा सुरक्षामा सहज हुने अपेक्षा गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले अनुमति दिएपछि मात्र खर्क प्रवेश गर्न पाइने व्यवस्था छ । नाम्ग्या खर्कमा स्थानीयसँगै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई पनि अनुमति दिने प्रावधान तय गरिएको छ ।

यार्सागुम्बा सङ्कलन याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रशासनले जनाएको छ । पालिका, एक्याप र सम्बन्धित निकायको बैठकबाट सुरक्षाको जोखिमलाई ध्यानमा राखी अप्रिय घटना रोक्न सतर्कता अपनाइएको छ । प्रारम्भिक चरणमा नाम्ग्या र नार्पाभूमि गाउँपालिका–२ हुलाकी ओडार खर्कमा सङ्कलन अनुमति दिने निर्णय गरिएको छ ।

नार्पाभूमि गाउँपालिकाले भने बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिने निर्णय गरेको छ । सुरक्षाको चुनौतीका कारण स्थानीयलाई मात्र अनुमति दिइँदै आएको जनाइएको छ । नार र फु संरक्षित तथा निषेधित क्षेत्रसमेत भएकाले विगतजस्तो अवस्था दोहोरिन नदिन यस्तो व्यवस्था गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै सङ्कलन सुरु हुन्छ ।

नाम्ग्या खर्कमा यार्सागुम्बा खरिद गर्न आउने जिल्लाभित्रका व्यक्तिबाट प्रतिव्यक्ति रु १२ हजार र जिल्ला बाहिरका खरिदकर्ताबाट रु १७ हजार दस्तुर लिने गरिएको छ । अन्य खर्कमा भने छुट्टै दर निर्धारण गरिन्छ ।

पुर्जी काटेपछि मात्र स्थानीय तथा बाह्य जिल्लाबाट आएका सङ्कलकलाई खर्कतर्फ जान अनुमति दिइन्छ । चार स्थानीय तह रहेको मनाङमा धारापानी र थोंचेबाहेक अधिकांश लेकमा यार्सागुम्बा पाइन्छ ।

सङ्कलकले १० वटा यार्सागुम्बा टिप्दा एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान पनि लागू गरिएको छ । यसलाई संरक्षणमुखी उपायका रूपमा लिइएको छ ।

मनाङको नाम्ग्या लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फु लेक, मनाङ लेक, आइसलेक, स्याक्र्यु लेक र थोराङ्ला लेक यार्सागुम्बा बढी पाइने क्षेत्र हुन् । सङ्कलन कार्य नाम्ग्या खर्कबाट सुरु भएर नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा पुगेर सकिनेछ । असारको पहिलो सातासम्म सङ्कलन जारी रहनेछ ।