अर्थतन्त्रमा बज्ला समृद्धिको घण्टी?

अर्थमन्त्रीमा स्वर्णिमको प्रतीक्षा


ऋषव गौतम

निर्वाचनको प्रचार–प्रसारको क्रममा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई साक्षी राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले “डाक्टर साब, नयाँ बजेटको खाका कोर्न सुरु गर्नुस्” भनेको कुरा जनजनमा गुन्जियो। त्यसैले होला, तनहुँका मतदाताले वाग्लेलाई यसपटक पनि भारी मतले जिताए। आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवार अर्थमन्त्री बन्नेछन् भन्ने भएपछि मतदाताले नजिताउन पनि कसरी?

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय युवा तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि सिंगै देश घण्टीमय भयो। अर्थात् “नयाँ गर्छौं” भन्ने पात्रहरूसँग देशले धेरै आशा गर्‍यो। त्यसकारण देशभर घण्टी बज्यो।

बालेन र स्वर्णिम मात्र होइन, देशभर घण्टी बज्नुमा रविले पुराना दलहरूबाट पाएको सास्ती पनि अर्को कारण हो। भए–नभएका मुद्दा–मामिलाको उल्झनमा अड्काएर भर्खरै जन्मिएको पार्टीलाई अघि बढ्न नदिने पुरानाहरूको अभिष्ट अन्ततः असफल भयो। अर्को, रविसँग अन्याय, अत्याचार, गरिबी, रोग, भोक र पीडाले थिचिएकाहरूको ठूलो आशा देखिन्छ। फलतः देशभर घण्टी बज्यो। मतदाताले मूलतः यिनै र यस्तै पात्र हेरेर भोट हाले। उनका देशभरका उम्मेदवारले जित निकाल्न सफल भए र उनीहरू प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगे।

अब जुन हिसाबले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थमन्त्री र प्रधानमन्त्री फलानो–फलानो हुनेछन् भनेर प्रचार गरियो, त्यही हिसाबमा मन्त्रिमण्डल बनोस् भन्ने धेरैको चाहना छ। अझ देश विकासको महत्त्वपूर्ण बागडोर सम्हाल्ने अर्थमन्त्रीमा प्रचार गरिएझैं स्वर्णिम वाग्लेको प्रतीक्षा अर्थतन्त्र र शेयर बजारले गरिरहेको छ।

सिंगै देशको बजेट बनाउने जिम्मेवारी रहने अर्थ मन्त्रालयमा यसपटक अन्तर्राष्ट्रिय स्तरमा परिचित अर्थशास्त्री तथा रास्वपा नेता स्वर्णिम वाग्ले पुग्दैछन्। विश्वविख्यात भनिएका विश्वविद्यालयहरूमा अध्ययन गरेका, विश्व बैंक तथा युएनडिपी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा सल्लाहकारका रूपमा काम गरेका वाग्लेलाई पनि अब काम देखाउने अवसर छ। सायद आफैं अर्थमन्त्री हुने दिनको प्रतीक्षामा विगतका सरकारलाई उनले खासै गम्भीर सल्लाह दिएनन्। आफैं जिम्मेवारीमा पुगेपछि काम गर्नुपर्छ भनेर पनि होला, विगतका सरकारलाई आफ्नो विज्ञताको पोको फुकाएनन्।

साह्रै बाठा स्वभावका वाग्ले धेरैजसो अन्तर्राष्ट्रिय अर्थतन्त्र र गतिविधिमा रुचि राख्छन्। उनलाई खुद्रा–मसिना विषयमा खासै रुचि छैन भन्दा पनि हुन्छ। नेपाली मिडियामा उनले प्रायः अन्तर्वार्ता मात्र दिएका छन्, लेख–आर्टिकल भने कम लेखेका छन्। बरु विदेशी मिडियामा उनको रुचि बढी देखिन्छ र तिनैका सन्दर्भहरू उनले कोट्याउने गरेका छन्।

जे होस्, उनलाई सामाजिक सञ्जालमा पछ्याउँदा विदेशका विभिन्न फोरमहरूमा नेपालको पक्षमा बोलेको देखिन्छ। गम्भीर बौद्धिक बहसहरू गरेका छन्। कतिपय देशहरूको अर्थतन्त्र सुधार गर्न उनले गम्भीर सल्लाह, सुझाव र प्रतिवेदनसमेत दिएका छन्। उनलाई नेपालभन्दा बढी विदेशी विद्वानहरूले चिन्छन्।

अर्थतन्त्रका यत्तिका ज्ञाता व्यक्ति नेपालमा अर्थमन्त्री बन्ने सम्भावना छ। सायद अब उनले आफ्नो ज्ञान र विज्ञताको पोको फुकाउनेछन् र सशक्त नेपाली अर्थतन्त्रको काँचुली फेरिने खालको बजेट तथा नीति कार्यक्रम ल्याउनेछन्। अहिलेलाई त्यही आशा गरौँ। किनकि वाग्लेले दुनियाँको विकास देखेका छन्, त्यहाँ लागू भएका नीति तथा कार्यक्रम केलाएका छन् र दुनियाँलाई सुझाव दिएका छन्। अब उनले नेपालको विकास र समृद्धिको चित्र कसरी कोर्नेछन्, त्यो हेर्दै जाउला।

तर रास्वपाले जसरी चुनावअघि उनलाई अर्थमन्त्रीको ‘पोश्चर’ बनाएको थियो, अब दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने रास्वपाले उनलाई अर्थमन्त्रीका रूपमा अघि सार्नैपर्छ। किनकि लामो समयदेखि नेपालको अर्थतन्त्र, शेयर बजार आदिले समकालीन विश्व व्यवस्था र आधुनिक विकास बुझेको विज्ञ अर्थमन्त्री खोजिरहेको थियो।

खासगरी नेपाल भूगोलका हिसाबले मध्यम स्तरको देश हो। करिब ३ करोड जनसंख्या भएको विकासोन्मुख राष्ट्र हो। प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न देश भएकाले यहाँ मुख्यतः ऊर्जा र पर्यटन क्षेत्र समृद्धिका प्रमुख आधार हुन्। हिमाल, पहाड र तराईको अनुपम संयोजन रहेको यस देश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। कृषि उत्पादन र जडीबुटीको भण्डार रहेको नेपाल विशाल चीन र भारतको बीचमा अवस्थित छ। त्यसकारण हामीले सही तरिका अपनाउने हो भने वस्तु तथा सेवाको बजारका दृष्टिले पनि ठूलो बजारको नजिक छौं।

बाटो, घाटो, बिजुली, खानेपानी, विद्यालय र स्वास्थ्य चौकी जस्ता आधारभूत पूर्वाधारमा समेत देशले निकै प्रगति गरिसकेको छ। देशका अधिकांश सदरमुकाम पिच सडकले जोडिइसकेका छन्। गाउँ–गाउँ र दुर्गम क्षेत्रसम्म पक्की सडक पुगेका छन्।

समकालीन नेपालको सबैभन्दा खड्किएको विषय भनेको रोजगारी र उद्यमशीलताको विकास हो। पर्यटनको यथोचित प्रवर्द्धन गर्नुपर्ने आवश्यकता पनि छ। विश्वका अग्ला हिमालहरूमध्ये सगरमाथासहित धेरै हिमाल नेपालमै अवस्थित छन्। हिमाल र हिमाली संस्कृति हेर्न नेपाल बाहेक विश्वमा अर्को विकल्प छैन।

अग्ला गगनचुम्बी महाभारत पर्वत श्रृंखला, त्यहाँ पाइने विविध प्रजातिका फूल र वन्यजन्तु अवलोकन गर्न पनि नेपाल नै उपयुक्त गन्तव्य हो। त्यसैले सुन्दर नेपालको अझ सुन्दर चित्र कोर्ने बेला आएको छ। नेपाललाई मौलिक विकास र समृद्धिको उचाइमा पुर्‍याउने समय आएको छ। त्यसको ‘ड्राइभर सिट’मा स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीका रूपमा देशले हेर्न चाहेको छ।

हाम्रो देशलाई कृत्रिम रूपमा विकसित भनिएका देशजस्तो होइन, रोजगारी र उद्यमले सम्पन्न मौलिक विकासले हराभरा बनाउन जरुरी छ। हामीले आइफल टावर वा बुर्ज खलिफा होइन, सांस्कृतिक रूपमा सम्पन्न बस्तीहरू निर्माण गर्नुपर्छ। किनकि आइफल टावरहरू हाम्रा सगरमाथाका फेदी बराबर पनि होइनन्। ती कुनै पनि कारण ढल्न सक्छन्, तर प्रकृतिका देव सगरमाथाहरू कहिल्यै ढल्नेछैनन्।

नयाँ सरकारलाई सुझाव

अब बन्ने सरकारले खासगरी शिक्षा, स्वास्थ्य, रोजगारी र ग्रामीण क्षेत्रका आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ। त्यसबाहेक राष्ट्रिय गौरवका २६ वटा निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नेगरी काम गर्नुपर्छ।

लगानीका प्लेटफर्महरू, शेयर बजार, कम्पनी दर्ता तथा सञ्चालनमा हुने सरकारी झन्झट, कर्मचारीहरूको ढिलासुस्ती तथा जनताका स–साना काममा हुने अनावश्यक प्रक्रियाहरू छिटो हटाउनुपर्छ। निजी क्षेत्र तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीति अपनाउनुपर्छ। नीतिगत रूपमा आकर्षक व्यवसायिक वातावरण निर्माण गर्नुपर्छ।

त्यसैगरी अहिले करिब २१ प्रतिशत रहेको गरिबीलाई पाँच वर्षभित्र शून्यमा झार्ने लक्ष्यसहित काम गर्नुपर्छ। प्रगतिशील कर प्रणालीमार्फत धनी–गरिबबीचको खाडल कम गर्दै नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्ने गरी नीति बनाउनुपर्छ।

भावी अर्थमन्त्रीले आफ्नो विगतका पहुँच र अनुभवका आधारमा विदेशी लगानी भित्र्याउन विशेष जोड दिनुपर्छ। पाँच वर्ष स्थिर सरकार र व्यवसायमैत्री वातावरण निर्माण गर्न सके पक्कै पनि देशमा समृद्धिको बहार आउनेछ।

त्यसका लागि अर्थमन्त्रीमा रास्वपाका उपसभापति तथा वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई धेरैले हेर्न चाहेका छन्। विश्व अर्थतन्त्र बुझेका उनले अर्थतन्त्रबारे दिएका ठूला प्रवचनअनुसार कत्तिको काम गर्न सक्छन्, नेपाली अर्थतन्त्र कत्तिको बुझेका छन् भन्ने कुरा अब जनताले हेर्नेछन्।

गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्।