मिथिलामा आज सतुवाइन पर्व मनाइँदै


काठमाडौं । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ ।

चाडपर्वको धनी मानिएको मिथिला क्षेत्रमा पर्ने महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरीलगायतका प्रत्येक घरघरमा आज एकाबिहानै घरका सबै सदस्यले सबैभन्दा पहिले सातु खाएर सतुवाइन पर्व मनाइरहेका छन् ।

मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताए ।

चना, मकै, जौ, भटमासलगायतका वस्तुहरुलाई भुटेर त्यसलाई फेरि पिँधेर पीठो तयार गरिन्छ भने सोही पीठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन छ ।

सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन सतुवाइन पर्व मनाउने चलन रहेको जलेश्वर नगरपालिका–१ स्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।

आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वाद अनुसार नुनसँग पनि खाने चलन छ । सतुवाइन पर्व नेपालमा मात्रै नभएर भारतको मिथिलाञ्चल क्षेत्र मानिएका दरभङ्गा, मधुवनी, सीतामढी, सुपौल र शिवहर जिल्लामा पनि मनाइने गरिन्छ ।