काठमाडौं । नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपमा भारत र चीनका प्रतिस्पर्धीले उपाधि जितेका छन् । पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगितामा पुरुषतर्फ भारत र चीनका खेलाडीले संयुक्त उपाधि जितेका छन् ।
नेपाल हवाई खेलकुद संस्था ‘ना’ को आयोजनामा पोखरामा सम्पन्न ‘२१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप-२०२६’ (एक्कुरेसी)को पुरुष एकलतर्फको स्पर्धामा दुबैले समान ७/७ अंक प्राप्त गर्दै भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रुपमा उपाधि जिते ।
वर्षाका कारण पहिलो र दोस्रो दिनको उडानलाई आधार मानेर भएको प्रतियोगितामा भारतका ईमान रम्तेल, एलिस्टर रम्तेल र मनिष उप्रेतीले समान ८/८ अंक प्राप्त गर्दै द्वितीय भए भने नेपालका पवन परियार र अरुण जलारीले समान ११/११ अंक प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाए । पुरुष स्पर्धातर्फको बिजेताले १ लाख ५० हजार, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको महिला एकलतर्फको स्पर्धामा चीनकी कोङ सियाङ यान प्रथम भएकी छन् । कुल ७ अंक प्राप्त गर्दै प्रथम भएकी उनले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र जितिन् । सो स्पर्धामा नेपालकी दुर्गामाया गुरुङले १२६ अंकसहित द्वितीयहुँदै नगद ५० हजारमा चित्त बुझाउँदा १४९ अंक प्राप्त गरेकी भारतकी श्रेयशी तामाङले तृतीयहुँदै नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । महिलातर्फको एकल प्रतिष्पर्धामा १० खेलाडीले सहभागिता जनाउँदा नेपालकी ईस्का राई चौथो र कृषु पौडेल पाचौं स्थानमा रहे ।
समूहगत प्रतिष्पर्धामा भारतको टिम फ्लाई वर्कला प्रथम भएको छ । ११ टोली सहभागी प्रतिस्पर्धामा भारतीय टिम फ्लाई वर्कलाका राहुल राई, अक्षय कुमार, मोहर सिंह र मनिष उप्रेतीको समूहले कुल ३८ अंक प्राप्त गर्दै उपाधि जितेका हुन् । टिम ईण्डो नेपालका सोनम लदाखी, अरुण जलारी, कृष्णबहादुर क्षेत्री र गोपाल ठाकुरको समूहले ६७ अंकसहित द्वितीयहुँदा टिम नेपालको विष्णु तिमिल्सिना, सुमनजंग थापा, रोसन बस्नेत र युवराज सुनुवारको समूह १०९ अंकसहित तृतीय भए ।
समूहगत प्रतिष्पर्धामा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ७५ हजार प्राप्त गरे ।
पुरुषतर्फकै नेपाल स्पर्धामा पवन परियार र अरुण जलारीले समान ११/११ अंक ल्याएर प्रथमहुँदा रिखी पोडे र विष्णु तिमिल्सिना समान १२ अंक ल्याउँदै द्वितीय र अञ्जन कुँवर १३ अंक ल्याउँदै तृतीय भए । महिलातर्फको नेपाल स्पर्धामा १२६ अंक प्राप्त गरेकी दुर्गामाया गुरुङ प्रथम, ३५४ अंक प्राप्त गरेकी ईशा राई द्वितीय र ५२६ अंक प्राप्त गरेकी कृषु पौडेल तृतीय भए ।
प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीबाट पुरुषतर्फ पवन परियार, अरुण जलारी र रिखी पौडेल तथा महिलातर्फ दुर्गामाया गुरुङ र कृषु पौडेल छनौट भएको जनाइएको छ । छनौट भएका खेलाडीले जनहि १०/१० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
५ वर्षपछि भएको प्रतियोगितामा ५ देशका ५२ पुरुष र १० महिलासहित कुल ६२ जना खेलाडी पाइलट सहभागी थिए । प्रतियोगितामा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका प्याराग्लाईडिङ पाइलटहरु प्रतिष्पर्धीका रुपमा सहभागी रहेको प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए ।
वर्षाका कारण ५ राउण्डलाई आधार मानेर बिजेता छनौट गरिएको आयोजक नेपाल हवाई खेलकुद संस्था ‘ना’का अध्यक्ष अनिल केसीले जानकारी दिए ।
बिजेता खेलाडीहरुलाई नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण, गण्डकी खेलकुद परिषद (गखेप)का सदस्य सचिव श्रीधर शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई, ‘ना’का अध्यक्ष अनिल केसी, प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।




प्रतिक्रिया