काठमाडौं । सुन्दर भविष्यको खाका कोर्दै टोखा नगरपालिकाको वडा नम्बर ९, भौतिक पूर्वाधारसँगै मानसिक विकासको यात्रामा निरन्तर
काठमाडौं उपत्यकाको उत्तरी भेगमा अवस्थित टोखा नगरपालिका, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिएको क्षेत्र हो। यही नगरपालिकाभित्र नागरिकको हक अधिकार सुनिश्चित गर्दै वडाको सर्वाङगिण विकास गर्ने अविचलित यात्रामा जुटेको वडा आफूलाई नमूना दर्ज गराउने गरी नागरिकमैत्री योजना कार्यान्वयनमा लागेको वडाध्यक्ष रामभक्त घिमिरेले बताए ।
टोखा नगरपालिका वडा नम्बर ९ भौगोलिक रूपमा शहरी र अर्ध–शहरी विशेषता बोकेको वडा हो। यहाँ विभिन्न जातजाति, धर्म र समुदायका नागरिकको बसोबास छ। शिक्षा, स्वास्थ्य, व्यापार र सेवामूलक गतिविधिमा सक्रिय यो वडाले टोखा नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
भौतिक प्रगतिलाई आत्मसाथ गर्न नागरिक सचेतता र नागरिकको मानसिक विकास अपरिहार्य हो भन्ने बुझेका वडाध्यक्षले आफ्नो वडाबासीलाई जिम्मेवार सचेत र जागरुक बनाउन, वडालाई रचनात्मक सुझावसहित खबरदारी गर्न र गरेका राम्रा कामको प्रचार गराउने दीर्घकालीन सोचसहित सात दिने युवा आइटी तथा पत्रकारिता तालिम सम्पन्न गरेका छन् ।
जनसहभागिता बिना विकास सम्भव हुँदैन र जनताकै परिकल्पना अनुसार वडालाई अघि बढाउने उद्देश्यसहित वडाबासीको आवाज बुलन्द पार्न तालिम प्रभावकारी बनेको विश्वास वडाको छ ।
वडाको विश्वासलाई आफ्नो हतियार बनाउँदै तालिमका सहभागीले छोटो समयमा जीवन उपयोगी र क्षमता विकासमा ठूलो योगदान पुर्याउने अवसर पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यतिमात्र होइन आफ्नो सिकाइ प्रभावकारी भएको दावी गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन् ।
नागरिकको दैनिकीसँग जोडिएको सूचना, सूचनाको प्रचार, गलत सूचनाबाट बच्ने तरिकासहित मोबाइलको प्रयोग, मोबाइलको दूरुपयोगबाट बच्ने उपायसहित आधारभूत पत्रकारिताका विषयमा लामो समयदेखि पत्रकारिता गरिरहेका अनुभवी सञ्चारकर्मीले सहजीकरण गरेका थिए । पत्रकार टंक खनालले सात दिने तालिम संयोजन गर्दै पत्रकारिताका आधारभूत विषय, पत्रकारिता र नागरिकबीचको सम्बन्धसहित बोल्ने र लेख्ने क्षमता विकास बारे सहजीकरण गरेका थिए ।
योहो टेलिभिजनका प्रधानसम्पादक जीवराम भण्डारीले नागरिक पत्रकारिता, पत्रकारिताको अभ्यास, विगत र वर्तमानको समीक्षा गरेका थिए ।
त्यस्तै नेपाल रिपब्लिक मिडियाका सम्पादक तेजेन्द्र काफ्लेले समाचार लेखनका प्राविधिक विषयसँगै जिम्मेवार पत्रकारिताका बारेमा सहजीकरण गरेका थिए ।
प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारीले पत्रकार आचारसंहितासँगै गलत सूचनाबाट बच्ने उपाय सुझाएका थिए । अनलाइन पत्रकारिताको प्रयोग र अभ्यासबारे नेपाल न्यूज बैंकका सम्पादक युवराज गौतमले सहजीकरण गरेका थिए ।
सञ्चारमाध्यममा प्रकाशन प्रसारण हुने अन्तर्वार्ता र त्यसका शैलीबारे हिमालय टेलिभिजनका प्रस्तोता भूपाल लुइटेलले प्रयोगात्मक अभ्यास गराउँदा रिपोर्टिङ, रिपोर्टिङका चुनौती र कार्यक्रममा विषय छनौटबारे सिधाकुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरूले प्रकाश पारेका थिए ।
पत्रकारिता र प्रविधि, समाचार कक्षमा प्रविधिको प्रयोगबारे अन्नपूर्ण मिडिया नेटवर्कका विवेक देवकोटाले सहजीकरण गरेका थिए भने सरकारी कार्यालयमा हुने प्रविधिको प्रयोग र विकास बारे बसन्त पाठकले प्रष्ट पारेका थिए ।
तालिम सत्रमा अमृत थापाले मोबाइल प्रयोगको प्राविधिक पक्षमा सहजीकरण गर्दा भिडियो तथा समाचार सम्पादक कमल रानाले फोटो पत्रकारिता र भिडियो सम्पादनका आधारभूत ज्ञान साटेका थिए ।
यो तालिमबाट नागरिक संवाद, वडासभा र सुझाव संकलनमा सहजता हुनुका साथै सहभागीले आफ्नो विचार व्यक्त गर्ने आधार तयार भएको बताएका छन् ।
युवा लक्षित रोजगारीमूलक क्षेत्रमा काम गरिरहेको यो वडाले पूर्वाधार विकासलाई पनि उच्च प्राथमिकतामा राख्दै आएको छ। शैक्षिक क्षेत्रमा लगानी बढाएको छ भने स्वास्थ्यतर्फ नियमित स्वास्थ्य शिविर, खोप कार्यक्रम र आधारभूत स्वास्थ्य सेवामा वडाले विशेष ध्यान दिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला र विपन्न समुदायको संरक्षण र सशक्तीकरण वडाको प्राथमिकतामा छ।
स्वच्छ वातावरण नै स्वस्थ जीवनको आधार हो भन्ने विषयलाई आत्मसाथ गर्दै यो वडाले नियमित सरसफाइ अभियान, फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा सक्रिय भूमिका खेलेको छ। आगामी दिनमा स्मार्ट पूर्वाधार, डिजिटल सेवा, थप शैक्षिक तथा स्वास्थ्य सुविधा विस्तार र दिगो विकासका योजनालाई अघि बढाउने लक्ष्य वडाको छ । जनप्रतिनिधि र नागरिकबीचको मजबुद सहकार्य सम्मुन्नत बन्दै गरेको यो वडा देशमै उदाहरणीय बन्न सकोस हाम्रो शुभकामना ।
भिडियो हेर्नुहोस् ।




प्रतिक्रिया