कोशी प्रदेश: प्रकृति, पहिचान र पवित्रताको यात्रा (भिडियो)


‘तपाईं प्रकृतिको काखमा संस्कृतिको आत्मा खोज्दै हुनुहुन्छ ? मनोरम दृश्यसँगै लुटपुटिँडै स्वर्गीय आनन्दको आत्माभूति गर्न चाहनुहुन्छ ? अथवा सूर्योदयको अलौकिक दृश्यसँगै नेपालकै होचो र विश्वकै अग्लो स्थान नजिकबाट नियाल्न चाहनुहुन्छ ? नदेखेका नसुनेका तर अनुभूति गर्न बाँकी यी धेरै पर्यटकीय क्षेत्रको एकै स्थान हो कोशी प्रदेश ।

पूर्वी नेपालका १४ जिल्लालाई समेटेर आगन्तुकलाई स्वागत गर्न र समृद्धिको एक इट्टा पर्यटन हो भन्ने विश्व सन्देश दिन कोशीले तपाईं हामीलाई न्यायो स्वागतसहित आथित्यताको लागि आह्वान गरिरहेको छ ।

हिमाल, पहाड र तराईसम्म फैलिएको यो प्रदेशमा समावेश जिल्लाको नामले पनि तपाईंलाई एक पकट कोशी टेक्न उद्दत गराउँछ । धार्मिक, अध्यात्मिक, शाहसीक र अलौकिक शक्ति भएका स्थान यो प्रदेशमा छन् । झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरका सबै भूमि आज पर्यटकीय गतिविधिका काममा घुम्ने पर्यटक, काम गर्ने व्यवसायी आफूलाई चिनाउने प्रवर्धक खोज्न बसिरहेको छ ।

जातीय तथा भाषिक विविधताले बहु सांस्कृतिक अभ्यासलाई कोशीले एक साथ अँगालेको छ । किराती समूदायको उद्गमथलो, आस्थाको केन्द्रसँगै राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशी, ब्राम्हण, क्षत्रीको बसोबास रहेको यहाँ नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारूलगायतका भाषा बोलिन्छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नुसहितका हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ ।

यस प्रदेशमा इलामको अन्तुडाँडा, कन्याम, धनकुटाको भेडेटार, सोलुखुम्बुको नाम्चे बजार, सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरू रहेका छन् ।

प्राकृतिक सम्पदा, वन्यजन्तु तथा पशुपंछीको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, कञ्चनजङ्घा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पोकली जस्ता ठूला र लामा झरनाले आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याइरहेका छन् ।

सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृङ्खलालगायत प्राकृतिक सम्पदाले सुशोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि उत्तिकै सम्वृद्ध छ ।

असङ्ख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सूदुरपूर्वको यो कोशीमा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बूढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकुण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई, किरातको आस्थासँग जोडिएको खुवालुङ, माङसेबुङलगायतका प्रख्यात धार्मिक स्थल छन् ।

यी स्थलमा स्वदेशी तथा विदेशी तिर्थालुहरूको प्रगाढ आस्था छ । वर्षेनी हजारौँ भक्तजन तथा तीर्थयात्रीहरूको आगमनले धार्मिक पर्यटनमा पुगेको टेवालाई अझै व्यवसायिक विस्तार गर्न सक्ने सम्भावना देखिन्छ ।

यो प्रदेशमा प्रकृतिलाई नजिकबाट नियाल्ने विभिन्न ट्रेल तपाईंको रोजाइ बन्न सक्छ । जहाँ एकै ठाउँबाट दक्षिण फर्कँदा तराईका सुन्दर फाँट र उत्तर हेर्दा मनोरम हिमालका दृश्यले लोभ्याउँछ ।

त्यसैले कोशी ‘कञ्चनजंघाको पवित्र छायादेखि मकालु र सगरमाथाको गौरवसम्म हिमाल मात्र होइन, आत्मबलको प्रतीक हो ।

‘मुन्धुम दर्शनले निर्देशित किराती सभ्यता ‘खुवालुङ’ र माङसेबुङको महिमा । राई, लिम्बू, याक्खा र सुनुवार समुदायको मौलिक जीवनशैलीको अमूल्य पहिचान हो।’

‘देवी पाथिभराको शक्ति, हलेसी महादेवको आध्यात्मिक ऊर्जा, बराहक्षेत्रको ऐतिहासिक महत्त्व- र माइपोखरी, जहाँ धर्म र प्रकृति एकअर्कामा विलीन हुन्छन्। अनि प्राप्त हुन्छ अलौकिक शान्तिको सन्देश’।

‘भेडेटारको शीतल हावा, पहाडबाट खस्ने झरनाको सङ्गीत, र आँखाले नअघाउने हरियाली: चियाको सुन्दरतासँगै जोडिएको स्वाद कोशी प्रदेश प्रकृतिको खुला संग्रहालय हो।’

‘नदीमा साहस, आकाशमा उडान, र जंगलमा आत्म: अन्वेषण: दृश्यमा मात्र होइन अनुभूतिमा पनि कोशी प्रदेश साहसिक पर्यटकको स्वप्नभूमि हो।’

‘यहाँ अतिथि भगवान् हुन्। कोशी प्रदेशमा आतिथ्यता सेवा होइन संस्कार हो।’ त्यसैले एक पटक आउनुहोस् कोशी । तपाईंले कोशीमा पाउनुहुनेछ । नबिर्सिने आत्मियता जहाँ प्रकृति बोल्छ, संस्कृति बाँच्छ, आस्था बग्छ, र अतिथि आफ्नै घरझैँ महसुस गर्छ।’