कोशी पर्यटन वर्षको सचिवालय र पर्यटन बोर्डबीच सहकार्य सम्झौतामा हस्ताक्षर

कोशीको पर्यटकीय प्रवर्धनका काम तीव्रतर हुने अपेक्षा


काठमाडौं । नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य बढाउने समझदारी पत्रमा सम्झौता भएको छ । नेपाल पर्यटन बोर्डको कार्यालयमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको उपस्थितिमा बोर्डका कार्यकारी निर्देशक दीपक जोशी र मन्त्रालयका सचिवल इन्द्र सापकोटाले हस्ताक्षर गरे ।

कार्यक्रममा मन्त्री मण्डलले पर्यटनको विकासलाई भौतिक भन्दा पहिले भावनात्मक विकास गर्नुपर्ने आवश्यकता आत्माबोध भएको बताए । उनले भने, ‘पर्यटनको विकास भावनासँग जोड्नुपर्ने देखेँ । म एक वर्षदेखि मन्त्रालयको नेतृत्वमा छु । तर अपेक्षाकृत काम गर्न सकेको छैन । तर अहिले मेरो भावना पर्यटनसँग छ । यो अवधिमा धेरै कुरा सिक्ने मौका पनि पाएँ । अब पूर्वको पर्यटन प्रवर्दधनमा धेरै काम हुन्छ । लामो समयदेखि काम गरिरहेको पर्यटन बोर्डसँगको यो सहकार्यले हाम्रो क्षमता विकासमा पनि सहयोग गर्नेछ ।’

मन्त्री मण्डलले पूर्व प्राकृतिक रुपले, धार्मिक रुपले र सांस्कृतिक रुपले सम्पन्न भए पनि त्यसको प्रयोगमा काम नभएको बताए । उनले भने, ‘हामी प्राकृतिक, धार्मिक, सांस्कृतिक रुपले धनी छौँ । अब यसलाई पर्यटनसँग जोड्न आवश्यक छ । चितवन, पोखरालगायतका क्षेत्र यसअघि नै परिचित भएका छन् । अब काम गर्ने पालो कोशीमा हो । यसका लागि सरकार निजी क्षेत्र सबैले मिलेर गर्नुपर्छ ।’

भारतीय पर्यटक भित्र्याउन सजिलो भएको सुनाउँदै मन्त्री मण्डलले सुनाए, ‘भारतीय भूमिबाट नेपालको भेडेटारजस्तो ठाउँ आउन ६० किलोमिटर हिँडे पुग्छ । तर भारतमै त्यस्तो ठाउँ खोज्न ५००देखि ७०० किलोमिटर हिँड्नुपर्छ । ती भारतीयलाई हामीले नेपालमा ल्याउन सक्यौँ भने धेरै काम हुन्छ । पर्यटकीय गतिविधि अघि बढ्छ । कोशी प्रदेश सरकारले यसरी नै काम गरिरहेको छ।’

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरणका सचिव सापकोटाले आफू मन्त्रालयमा नयाँ भए पनि मन्त्रालयले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले भने, ‘कोशी प्रदेश सरकारले वन तथा वातावरणको तुलनामा पर्यटन क्षेत्रलाई बढी लगानी गरेको छ । लगानी अनुसारको अपेक्षाकृत उपलब्धी देखिएको छैन । यसका लागि थप काम गर्नुपर्ने देखिन्छ । हामीसँग मजबुद टीम छ । त्यो टीमसँग मलाई धेरै गर्न सकिन्छ भन्ने विश्वास छ । पर्यटन बोर्डसँगको यो सहकार्यले थप कुरा सिक्दै सफलता हासिल गर्न भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’

पर्यटन क्षेत्रमा आफू धेरै जानकार नभए पनि एक पर्यटक भएका कारणले पर्यटकलाई चाहिने कुरा कोशीमा रहेकाले आवश्यक प्रवर्द्धनका कामबाट धेरै सफलता हासिल गर्न सकिने सचिव सापकोटाले बताए ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक जोशीले बोर्डले निजी क्षेत्रसँग काम गर्ने तथा प्रवर्द्धनका क्षेत्रमा काम गर्ने भएकाले कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालसँग थप सहकार्य अघि बढाउने बताए ।

सम्झौताको विषयसँगै सहकार्यका अनेक पाटामा सँगसँगै हिँड्ने जोशीको भनाइ छ । बजारीकरण तथा स्रोत व्यवस्थापनसँगै प्रचारका काममा बोर्डले सतप्रतिशत काम गर्ने जोशीले बताएका छन् ।

अहिले बोर्डसँगै चार ट्रेलमा काम गर्नेगरीको स्वीस प्रोजेक्ट र अमेरिकी परियोजना पनि रहेकाले ती परियोजनालाई कोशीमा सञ्चालन गर्नगरी काम गर्ने बताए ।

कार्यक्रममा कोशी भ्रमण वर्ष निर्देशक समितिका उपसंयोजक कृष्ण शाहले नेपालको पर्यटनको विकासमा काम गर्ने स्थापित संस्थासँगको सहकार्यले ठूलो सहयोग पुग्ने बताउँदै अब संघीय र प्रदेश सरकारबीचको सहकार्य थप बढ्ने बताए । अर्का उपसंयोजक भवेश श्रेष्ठले राजनीतिक तथा सामाजिक केही असहजपनाले भ्रमण वर्षको अवधिमा अपेक्षाकृत काम गर्न नसकेको बताउँदै अब पर्यटनका क्षेत्रमा काम गर्ने संघसंस्थासँग सहकार्य गर्न थालेको बताए ।

उनले भारतमा हुने सबै प्रवर्द्धनात्मक काम तथा मार्टमा कोशीको स्टल राख्ने वातावरण बनाउन पनि माग गरेका छन् ।
कार्यक्रममा पर्यटन बोर्डका विभिन्न विभाग प्रमुख तथा कोशी पर्यटन वर्षको सचिवालयका पदाधिकारीको उपस्थिति थियो ।