जेन जी आन्दोलन र भ्रष्टाचारविरुद्ध नागरिक आवाज: प्रधानमन्त्री कार्की समक्ष औपचारिक पत्र


काठमाडौं । नागरिक समाजले वर्तमान अवस्थामा नागरिक आवाज र सरकारको जिम्मेवारी झल्कने ध्यानाकर्षणपत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा देशभरका नागरिक समाज, संघ संस्था र मानवअधिकार अभियन्ताहरूको तर्फबाट गैरसरकारी संस्था महासङ्घले प्रधानमन्त्री सुशिला कार्कीलाई समसामयिक विषयको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

चिट्ठीमा लोकतन्त्र, संविधान र मानवअधिकार संरक्षण, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, जेनजी पुस्ताको सुशासन, भ्रष्टाचार नियन्त्रण र स्वच्छ, निष्पक्ष , भयरहित निर्वाचनको आवश्यकता लगायतका विषयमा औपचारिक माग राखिएको महासंघका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा गैसस महासंघका अध्यक्ष भट्टराईले पत्र वाचन गर्दै प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए। चिट्ठीमा गत भाद्र २३/२४ मा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

नागरिक समाजले सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्यबिना देशको समग्र विकास असम्भव रहेको उल्लेख गर्दै सामाजिक रूपान्तरण, मानवअधिकार प्रवर्द्धन, लैङ्गिक समानता, विपद् व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा गैरसरकारी क्षेत्रको योगदान सुनिश्चित गर्नुपर्ने मागसमेत राखिएको भट्टराईले बताए ।

चिट्ठीमा हाल देखिएका संघ संस्थाको अवमूल्यन, अभियन्तालाई आपराधिकरण गर्ने प्रयास र नागरिक समाजलाई निरुत्साहित गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै, भयरहित वातावरणमा काम गर्न सक्षम कानुनी र संस्थागत आधार निर्माण गर्न सरकारको सक्रियता आवश्यक रहेको जोडिएको छ।

पत्रमा राजनीतिक दल, निजी क्षेत्र, सहकारी तथा वित्तीय क्षेत्रसँग व्यापक परामर्श गरी समयमै विश्वसनीय निर्वाचन गराउनुपर्ने र जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार, सुशासन, जवाफदेहिता र अन्य मुख्य मुद्दामा सरकारले गम्भीर हुनुपर्ने माग पनि राखिएको महासंघले जनाएको छ ।