जेनजी आन्दोलन : पोखराको पर्यटन क्षेत्रमा झन्डै तीन अर्बको क्षति


काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा पोखराको पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो भौतिक क्षति पुगेको छ। होटल, रेस्टुरेन्ट र व्यावसायिक भवनमा भएको आगजनी तथा तोडफोडका कारण झन्डै तीन अर्ब रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक भएको छ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार आन्दोलनकारीहरूले लेकसाइडस्थित वरपीपल रिसोर्ट, मन्त्र थकाली भान्छाघर, होटल आडम, सरोवर होटल, बगैंचा रिसोर्ट, गुडविल होटल र अंशुभरा समूहको भवनमा आक्रमण गरेका थिए। उनका अनुसार, “भवन ठाडै उभिएको भए पनि भित्रका सम्पूर्ण संरचना ध्वस्त छन्। कुनै पनि सामान प्रयोगयोग्य छैन, कतिपय सामान त लुटपाटमै हराए।”

पर्यटक त्रसित, बुकिङ रद्द

आन्दोलनका कारण होटलमा रहेका गाडी र पाहुनाका निजी सवारीसाधनमा समेत आगजनी र तोडफोड भएको छ। यसै क्रममा धेरै पर्यटक त्रसित भएर बसाइ छोट्याएर फर्किएका छन् भने नयाँ बुकिङहरू धमाधम रद्द भइरहेका छन्। सुवेदीले भने, “भौतिक क्षतिभन्दा पनि पर्यटन आगमन घट्ने खतरा अझ ठूलो छ। विदेशी पाहुनाबाट बाहिरिएको नकारात्मक सन्देशले दीर्घकालीन असर पार्नेछ।”

दशकौंमा नभोगिएको क्षति

व्यवसायीहरूले दशक लामो द्वन्द्व, हड्ताल र भूकम्पको बेला समेत पर्यटन क्षेत्रमा यति ठूलो भौतिक क्षति नभएको बताएका छन्। गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका व्यवसायी बिन्दुकुमार थापाको अंशुभरा समूह अन्तर्गतका संरचना पनि आक्रमणको निशानामा परे। मन्त्र थकाली भान्छाघर सोही भवनभित्र सञ्चालन हुँदै आएको थियो।

ऋण र रोजगारी संकट

पर्यटन सिजन सुरु हुनै लाग्दा आएको यो संकटले व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाका ऋण र किस्ता तिर्न नसक्ने अवस्थामा पु¥याउने देखिएको छ। सुवेदीले भने, “बारम्बारको कठिनाइपछि पर्यटन क्षेत्र बिस्तारै उकालो लाग्दै थियो। तर, यस्तो अवस्था आयो कि ऋण तिर्नै नसक्ने र कामदारको रोजगारीसमेत प्रभावित हुने अवस्था देखिएको छ।”

निजी क्षेत्रको चेतावनी

यसैबीच, पोखरा उद्योग वाणिज्य संघ तथा आवद्ध संघ–संस्थाहरूले विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण भए पनि सार्वजनिक र निजी सम्पत्तिमाथिको आक्रमण अस्वीकार्य भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “यसले व्यक्तिको सम्पत्ति अधिकार मात्र होइन, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीलाई निराश तुल्याएको छ।”

संघले आन्दोलनमा आपराधिक घुसपैठ भएको भन्दै दोषीलाई कडा कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। साथै, लगानीको वातावरण सुरक्षित नगरी आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनाको लक्ष्य पूरा नहुने चेतावनीसमेत दिएको छ।