एलडीसी ग्र्याजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत


काठमाडौं । अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले बुधबार राष्ट्रिय सभामा प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।

समितिले यसअघि ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ तयार पारेको थियो । जसलाई सभामा प्रस्तुत गरिएको हो ।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति पन्तले नेपालको अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछि मुलुकलाई विभिन्न क्षेत्रमा फाइदा पुग्ने बताइन् ।

एलडीसी ग्र्याजुएसनको सकारात्मक पक्षको चर्चा गर्दै अगाडि प्रतिवेदनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय छविमा सुधार आउने, राष्ट्रको साख र विश्वसनीयतामा वृद्धि हुने तथा उदीयमान अर्थतन्त्रको रूपमा बढ्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने विश्वास गरिएको छ ।’

एलडीसी ग्र्याजुएसन भएपछि विदेशी लगानीकर्ताहरूको विश्वास बढाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक प्रभाव बलियो बनाउने विश्वास संसदीय समितिको छ ।

अगाडि भनिएको छ, ‘आर्थिक क्षेत्रमा पनि यसले महत्त्वपूर्ण फाइदा पुन्याउने छ । अन्तर्राष्ट्रिय पूँजी बजारमा सहज पहुँच, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि र विविध वित्तीय विकल्पहरूको उपलब्धता बढ्ने छ ।’

व्यापार वार्तामा नेपालको स्थिति बलियो हुनुका साथै स्वदेशी उद्योगहरूलाई बढी प्रतिस्पर्धी बन्न प्रोत्साहन मिल्ने पनि संसदीय समितिको विश्वास छ ।

समितिको अध्ययन प्रतिवेदनअनुसार अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपाललाई समृद्धिको दिशातर्फ अगाडि बढ्न विभिन्न अवसरहरू पनि प्राप्त हुनेछन् ।