बन्द हड्तालमा पर्यटकलाई सेवा दिँदा दु:ख पाएको पर्यटन बस व्यवसायीको गुनासो


काठमाडौं । क्षमता भन्दा बढी तौलका भारतीय मालबाहक सवारी साधनका निर्वाध सञ्चालन हुँदा पनि राज्य बेखबर बनेको नेपाली यातायात ब्यवसायीले गुनासो गरेका छन् ।

आम सञ्चार र यातायातको सवाल विषयमा राष्ट्रिय यातायात पत्रकार मञ्चले पाटनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यातायात ब्यवसायी तथा मजदुर नेताहरुले आमसञ्चार माध्यामले पनि यस यातायातका समस्याबारे समेट्न नसकेको गुनासो गरेका हुन् ।

निर्धारित क्षमता भन्दा बढी तौलका भारतीय सवारी साधन सञ्चालन भएकै कारण राजमार्गका ठूला ठूला पुलहरु भत्किएको समेत उनीहरुको भनाई छ ।

जुनसुनै महामारी र संकटको बेलमा समेत जोखिम मोलेर काम गर्ने यातायात क्षेत्रलाई सरकारले मात्र नभई सञ्चार माध्यामले समेत बुझ्न नसकेको उनीहरुले गुनासो गरे । यातायात सम्बन्ध विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले राज्यबाट आफूहरु उपेक्षित भएको साझा गुनासो राखेका हुन् ।

ट्रक ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बढी तौलका भारतीय सवारीकै कारण विभिन्न ठाउँमा पुल भाँच्चिएको बताए । बढी तौलका भारतीय गाडीलाई रोक्न आफूहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनको भनाई छ । ‘तौल कार्यविधि २०७४’ मा पनि यस्ता गाडी सञ्चालन गर्न नदिने र तौल बढी भएमा भन्सारमै पल्ट्री गर्ने ब्यवस्था हुने कार्यविधिमै रहेको पोखरेलले स्मरण गराए ।

ढुवानी ब्यवसायी संघ नेपालका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले सडक पूर्वाधार विपरितका भारतीय गाडीको भारबहनबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको बताए । उत्पादनदेखि उपभोक्तासम्म पुर्याउन भूमिका खेल्ने ढुवानी क्षेत्रलाई ब्यवस्थागित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

ब्यवसायीहरुले अत्यावश्यक सामानहरु ढुवानी गर्ने ट्रकको शहरी क्षेत्रमा पार्किङको ब्यवस्था नगरिँदा समस्या भएको बताएका छन् । ट्रक पार्किङको ब्यवस्था नभएका कारण सडकमै राख्नुपर्दा दुर्घटनाहरु हुने गरेको पनि उनीहरुको भनाई छ । ट्रक पार्किङको जटिल समस्या हल गर्न ट्रक ब्यवसायी महासंघ बरिष्ठ उपाध्यक्ष पोखरेलले माग गरे । ढुवानी ब्यवसायी संघका उपाध्यक्ष श्रेष्ठले पनि ट्रक ब्यवसाय राज्यबाट उपेक्षित रहेको बताए ।

नेपालका सार्वजनिक सवारी साधनहरु ट्रक बस तथा विभिन्न क्षेत्रहरु मारमा परेको गुनासो गरिरहँदा पर्यटन बस ब्यवसायीले पनि आफूहरु पनि उस्तै मारमा रहेको बताए । विभिन्न राजनीति गतिविधि हुँदा यातायात क्षेत्र नै मुख्य रुपमा प्रभावित हुने गरेको टुरिष्ट बस एशोसियसन नेपालका अध्यक्ष कृष्ण आचार्यले गुनासो गरे ।

आफूहरुले मुलुकको संकट ब्यहोरेको उल्लेख गर्दै उनले पर्यटक बसलाई आन्दोलनका बेला निर्वाध सञ्चालन गर्न दिने भनिए पनि विभिन्न अवरोध आउने गरेको बताए । बन्द हड्तालका बेला यात्रुलाई सेवा दिन खोज्दा प्रहरीको स्कर्टिङमा यात्रुको उद्धार गरिएको भन्ने समाचार सम्प्रेषण गर्ने गरिएको पनि आचार्यले गुनासो गरे ।

यातायात ब्यवसायीहरुले युरो ६ प्रदुषण मापदण्ड लागू गरिएकोमा पनि आपत्ति जनाएका छन् । यूरो ४ को मापदण्ड अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा युरो ६ को मापदण्ड कार्यान्वयन हुनेमा उनीहरुले आशंका गरेका छन् । विना पूर्वाधार यूरो ६ मापदण्ड लागू गरिएको टुरिष्ट बस एशोसियसन नेपालका अध्यक्ष कृष्ण आचार्यले बताए ।

नेपालमा यूरो ६ मापदण्ड लागू भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरिसकेको छ । यस मापदण्डअनुसार चार पाङ्ग्रे सवारी साधनको हकमा यूरो–६ मापदण्ड बमोजिमको परीक्षण विधि मान्य हुनेछ ।

ब्यवसायीहरुले मात्र होइन, यातायात मजदुरहरुले पनि यातायात क्षेत्रलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् । एकीकृत यातायात मजदुर संगठनका अध्यक्ष रवि केसीले राज्यले यातायात क्षेत्रलाई सरकारले ध्यान नदिएको बताए ।

उनले ट्राफिक प्रहरीको ज्यादतिको पनि विरोध गरेका छन् । ट्राफिक उभिएको ठाउँमा कुनै पनि गाडी रोक्नै नपाइने अवस्था रहेको उनले बताए । ट्राफिक उभिएपछि कानून बन्ने अवस्था रहेको बताए ।