राज्य व्यवस्था समितिको बैठकमा सांसद गिरीले मागे सभापति र सचिवको राजीनामा


काठमाडौं । निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको छेडखानीको चौतर्फी आलोचना र छानबिनको माग उठिरहँदा राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेका छन् । समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै उनले खतिवडा र दुराको राजीनामा मागेका हुन् ।

‘समितिले महिनौ लगाई छलफल गरेर कुलिङ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषयमा सबैबीचमा स्पष्ट सहमति छ, तर सभापति ज्यू र सचिवले हस्ताक्षर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो’, गिरीले भने ।

उनले सभापतिबाट गैरजिम्मेवारपूर्ण जवाफ आएको भन्दै विरोध गरे । ‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । सचिवले पनि यो पदमा बसिरहन मिल्दैन । नेपालको संसदीय इतिहासमा कालो धब्बा हो । कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहन्छ । राजीनामा दिएर मार्गप्रश गर्न अनुरोध छ’, नेता गिरीले भने ।